• २ वैशाख २०८३, बुधबार

जुडिबेलाका महिला किसान सुर्ती खेतीतर्फ आकर्षित

blog

चन्द्रपुर–२ जुडिबेलाकी एक महिला किसान सुर्ती खेतीमा । तस्बिर : यादवराज पुरी

यादवराज पुरी
रौतहट, वैशाख २ गते ।
रौतहटको चन्द्रपुर नगरपालिका–२, जुडिबेला क्षेत्रका महिला किसान सुर्ती खेतीतर्फ आकर्षित भएका छन् । घरका पुरुष सदस्यको सानो सहयोग, स्थिर बजार र राम्रो आम्दानी हुने भएकाले यहाँका मध्यमवर्गीय महिला किसान सुर्ती खेतीतर्फ आकर्षित भएका हुन् ।

केही वर्षअघिसम्म घरका पुरुष सदस्यहरू मुख्य रूपमा खेतीपातीमा सक्रिय रहे पनि पछिल्लो समय अतिरिक्त आम्दानीका लागि बाहिरिन थालेपछि अधिकांश महिलाले खेतीको जिम्मेवारी सम्हाल्न थालेको स्थानीय कृषक जयन्तीदेवी चौधरीले बताउनुभयो । उहाँका अनुसार जोखिम कम, व्यवस्थापन सहज र आम्दानीको भरपर्दो माध्यम भएकाले सुर्ती खेतीमा महिलाको सहभागिता बढेको हो ।

अर्की किसान प्रमिला चौधरीले परिवारका सदस्य मिलेर खेती गर्न सकिने र धेरै मेहनत पनि नपर्ने भएकाले सुर्ती खेती परिवारमैत्री बनेको बताउनुभयो । उहाँका अनुसार धान काटिसकेपछि खाली जमिनमा (कात्तिक महिनामा) रोपिएको सुर्ती फागुनदेखि बिक्री हुने र करिब छ महिनामै प्रतिकठ्ठा २० देखि २५ हजार रुपियाँसम्म आम्दानी हुने गरेको छ । दश कठ्ठा जमिनमा सुर्ती खेती गर्दै आउनुभएकी उहाँले वार्षिक करिब दुई लाख रुपियाँ आम्दानी हुने बताउनुभयो ।

वडा अध्यक्ष बुद्ध लामाका अनुसार एक दशक अघिसम्म उक्त क्षेत्रमा व्यापक रूपमा मकै खेती गरिन्थ्यो । सिँचाइ सुविधाको विस्तारसँगै किसानहरू मकै खेतीतर्फ आकर्षित भएका थिए । तर पछिल्ला वर्षहरूमा असिनापानी, हावाहुरीजस्ता प्राकृतिक विपत्तिका कारण मकै बालीमा लगातार क्षति हुन थालेपछि किसान सुर्ती खेतीतर्फ फर्किएका हुन् ।

मकै खेतीमा बढी मेहनत र जोखिम हुने भएकाले सुर्ती खेती रोज्नुपरेको स्थानीय किसानहरूको धारणा छ । जोगी टोलकी किसान विमला कुवँरले भन्नुभयो, “वर्षेनी प्राकृतिक विपत्तिले मकै बालीमा धेरै क्षति हुन्थ्यो। सुर्तीमा भने जोखिम कम छ। बाराको सिमरास्थित सूर्य टोबाको कम्पनीले बीउ उपलब्ध गराउने र खेतबाटै खरिद गर्ने भएकाले बजारको चिन्ता छैन, त्यसैले सुर्ती खेतीतर्फ आकर्षण बढेको हो।”

किसान चित्रबहादुर मगरका अनुसार श्रमिक अभावका बीच पारिवारिक श्रममै खेती सञ्चालन गर्न सकिनु यसको मुख्य विशेषता हो । सुर्ती खेतीमा कम सिँचाइमै राम्रो उत्पादन लिन सकिन्छ भने भण्डारण र प्याकिङ पनि घरमै गर्न सकिने उहाँको भनाइ छ ।

पालिकाका कृषि प्राविधिक प्रमुख सन्दिप देवकोटाका अनुसार हाल जुडिबेला क्षेत्रमा मात्रै करिब एक सय बिघाभन्दा बढी जमिनमा सुर्ती खेती विस्तार भइसकेको छ । जलवायु परिवर्तनका कारण परम्परागत बालीमा जोखिम बढ्दै जाँदा किसानहरू बजार सुनिश्चित भएका नगदे बालीतर्फ आकर्षित हुनु स्वाभाविक भएको उहाँले बताउनुभयो । स्थिर बजार, तुलनात्मक रूपमा कम जोखिम र राम्रो आम्दानीका कारण यहाँका महिला किसानको मुख्य रोजाइ सुर्ती खेती बनेको छ ।