• ४ वैशाख २०८३, शुक्रबार

गण्डकी प्रदेशसभा सदस्य कुँवरद्वारा राजीनामा

blog

गण्डकी प्रदेशसभा सदस्य द्रोणकुमार कुँवर ।

फडिन्द्र अधिकारी

लेखनाथ, वैशाख २ गते । गण्डकी प्रदेशसभा सदस्य द्रोणकुमार कुँवरले पदबाट राजीनामा दिनुभएको छ । नेपाली कांग्रेसबाट बागलुङ क्षेत्र नम्बर २ (२) बाट प्रत्यक्ष निर्वाचित कुँवरले मङ्गलबार बिहान राजीनामा दिनुभएको हो ।

गण्डकी सरकारको मङ्गलबार भएको पुनर्गठनमा चित्त नबुझेपछि उहाँले पद त्याग गर्नुभएको हो । उहाँ मन्त्रीका आकाङ्क्षी हुनुहुन्थ्यो । सभामुख कृष्णप्रसाद धितालले कुँवरको राजीनामा आएको उल्लेख गर्नुभयो । 

“म कामको सिलसिलामा अहिले काठमाडौँमा छु । माननीयज्यूले राजीनामा पठाउनुभएको छ” सभामुख धितालले भन्नुभयो, “उहाँसँग थप कुरा होला । बाँकी काम प्रक्रियाका हुने त छँदैछ ।” राजीनामा पत्रमा कुँवरले आफूलाई निर्वाचित गराउन विश्वास र मत दिएकोमा मतदाता तथा समर्थकप्रति आभार व्यक्त गर्नुभएको छ । 

कुँवरले आम मतदाताको विश्वास र भरोसालाई पूर्ण कार्यकाल कायम गर्न नसकेकोमा उहाँले माफीसमेत माग्नुभएको छ । ६० सदस्यीय गण्डकी प्रदेशसभामा मनाङबाट निर्वाचित राजीव गुरुङको पद अदालतको आदेशले रिक्त भइसकेको छ । अहिले यहाँ नेकपा (एमाले) र नेपाली कांग्रेस मिलेर सरकार चलाएका छन् ।