• २ वैशाख २०८३, बुधबार

लोपोन्मुख बच्चासहितको सालक फेला

blog

रानी सामुदायिक वन उपभोक्ता समूहद्वारा ब्लक नं. ६ मा निर्माण गरिएको सालक ‘केज’मा सालक छाडिर्दै । तस्बिर : अनिल पराजुली

अनिल पराजुली
हेटौँडा, वैशाख २ गते ।
मकवानपुरमा दुर्लभ तथा लोपोन्मुख तामे सालक (इन्डियन प्याङ्गोलिन) बच्चासहित फेला परेको छ । किसानको साथीका रूपमा परिचित उक्त सालक मकवानपुरगढी गाउँपालिका–३ मा भेटिएको हो ।

स्थानीय मनिष देवकोटाले बुधबार बिहान घर नजिकै करिब १२ किलो तौलको माउ सालक र ३ किलोको बच्चासहित फेला पारेर इलाका प्रहरी कार्यालय मकवानपुरगढीमा बुझाउनुभएको थियो । प्रहरीमार्फत उक्त सालकलाई रानी सामुदायिक वन उपभोक्ता समूहद्वारा ब्लक नं. ६ मा निर्माण गरिएको सालक ‘केज’मा सुरक्षित रूपमा छाडिएको छ ।

सालक छाड्ने क्रममा हेटौँडा–६ का वडा अध्यक्ष विष्णुबहादुर दाहाल, वडा सदस्य विजय पौडेल, सव–डिभिजन वन कार्यालय हेटौँडाका वन अधिकृत बच्चुराम सुवेदी, सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरका अध्यक्ष साधुराम चौलागाईं, रानी सामुदायिक वनका अध्यक्ष केशव धिताल लगायतको उपस्थिति रहेको थियो ।

वन क्षेत्रमा रुखका ठुटामा लाग्ने धमिरा आहाराका रूपमा खाने सालक संरक्षणमा समुदायस्तरबाट सक्रियता बढ्दै गएको छ । रानी सामुदायिक वनले २०६२ सालदेखि सालक संरक्षण कार्यक्रम सञ्चालन गर्दै आएको छ । समूहले जनचेतनामूलक कार्यक्रम, तालिम गोष्ठी, विद्यालयस्तरीय अभियान, सालकका मूर्ति स्थापना तथा होडिङ बोर्ड निर्माण जस्ता गतिविधि गर्दै आएको छ । हाल उक्त वन क्षेत्रमा करिब पाँच दर्जन सालक संरक्षणमा रहेको समूहले जनाएको छ ।

संसारभर पाइने आठ प्रजातिका सालकमध्ये मकवानपुर क्षेत्रमा कालो सालक (चाइनिज प्याङ्गोलिन) र तामे सालक (इन्डियन प्याङ्गोलिन) पाइन्छन् । मकवानपुरका करिब चार सय सामुदायिक वनमध्ये एक सय क्षेत्रमा सालक देखिने गरिएको छ । चुच्चेखोला र रानी सामुदायिक वनले सालक संरक्षणका लागि चोरीसिकारी तथा तस्करी रोक्ने अभियान सञ्चालन गर्दै आएका छन् ।

शान्त र लजालु स्वभावको स्तनधारी जनावर सालकले माटो खुकुलो बनाउने र बालीलाई हानि नगर्ने भएकाले किसानमैत्री वन्यजन्तुका रूपमा चिनिन्छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार सालक संरक्षित वन्यजन्तु हो । उक्त ऐनअनुसार सालकको सिकार, खरिद–बिक्री वा ओसारपसार गर्नेलाई पाँच लाखदेखि १० लाख रुपियाँसम्म जरिबाना वा पाँचदेखि १५ वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ । सालक मारेमा वा खाएमा १० वर्षसम्म कैद वा १० लाख रुपियाँसम्म जरिबाना वा दुवै सजाय हुने प्रावधान रहेको छ ।