• २ वैशाख २०८३, बुधबार

समुन्नतिमा सबैको साथ

blog

मानव सभ्यताको विकास कुनै एक युगमा भएको होइन । सभ्यताको विकासमा निरन्तर शृङ्खला रहेको छ । सभ्यताको विकासक्रममा इतिहासका अनेक चरण पार गरेर मानव समाज आजको अवस्थामा आइपुगेको हो । विज्ञान र प्रविधिको यो युगमा युद्ध र कलह असाध्य विरूप पक्ष हो । संसार युद्ध विभीषिकाबाट मुक्त हुन सकेको छैन । शान्तिपूर्ण विश्व समाजमा समृद्धिको खोजी सधैँ अपूरो नै रहेको छ । समृद्धिका निम्ति अथक प्रयास फलदायी हुन सकेको छैन । भर्खरै पनि अमेरिका र इरानबिच पाकिस्तानमा भएको शान्तिवार्ता सार्थक हुन सकेन । पश्चिम एसियामा विद्यामान अशान्ति लम्बिँदै गएको छ । अमेरिका र इजरायलको इरानसँगको युद्धले विश्वलाई निर्मम प्रभाव पार्दै छ । इन्धन उत्पादन र आपूर्ति जटिलतातिर गइरहेको छ । युद्धको बाछिटा दक्षिण एसियामा अझ सघन हुँदै छ । नेपाल अछुतो रहेन ।  प्रत्येक नेपालीका भान्छा र जीवनमा युद्धको दुष्प्रभाव छ । कालो बादलमा चाँदीको घेरा भने झैँ यो जटिल अवस्था सामना गर्न सक्ने जनादेशको विश्वासप्राप्त सरकार व्रिmयाशील छ । गएको वर्ष नवयुवा पुस्ताले परिवर्तनका निम्ति गरेको विद्रोहको फलस्वरूप निर्वाचन भई नयाँ सरकार बनेको हो । वर्तमान सरकारमा युवापुस्ताको वर्चस्व छ । सरकार तथा विधायिकामा युवापुस्ताको उपस्थिति आयामिक छ । अब अनेक जटिलता चिर्दै आर्थिक तथा सामाजिक विकासको सही दिशा लिन जरुरी भएको छ ।

निश्चय नै विधायिका र कार्यकारिणीमा नयाँ पुस्ताको प्रभावकारी सहभागिता अनुपम छ । राष्ट्र निर्माणमा युवा नेतृत्वको यो उपस्थिति नेपालको इतिहासमै नवीन परिघटना हो । विगत सम्झँदा पाका पुस्ताको नेतृत्व लामै समय रह्यो । त्यो पुस्ताले देशमा लोकतान्त्रिक आन्दोलनका निम्ति धेरै ठुलो त्याग भने नगरेको होइन । मुलुकलाई लोकतन्त्रीकरणमा दिएको योगदान बिर्सन सकिँदैन । तथापि देशमा राजनीतिक स्थिरता कायम हुन सकेन । बर्सैंपिच्छे अझ कतिपय वर्षमा त एकभन्दा बढी पटक पनि कार्यकारिणी नेतृत्व परिवर्तन गरेको विदित छ । त्यसले राजनीतिक अस्थिरता मौलायो । त्यो अस्थिरताले देशको विकासनिर्माणमा आवश्यक ध्यान जान सकेन । अर्थतन्त्रमा सुधार आउन सकेन । लगानी खुम्चियो । खुम्चिएको लगानीले अर्थतन्त्र विस्तार हुन सकेन । त्यसको प्रत्यक्ष असर उत्पादन र रोजगारीमा पर्न गयो । देशभित्र रोजगारी पाउन नसकेपछि झन्डै ८० लाख नेपाली रोजगारी र अवसरको खोजीमा बिदेसिन बाध्य भए । कृषिप्रधान देश नेपाल आयातमा आधारित हुँदै गयो । नेपाली युवाले श्रम र पसिना खर्च गरी आर्जन गरेको विप्रेषण फेरि आयातकै निम्ति बाहिर जान थाल्यो । यसो हुँदा देशले स्वनिर्भर अर्थतन्त्र निर्माण गर्न सकेन । देशभित्रै भाग्य र भविष्य खोज्ने युवापुस्ता निराश हुँदै जानु अस्वाभाविक थिएन । त्यसबाट उत्पन्न निराशा विद्रोहका रूपमा पोखिएपछि नै मौजुदा परिवर्तन सम्भव भयो ।

विधायिका र कार्यकारिणीमा रहेको युवा वर्चस्वले अब सबैको साथ र सहयोग लिएर देश निर्माण गर्नुपर्ने कार्यभार आएको छ । स्वनिर्भर अर्थतन्त्रको विकासबाट मात्रै नेपालले विश्वमञ्चमा शिर ठाडो पार्न सक्छ । स्वनिर्भर अर्थतन्त्रका निम्ति देशभित्र रहेको स्रोतसाधन र सम्भावनाको खोजी गरी अगाडि बढ्नु पर्छ । कृषिप्रधान देश नेपाल कृषिमै परनिर्भर भएको विडम्बना छ । नयाँ सरकारले सबैको साथ र सहयोग लिएर कृषिलाई पुनरुत्थान गर्नु पर्छ । पाका पुस्ताको ज्ञान र अनुभवको सदुपयोग गर्नु पर्छ । समाजका सबै पुस्ता, शक्ति र साधनको सहयोग लिई देशको समग्र उन्नतिलाई अगाडि बढाउनु पर्छ । नेपालको परम्परागत असल अभ्यासलाई संरक्षण गर्दै कृषिलाई आधुनिकीकरण गर्नु पर्छ । कृषिसँगै पर्यटनको विकासलाई जोड्नु जरुरी छ । नेपाल जलस्रोतमा धनी मुलुक भए पनि अझै पर्याप्त ऊर्जा उत्पादन हुन सकेको छैन । सुक्खायाममा विद्युत् आयात गर्नु परेको छ । यो अवस्थाबाट पार पाउन ऊर्जा विकासमा जोड दिनु परेको छ । आयातित जैविक इन्धन असाध्य महँगो हुँदै गएको छ । पश्चिम एसियाको युद्धले जनजीवन महँगीको मारमा पर्न थालेको छ । देशभित्रकै स्वच्छ ऊर्जाको उत्पादनबाटै ऊर्जामा स्वनिर्भर हुँदै जान सक्ने प्रशस्त सम्भावना छ । समग्र स्रोतसाधनका साथै ज्ञान र अनुभवको एकीकृत सम्पादनबाटै देश रूपान्तरणको नयाँ अध्याय सफल पार्न सकिने छ । नेपालीको भाग्य र भविष्य आफ्नै मुलुकमा खोज्न सार्थकता मिल्ने छ ।