• २ वैशाख २०८३, बुधबार

हुम्लामा ढिलो गरी औषधी आइपुग्यो

blog

जिल्ला अस्पतालमा आइपुगेको औषधी मिलाउँदै कर्मचारी । तस्बिर : राजन रावत

राजन रावत
हुम्ला, वैशाख २ गते ।
चालु आर्थिक वर्ष सम्पन्न हुन अब जम्मा तीन महिना मात्र बाँकी रहँदा वार्षिक रूपमा आउने औषधी हालै हुम्ला आइपुगेको छ । उक्त औषधी प्रदेश आपूर्ति निर्देशनालय, सुर्खेतले खरिद गरी चैत अन्तिम साता पैदल मार्गबाट ढुवानी गरेर हुम्ला पठाएको हो ।

प्रयोगका लागि छोटो अवधि मात्र बाँकी रहेको औषधी स्वास्थ्य सेवा कार्यालय हुम्लामा आइपुगेको छ । बिरामीलाई प्रयोग गर्न चारदेखि पाँच महिना अवधि मात्र बाँकी रहेको औषधी कर्णाली प्रदेश आपूर्ति निर्देशनालयले पैदल मार्गबाट ढुवानी गरेर पठाएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख उमाकान्त तिवारीले बताउनुभयो ।

चालु आर्थिक वर्षका लागि प्रयोग गर्नुपर्ने उक्त औषधी आर्थिक वर्ष सकिन तीन महिना मात्र बाँकी रहँदा आइपुगेको उहाँले बताउनुभयो । एक सयभन्दा बढी कार्टुनमा रहेको उक्त औषधी सरकारले बिरामीलाई निःशुल्क वितरण गर्ने औषधी हो ।

हुम्लाजस्तो दुर्गम जिल्लामा छोटो अवधि बाँकी रहेको औषधी पठाउनु उपयुक्त नभएको उहाँको भनाइ छ । औषधी समयमै पठाउन पटक–पटक प्रदेश आपूर्ति निर्देशनालयलाई पत्राचार गर्दा खरिद नै नभएको जवाफ आउने गरेको र त्यसकै परिणामस्वरूप छोटो अवधिको औषधी प्राप्त भएको उहाँले बताउनुभयो ।

अवधि छोटो भएकाले धेरै औषधी नष्ट गर्नुपर्ने बाध्यता आउन सक्ने आशंका पनि उहाँले व्यक्त गर्नुभयो । २५ प्रकारका सरकारले निःशुल्क रूपमा उपलब्ध गराउने औषधी करिब एक लाख रुपियाँ बराबरको रहेको छ ।

हाल आइपुगेको औषधी स्वास्थ्य सेवा कार्यालयले गाउँपालिकाहरूमा समेत पठाउनुपर्नेछ । गत साउन महिनायता औषधीको अभाव भएपछि प्रदेशबाट मागेर तथा गाउँपालिकाबाट सापटी लिएर सेवा सञ्चालन गर्नुपरेको अस्पतालले जनाएको छ ।

प्रदेश आपूर्ति निर्देशनालयले समयमै खरिद गरेर औषधी पठाउने व्यवस्था मिलाउन सम्बन्धित पक्षलाई उहाँले सुझाव दिनुभयो ।