• ७ फागुन २०८२, बिहिबार

निर्वाचन सुरक्षा

एकीकृत सुरक्षा टोली पुग्यो निर्वाचन क्षेत्र

blog

काठमाडौँ, फागुन ७ गते । यही फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन सुरक्षार्थ नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभाग सहभागी एकीकृत सुरक्षा टोली १६५ निर्वाचन क्षेत्रमा परिचालन भएको छ । निर्वाचन स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरण सम्पन्न गर्न भर्ना गरिएका करिब एक लाख ५० हजार निर्वाचन प्रहरीलाई पनि जिम्मेवारी क्षेत्रमा परिचालन गरिएको छ । 

गृह मन्त्रालयले तयार पारेको एकीकृत सुरक्षा योजना अनुसार चार वटै सुरक्षा निकाय एकीकृत रूपमा परिचालन हुँदै परिचालन सबै मतदान केन्द्रको सुरक्षा अवस्था र पूर्वतयारीमा जुटिसकेका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अविनारायण काफ्लेका अनुसार केन्द्र, प्रदेश र जिल्ला तहमा गठन भएका एकीकृत निर्वाचन सेलले तयार पारेको सुरक्षा योजना अनुसार गस्ती, पट्रोल, पिकेट जाँच सुरु गरिएको छ । 

देशभरका १० हजार ९७६ मदतान केन्द्रमा खटिने प्रहरीको नियमन, अनुगमन र सहजीकरणका लागि प्रहरी प्रधान कार्यालयले सात वटै प्रदेश तहमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) टोली खटाएको छ । मतदातालाई प्रभावित पार्ने गरी हुन सक्ने गलत तथा भ्रामक र नियोजित सूचनाको नियन्त्रणका लागि केन्द्रदेखि निर्वाचन सेलसम्म साइबर सुरक्षा विज्ञ प्रहरी टोली पनि परिचालन गरिएको छ । यस्तो टोलीले भ्रामक र गलत सूचना सन्देशको निगरानी गरी सचेत गराउने, कानुनी दायरामा ल्याउने र त्यस्ता विषयवस्तुलाई सामाजिक सञ्जालबाट हटाउन समन्वयको काम गरिरहेका छन् । 

निर्वाचन आयोगले डिजिटल युनिट नै स्थापना गरी यस्ता गतिविधि नियन्त्रणका लागि अनुगमन सुरु गरिसकेको छ । यसका साथै निर्वाचन सुरक्षार्थ आवश्यक सवारीसाधन, हतियार तथा बन्दोबस्तीसहित सुरक्षा टोली परिचालन भइसकेको छ । निर्वाचन नजिकिँदै गर्दा प्रतिस्पर्धी दलका राजनीतिक गतिविधि र उम्मेदवारको सुरक्षामा विशेष ध्यान दिई आवश्यक सुरक्षाकर्मी खटाइएको छ । 

गृह मन्त्रालयले सुव्यवस्थित निर्वाचन व्यवस्थापनका लागि वडा तहसम्म समन्वय सहकार्य गर्ने एकीकृत संयन्त्र गठन गरिसकेको छ । सङ्घ, प्रदेश र जिल्ला तहले समन्वय गर्ने गरी देशभरका छ हजार ७४३ वडा तहसम्म राजनीतिक दल, नागरिक समाज, सञ्चार जगत्, निजी क्षेत्र एवं प्रबुद्ध व्यक्ति रहेको संयुक्त संयन्त्र बनाइएको छ । जसमा दलका प्रतिनिधि र स्थानीय तहका पदाधिकारी र समाजका अगुवा, राजनीतिक दलका वडा तहसम्मका संरचनालाई समेटिएको छ । जिल्ला सुरक्षा समितिले उक्त संयन्त्रसँग निरन्तर सम्पर्क तथा समन्वय गरी निर्वाचनप्रति अपनत्व, जिम्मेवार र जवाफदेही बनाउने छ ।

यससँगै जिल्ला सुरक्षा समितिमार्फत शान्तिसुरक्षा कायम गर्ने, जनशक्तिको परिचालन तथा व्यवस्थापन गर्ने, निर्वाचनसम्बन्धी कानुनको कार्यान्वयन गर्ने र मतदान स्थलको पूर्वाधार एवं सुरक्षा र निर्वाचन आचारसंहिताको कार्यान्वयनबारे आवश्यक कारबाही हुने छ । 

निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुन्छ : गृहमन्त्री अर्याल

गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधि सभा सदस्यको निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुने बताउनुभएको छ ।  

निर्वाचनको तयारीसम्बन्धी विषयमा बुधबार काठमाडौँको निर्वाचन क्षेत्र नं. ३, गोकर्णेश्वर नगरपालिकाको सुन्दरीजल क्षेत्रको स्थलगत निरीक्षण तथा अनुगमनका क्रममा उहाँले सो धारणा व्यक्त गर्नुभएको हो । नेपाल सरकारको प्रवक्तासमेत रहनुभएका गृहमन्त्री अर्यालले सामाजिक सञ्जालमा चलाइने गलत, मिथ्या र दुष्प्रचारका सूचना तथा खबरबाट सचेत भई आआफ्नो निर्वाचन क्षेत्रको तयारीमा लाग्दै निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न लागि पर्न निर्वाचन अधिकारीलाई निर्देशनसमेत दिनुभयो ।  

गृहमन्त्री अर्यालका साथमा गृहसचिव राजकुमार श्रेष्ठ, काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल, काठमाडौँ प्रहरीपरिसरका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापा, गृह मन्त्रालयकी सहप्रवक्ता रमा आचार्य, गृहमन्त्रीको सचिवालय सदस्य तथा काठमाडौँ जिल्ला निर्वाचन अधिकारी ठाकुर भट्टराई, निर्वाचन अधिकृत चमिला भट्टराईलगायतका टोली स्थलगत निरीक्षणका लागि त्यसतर्फ पुग्नुभएको हो ।

गृहमन्त्री अर्यालसहितको टोलीले गोकर्णेश्वर माविमा रहेको मतदान केन्द्र र श्री ओख्रेनी मावि, सुन्दरीजलमा रहेको मतदान केन्द्रको स्थलगत अनुगमन गर्नुभएको थियो । यस्तै टोलीले शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जभित्र पर्ने मानवनिर्मित धाप ड्यामको पनि निरीक्षण गरेको थियो । 

यस्तै गृहमन्त्री अर्यालले गोकर्णेश्वर नगरपालिका–४ मा रहेको निर्वाचन अधिकृतको कार्यालयको समेत निरीक्षण गर्नुभएको थियो । सो क्रममा निर्वाचन अधिकृत भट्टराईले ३ नम्बर निर्वाचन क्षेत्रमा रहेका सबै मतदान केन्द्र र सुरक्षा अवस्थाबारे यसअघि नै अनुगमन गरिसकिएको, मतदाता शिक्षाको काम भइरहेको र निर्वाचन सामग्रीको ढुवानीको तयारी पनि भइरहेको जानकारी गराउनुभएको थियो । जिल्ला निर्वाचन अधिकारी भट्टराईले निर्वाचन क्षेत्रका लागि आवश्यक जनशक्तिको व्यवस्थापन जिल्ला निर्वाचन कार्यालयले सम्पन्न गरिसकेको जानकारी गराउनुभयो ।