चन्द्र पन्दाक
ताप्लेजुङ, वैशाख २ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाका मुख्य चौक तथा बजार क्षेत्रमा क्लोज सर्किट टेलिभिजन (सीसी टिभी) जडान गरिएको छ । अपराधजन्य घटनासहितका गतिविधि नियन्त्रण गर्ने उद्देश्यले गाउँपालिकाले पालिकाभित्रका मुख्य बजार क्षेत्र सीसी टिभी जडान गरेको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङदेम्बेका अनुसार चोरी, डकैतीसहितका अपराधजन्य घटना नियन्त्रण गर्न साथै नागरिकलाई सुरक्षाको प्रत्याभूत गराउन सीसी टिभी जडान गरिएको हो । त्यस्तै, अपराधिक गतिविधिको अनुसन्धानमा सहजत ल्याउन र ट्राफिक व्यवस्थापन तथा सडक नियमन गर्ने उद्देश्यलेसमेत सीसी टिभी जडान गरिएको आङ्देम्बेले बताउनुभयो ।
उहाँका अनुसार गाउँपालिकाको वडा १ सिनामको पञ्चमी, वडा २ आम्बेगुदिनको खाम्दिम्बे बजार, वडा ४ तेल्लोकको बाघथला र विशाल चौकमा सीसी टिभी जडान गरिएको छ । उक्त क्षेत्रहरुमा जडान भएका सीसी टिभीको नियन्त्रण र नियमन इलाका प्रहरी कार्यालय तेल्लोकले गर्ने गाउँपालिकाले जनाएको छ ।
यता सीसी टिभी जडान भएपछि सम्बन्धित क्षेत्रका बासिन्दा तथा नागरिकले सुरक्षित रहेको महशुस गर्न थालेका गाउँपालिका अध्यक्ष लालकृष्ण चौहानको भनाइ छ । अध्यक्ष चौहानका अनुसार मुख्य चौक तथा बजारहरुमा हुने अपराधजन्य गतिविधि नियन्त्रणका लागि जडान गरिएको सीसी टिभी प्रभावकारी हुनेमा गाउँपालिकाको विश्वास रहेको छ । सिरिजङ्घा गाउँपालिकाका मुख्य चौक तथा बजार क्षेत्रमा जडान गरिएको सीसी टिभी फुटेज ।