साहारा लिम्बू
फुङलिङ, वैशाख २ गते । सशस्त्र प्रहरी बल नेपाल नं. १ गुल्म हेडक्वार्टर कञ्चनजङ्घा ताप्लेजुङले निर्माण गरेको एपीएफ चौतारी उद्धघाटन गरिएको छ । फुङलिङ नगरपालिका ६ स्थित सुकेटार विमानस्थल छेउमा नवनिर्मित चौतारीको बुधबार उद्घाटन गरिएको हो ।
नवनिर्मित चौतारी तथा प्रतीक्षालय स्थलको फुङलिङ नगरपालिकाका प्रमुख अमिर मादेन, प्रमुख जिल्ला अधिकारी शिवराज सेँढाईले संयुक्त रुपमा उद्घाटन गर्नुभएको छ । फुङलिङ नगरपालिकाको आर्थिक सहयोगमा सशस्त्र प्रहरी बलले शौचालयसहितको प्रतीक्षालय निर्माण गरेको सशस्त्र प्रहरी बल ताप्लेजुङका गुल्मपति, सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रमोद प्रकाश पाठकले जानकारी दिनुभयो । उहाँका अनुसार विमानस्थलमा आउने यात्रु तथा पाथीभरा मन्दिर जाने भक्तजनको सहजताका लागि प्रतीक्षालय स्थल निर्माण गरिएको हो ।
चौतारीको उद्धघाटनपछि संरक्षण तथा रेखदेखका लागि फुङलिङ नगरपालिका ६ नं. वडा कार्यालयलाई तथा स्थानीय जिम्मेवारी हस्तान्तरण गरिएको डीएसपी पाठकले बताउनुभयो । अधिकांश संरचनाहरू निर्माण भएपछि जीर्ण अवस्था पुगेकोप्रति चिन्ता व्यक्ति गर्दै यस चौतारीको संरक्षणका लागि स्थानीयको प्रमुख भुमिका रहने भएकाले संरक्षणमा अग्रसर भईदिन हुन आग्रह समेत गर्नुभयो ।
उद्घाटन कार्यक्रममा फुङलिङ नगरपालिकाका प्रमुख मादेन, प्रमुख जिल्ला अधिकारी सेँढाई, दुर्गादल गुल्मका गुल्मपति उमेश खड्का, जिल्ला प्रहरीका कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक (डिएसपी) वेदप्रसाद गौतम, राष्ट्रिय अनुसन्धान आयोगका डिएसपी श्रीभजन राय, फुङलिङ नगरपालिका ६ नंं. वडाका वडाध्यक्ष मदन गुरुङ (तेज), सुकेटार विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर (एटीसी) दिलिप राजवंशी लगायतको उपस्थिति रहेको थियो ।