रामकृष्ण बोहरा
बागलुङ, वैशाख २ गते । ‘गुराँसको पहाड’ले परिचित गलकोट र ताराखोलाको सिमानामा पर्ने घुम्टे लेकमा ‘लालीगुराँस उत्सव’ सम्पन्न भएको छ । घुम्टे लेकमा पूर्वाधार बनेपछि पर्यटन प्रवर्धन गर्न लालीगुराँस उत्सव आयोजना गरिएको हो ।
गलकोट घुम्टे पर्यटन विकास केन्द्रको आयोजना, गलकोट पण्डित समाज गलकोट एवम् लालिगुराँस उत्सव तथा विश्व शान्ति यज्ञ समिति गलकोटको सह–आयोजनामा लालिगुराँस उत्सव तथा चौँथो विश्व शान्ति कार्यक्रम गरिएको हो । सोमबारदेखि सुरु भएको उत्सव मङ्गलबारसम्म सम्पन्न भएको हो ।
वैज्ञानिक अध्ययन नभएपनि घुम्टे लेकमा दर्जन प्रजातिका गुराँस भएको अनुमान गरिन्छ । सडक विस्तार तथा फँडानीले गुराँसे वन मासिँदै गएपछि यसको संरक्षणमा उत्सव हुँदै आएको छ । समुद्री सतहदेखि १० हजार तीन सय ९३ फिटको उचाईमा रहेको घुम्टे लेक प्राकृतिक, धार्मिक र जैविक विविधताले महत्त्वपूर्ण मानिन्छ ।
गुराँस उत्सवमा पूर्वाङ्ग पूजा, रुद्री पाठ, साँझ भजन किर्तन, सन्ध्या आरती, सूर्यास्त अवलोकन गरियो भने दोस्रो दिन नित्यपूजा, संक्रान्ति द्धोष पूजा, नवग्रह शान्ति पूजा, २७ लाख लक्ष्यवर्ती दिप प्रज्वलन गरियो । उत्सवकै अवसरमा पदयात्राका क्रममा पर्यटकका लागि गोठथरीमा निर्मित पौवाको समेत उद्घाटन गरिएको घुम्टे पर्यटन विकास केन्द्रका अध्यक्ष झंकबहादुर बस्नेतले बताउनुभयो ।
पाँच पाण्डवहरु घुम्दै आउँदा ५ वर्षीय बालकले तपस्या गरेकाले सोही समयदेखी घुम्टेमा धार्मिक मेला लाग्ने गरेको र विभिन्न तपस्वीहरुले त्यहाँ तपस्या गरेको धार्मिक विश्वास रहेको गलकोट–७ का वडाध्यक्ष राजबहादुर थापाले बताउनुभयो ।
पछिल्लो समय प्रकृतिमा रमाउनेदेखि धर्ममा आस्था राख्ने पर्यटकको रोजाईमा घुम्टे लेक पर्न थालेको हो । गलकोट घुम्टे पर्यटन विकास केन्द्रका अनुसार, वर्षेनी हजारौँ पर्यटकले घुम्टे लेक चढ्ने गरेका छन् । घुम्टे चढ्न सहज पदमार्ग र पूर्वाधार बनेपछि पर्यटकको संख्या बढ्दै गएको हो । घुम्टेको धुरीमा अवस्थित सिद्ध र भैरवको मन्दिरले धार्मिक पर्यटनलाई थप बढवा दिएको अध्यक्ष बस्नेत बताउनुहुन्छ ।
पदयात्रामा रमाउने पर्यटकका लागि पनि घुम्टे आकर्षक गन्तव्य हो । घुम्टे लेक चढेपछि बागलुङ नगरपालिका वडा नं. ३ गुठीका निशान खड्काले सिद्ध र भैरवको दर्शनसँगै थरिथरिका लालीगुराँसको जंगलमा पैदलयात्रा र आँखै अघि देखिने हिमाली दृश्यले आनन्दको महसुस भएको बताउनुभयो । हरिचौरको टेउवा, मल्मको टोकरी, पाण्डवखानीको सिद्धथानसम्म गाडी पुगेपनि त्यसभन्दा माथि तीन घण्टाको पदयात्रापछि घुम्टे लेक पुग्न सकिन्छ ।
केन्द्रले घुम्टे चढ्न रिचौर, टेउवा हुँदै जाने पदमार्ग बनाएपछि पर्यटकलाई थप सहज भएको छ । पदमार्ग, मन्दिरको स्तरोन्नति लगायतका पूर्वाधारका काममा हालसम्म एक करोडभन्दा बढीको काम भएको केन्द्रले जनाएको छ । पर्यटन मन्त्रालय र स्थानीयको जनश्रमदानमा पदमार्गको काम भएको अध्यक्ष बस्नेतले बताउनुभयो ।
प्राकृतिक सुन्दरता, बहुमूल्य जडीबुटी, ऐतिहासिक मन्दिर, गुराँसको घनाजंगल घुम्टेका सौन्दर्य हुन् । बसन्त ऋतुमा फूल्ने लालीगुराँस हेर्नका लागि पनि पर्यटक घुम्टे चढ्ने गरेको अध्यक्ष बस्नेतको भनाई छ । सिद्धेश्वरको गुफा, राम्चे ओडार, गोठथरी, बुलाहा बाबाको आश्रम, भीमसेन लौरी, दमाहा ढुंगा, दहपानी, टोड्केपानी, पैराका सोतो शालीग्राम घुम्टेका पर्यटकीय आकर्षण हुन् ।