• २ वैशाख २०८३, बुधबार

मासिक १० लाखको दूध बिक्री

blog

गोठमा काम गर्दै पशुपालक किसान सुरेश ढुङ्गाना । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य
म्याग्दी, वैशाख २ गते ।
वैदेशिक रोजगारीको मोह त्यागेर १२ वर्षअघि गाउँमै पशुपालन व्यवसाय सुरु गर्नुभएका म्याग्दीका ४२ वर्षीय सुरेश ढुङ्गाना अहिले धेरै युवाका लागि प्रेरणाको स्रोत बन्नुभएको छ । पशुपालन व्यवसायप्रतिको उहाँको लगन, परिश्रम र निरन्तरताले सफल कृषकको परिचय दिलाएको छ ।

बेनी नगरपालिका–७, कुरिलाखर्कका सुरेशले अहिले गाई–भैंसी पालनबाट दैनिक सयौँ लिटर दूध उत्पादन गर्दै मासिक करिब १० लाख रुपियाँसम्म कारोबार गर्न सफल हुनुभएको छ ।

परिश्रम, लगनशीलता र व्यवसायिक सोचका कारण गाउँमै राम्रो आम्दानी सम्भव छ भन्ने उदाहरण उहाँले प्रस्तुत गर्नुभएको छ । सुरेश जिल्लाकै उत्कृष्ट पशुपालक कृषकका रूपमा परिचित हुनुहुन्छ । उहाँको फार्म म्याग्दीको सबैभन्दा ठूलोमध्ये एक हो । दुई वर्षअघि गण्डकी प्रदेश सरकारले उहाँलाई प्रदेशकै उत्कृष्ट कृषकका रूपमा सम्मानसमेत गरेको थियो । उक्त सम्मानपछि थप हौसला मिलेर गाई–भैंसीको संख्या बढाएको उहाँ बताउनुहुन्छ । उहाँले २० रोपनी जग्गा लिजमा लिएर घाँस खेतीसमेत गर्नुभएको छ ।

साढे १० रोपनी क्षेत्रफलमा फैलिएको ढुङ्गाना कृषि तथा पशुपंक्षी फार्ममा अहिले उन्नत जातका गाई–भैंसी गरी ५० वटा छन् । तीमध्ये ३० वटा गाई–भैंसी दुहुना छन् । सुरेशले दैनिक करिब ३०० लिटर दूध उत्पादन गर्दै आउनुभएको छ । उहाँले पाँच जनालाई रोजगारीसमेत दिनुभएको छ ।

उहाँ बिहान १ बजेदेखि उठेर गाई–भैंसी दुहुन सुरु गर्नुहुन्छ र संकलित दूध बिहान ४ बजेसम्म बजारमा पुर्‍याउनुहुन्छ । त्यसैगरी दिउँसो २ बजेदेखि पुनः दूध दुहेर ४ बजेसम्म बजारमा पुर्‍याउने उहाँको नियमित दिनचर्या हो । निरन्तर परिश्रम, समयको पालना र व्यवसायप्रतिको लगावका कारण सुरेश आज जिल्लाकै सफल पशुपालक कृषकका रूपमा चिनिनुभएको छ ।

उहाँ २०६० देखि २०७० सम्म वैदेशिक रोजगारीका क्रममा खाडीका विभिन्न मुलुकहरूमा रहनुभयो । विदेशमा सिकेको सीप र कमाएको पुँजीलाई स्वदेशमै लगानी गरी राम्रो आम्दानी लिन सकिन्छ भन्ने आत्मविश्वासका साथ उहाँ १२ वर्षअघि गाउँ फर्किनुभएको हो । त्यतिबेला एउटा गाई र भैंसीबाट सुरु गर्नुभएको पशुपालन व्यवसाय अहिले झन्डै साढे दुई करोड रुपैयाँको लगानीमा विस्तार भएको छ ।

“बिहान उठेदेखि राति नसुतुन्जेलसम्म गोठमै व्यस्त हुन्छु। समय गएको पत्तै हुँदैन। बिहान र बेलुकी मोटरसाइकलबाट बजारमा दूध पुर्‍याउँछु,” उहाँले भन्नुभयो, “बेनी बजारको न्यूरोडस्थित धवलागिरी डेरी उद्योगमा दैनिक ३०० लिटर दूध पुर्‍याएपछि सन्तुष्टि मिल्छ।”

उहाँले दूधले भरिएका भाँडाहरू मोटरसाइकलमा बाँधेर बजारमा पुर्‍याउने गर्नुभएको छ । एउटा भैंसीले दैनिक १२ देखि १४ लिटर दूध दिने उहाँ बताउनुहुन्छ । उत्पादन भएको सबै दूध प्रतिलिटर १२० रुपियाँमा बिक्री हुने गरेको छ ।

सरकारी निकायले किसानलाई प्रोत्साहन गर्ने नीति तथा कार्यक्रम ल्याउनुपर्ने उहाँको सुझाव छ । कृषक वर्गीकरण गरी सोहीअनुसार सेवा र सुविधा उपलब्ध गराउनुपर्ने उहाँ बताउनुहुन्छ । वैदेशिक रोजगारीमा जाने युवाहरूलाई विदेशमा सिकेको सीप र आर्जन गरेको पुँजी स्वदेशमै लगानी गरेर कृषि क्षेत्रमा उपयोग गर्न उहाँले आग्रह गर्नुभएको छ ।