• २ वैशाख २०८३, बुधबार

६ सय १६ सामुदायिक कुकुरको बन्ध्याकरण

blog

छाडा तथा सामूदायिक कुकुरको बन्ध्याकरण गरिँदै । तस्बिरः टोपलाल अर्याल

टोपलाल अर्याल

रेसुङ्गा (गुल्मी), वैशाख २ गते । गुल्मीमा रेविज रोगको जोखिम न्युनीकरण गर्न ६१६ छाडा तथा सामुदायिक कुकुरको स्थायी बन्ध्याकरण गरिएको छ । जिल्लाका ६ स्थानीय तहका कुकुरको बन्ध्याकरण गरेर रेबिजविरुद्धको खोप प्रदान गरिएको हो । 

कालीगण्डकी गाउँपालिकाका १०२, सत्यवतिका ६७, छत्रकोटका ६७, छत्रकोटका २००, रेसुङ्गाका १०६ र मुसिकोट नगरपालिकाका ७४ गरेर २५८ भाले र ३३१ पोथी कुकुरको बन्ध्याकरण गरिएको छ । त्यस्तै, ४०९ छाडा तथा सामुदायिक भाले एवं पोथी कुकुरको स्थायी बन्ध्याकरण गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख हुमकान्त पाण्डेले जानकारी दिनुभयो । 

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र स्थानीय तहहरूको सहयोग तथा हिमालयन एनिमल रेस्क्यिु ट्रस्टको प्राविधिक सहयोगमा कुकुरको बन्ध्याकरण शिविर सञ्चालन गरिएको थियो । 

सन् २०३० सम्म कुकुरको टोकाइबाट मृत्युहुनेको सङ्ख्या शुन्य बनाउन बन्ध्याकरण अभियान सञ्चालन गरिएको पाण्डेले बताउनुभयो । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमार्फत आर्थिक वर्ष २०८१–८२ मा ४०९ र २०८०–८१ मा १४७ कुकुरको स्थायी बन्ध्याकरण गरिएको थियो । 

गुल्मीमा कुकुरले टोकेर रेबिज लागेकी गुल्मी दरवार गाउँपालिका–६ की ४० वर्षीया रजुन शाहाको २०७९ साल पुसमा मृत्यु भएको थियो । गाउँ–गाउँमा छाडा तथा सामुदायिक कुकुरहरूको सङ्ख्या वृद्धि हुँदै गएपछि मान्छे तथा पशुचौपायलाई टोकेर आतङ्क नै फैलिने गरेको छ । 

गुल्मी अस्पताल तम्घासका मेडिकल रेकर्डर बाबुराम पोख्रेलका अनुसार गुल्मी अस्पतालमा मात्र बर्सेनि एक हजार बढिले रेबिजविरुद्धको खोप लगाउने गरेका छन् । यो खोज कुकुर तथा जङ्गली जनावरले टोकेमा लगाउने खोप हो । गुल्मी अस्पतालमा गत वर्ष एक हजार १६५ र चालु आर्थिक वर्षमा ८३५ जनाले रेबिजविरुद्धको खोप लगाएको पोख्रेलले बताउनुभयो । 

श्रृङा प्राथमिक स्वास्थ्य केन्द्रमा महिला ११८ र पुरुष १०८ गरेर २२६ जनाले रेबिजको खोप लगाएको छत्रकोट गाउँपालिकाका स्वास्थ्य संयोजक श्यामसुन्दर पोख्रेलले बताउनुभयो ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले सबैभन्दा पहिले नागरिक आफै सचेत बन्न अनुरोध गरेको छ । केन्द्रले आफ्ना कुकुरहरूको निगरानी गर्ने, खोप लगाउने, छाडा नबनाउने, भुस्याहा कुकुरबाट जोगिने तथा कुकुरले टोके रेबिजविरुद्ध तत्काल खोप लगाउन सार्वजनिक अपिल गर्दैआएको छ । 

केन्द्रको तर्फबाट पालिकामा कुकुरको बन्ध्याकरण, रेबिज परीक्षण तथा सचेतना अभियान सञ्चालन गरिएको छ । कुकुरहरुको सङ्ख्या र आक्रमण वृद्धि हुँदै जाने र रेबिज सङ्क्रमण पनि देखिन थालेपछि स्थानीय सरकारलाई ठुलो चुनौती थपिएको छ । रेसुङ्गा नगरपालिकासँगै गुल्मीदरवार, छत्रकोट, रुरुक्षेत्र र चन्द्रकोट गाउँपालिकामा कुकुरले बढी दुःख दिने गरेको छ । 

रुरुक्षेत्र गाउँपालिकाका प्रमुख यदु ज्ञवालीले आफुहरू तीन–चार बर्षदेखि कुकुर आतङ्कले पीडित भएको बताउनुभयो । मान्छेदेखि पशुचौपायासम्मलाई टोकेर हैरान गरेकाले बेला–बेलामा बन्ध्याकरण गर्ने गरेको बताउँदै समस्याको स्थायी समाधान भने नभएको ज्ञवालीले बताउनुभयो ।