सुजन गुरुङ
भक्तपुर, वैशाख २ गते । भक्तपुरको मध्यपुरथिमिमा आज बिहानैदेखि हर्षोल्लासका साथ प्रसिद्ध सिन्दूर जात्रा अर्थात् 'सुथसिया' (बिहानीको जात्रा) मनाइएको छ । बिस्केट जात्राको अवसरमा मनाइने यो जात्रामा थिमिका बासिन्दाहरूले टोलटोलका देवीदेवता विराजमान खटहरूलाई सिन्दूरले रङ्गाएर नगर परिक्रमा गराएका छन् ।
बिहानैदेखि सुरु भएको जात्रामा बालकुमारी मन्दिर प्राङ्गणमा २६ वटा देवीदेवताका खटहरूलाई ल्याएर बालकुमारीको परिक्रमा गराइएको थियो । धिमे र मुस्या बाजाको तालमा झुम्दै, नाच्दै र एक-अर्कामा अबिर छर्कँदै स्थानीयले थिमिलाई सिन्दूरमय बनाएका थिए ।
३२ खटको परम्परा, २६ को सहभागिता थिमिमा मात्र विशेष रूपमा मनाइने यो जात्रामा हात-हातमा चिराग (बत्ती) बालेर खट बोक्ने गरिन्छ । ऐतिहासिक रूपमा यो जात्रामा ३२ वटा खट सहभागी गराउने परम्परा रहे तापनि केही वर्षयता भने २६ वटा खट मात्र सहभागी हुने गरेका छन् ।
यसरी सुरु भयो जात्रा आज बिहानै बालकुमारी र कालिका (बालाखु) को खटलाई बालकुमारी मन्दिरबाट बाहिर निकालिएको थियो । सोमबारदेखि नै विष्णुवीर र दक्षिण बाराहीको खटसमेत मन्दिरमा राखिएको थियो । बिहान सिद्धिकालीको खट आफ्ना गणहरूसहित बालकुमारी मन्दिर प्रवेश गरेपछि औपचारिक रूपमा जात्राको सुरुवात भएको थियो ।
जात्रा सुरु भएपछि पमाहरूले हातमा चिराग लिएर नाइके प्रधानको अनुमतिमा बालकुमारीको खट उचालेका थिए । त्यसपछि जात्रालाई दिगुटोलस्थित देवताघर परिक्रमा गराइएको थियो । यसैगरी विष्णुवीर, सिद्धिकालीलगायत अन्य देवीदेवताका खटहरू पनि थिमि नगरका विभिन्न भागमा घुमाइएको छ ।
सिन्दूरको रातो रङ र बाजागाजाको आवाजले आज मध्यपुरथिमि क्षेत्र निकै आकर्षक र उत्सवमय देखिएको छ । स्थानीय युवादेखि वृद्धवृद्धासम्म सबै आ-आफ्नो मौलिक पोसाकमा सजिएर जात्रामा सहभागी भएका छन् ।










