• २७ मङ्सिर २०८२, शनिबार

पोखरामा दुई अर्बमा जलन अस्पताल बनाइने

blog

जलन अस्पताल बनाउन लागिएको पोखरा–२७, लेखनाथको जग्गा । तस्बिरः गोरखापत्र

फडिन्द्र अधिकारी
लेखनाथ, मङ्सिर २७ गते ।
पोखरा महानगरको वडा नम्बर २७ लेखनाथ जलन अस्पताल बन्ने भएको छ । साविक लेखनाथ नगरपालिकाको कार्यालय रहेको स्थानको खाली २८ रोपनीमा सय शय्याको अस्पताल बनाइने भएको हो ।

बर्न तथा स्पेसलाइज्ड हस्पिटल निर्माणका लागि सम्भाव्यता अध्ययन थालिएको छ । पोखरा महानगरको पुरानो विकास साझेदार कोरियन सहयोग नियोग (कोइका)को उच्च स्तरीय विज्ञ टोली अध्ययनका लागि अहिले पोखरामा छ । 

कोइकाका कन्ट्री डाइरेक्टर मुहोन कोङसहितको विभिन्न विषयका १७ सदस्यीय टोलीले यसका लागि अध्ययन गरिरहेको पोखरा महानगरका प्रमुख धनराज आचार्यले बताउनुभयो ।

“नेपालको जलन उपचारका लागि नमुना अस्पताल बनाउँदै छौँ,” प्रमुख आचार्यले भन्नुभयो, “सम्भाव्यता अध्ययन सुरु भएको छ, ठाउँ यकिन भएको छ । करिब दुई अर्ब लागत हुने अनुमान छ ।” महानगरले हरियोखर्क अस्पतालमा समेत छुट्टै जलन युनिट बनाउँदै छ ।

तीन रोपनीमा पोखरा–२७ को कार्यालय बनेकोसाविक लेखनाथ नगरपालिका कार्यालय रहेको क्षेत्रमा पाँच रोपनी क्षेत्रफलमा एडिबीको सहयोगमा विपद् व्यवस्थापन केन्द्र निर्माण बन्दै छ । बाँकी २८ रोपनीमा जलन अस्पतालसँगै विशिष्टिकृत सेवाहरु चलाउने तयारी छ । प्रमुख आचार्य अन्तर्राष्ट्रिय स्तरको सहरमा आधुनिक जलन अस्पताल जरुरी हुने औंल्याउनुहुन्छ ।

जलनको उपचारका लागि सँगसँगै अरु विभाग पनि आवश्यक हुन्छन् । एकीकृत रुपमा जलनको उपचार गर्नुपर्ने भएकाले ठुलो जनशक्ति, उपकरण र खर्च लाग्ने सरोकारवालाहरु बताउँछन् । जलन अस्पताललाई आधुनिक, सुविधासम्पन्न र जनअपेक्षा अनुरुपको बनाउन महानगरले सर्वसाधारण र विज्ञहरुबाट सुझावसमेत माग गरेको छ ।

गत वर्षको फागुन ३ गते दिउँसोसम्म पोखरा महानगरको प्रदर्शनी केन्द्रमा पोखरा भ्रमण वर्ष घोषणापछि अचानक हाइड्रोजन रहेको बेलुनमा आगो लाग्यो, नगर प्रमुख धनराज आचार्य र तत्कालीन उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल घाइते बन्नु भएको थियो । उहाँहरुलाई तत्काल हेलिकोप्टरमार्फत् उपचारका लागि काठमाडौँ लगियो । केही साताको उपचारपछि उहाँहरु घर फर्किनुभयो ।

उपचारपछि महानगर प्रमुख आचार्यको पोखरामा जलन अस्पताल बनाउने घोषणा गर्नुभएको थियो । त्यही प्रतिवद्धताबमोजिम अहिले अस्पताल निर्माण थालिएको हो ।

क्षेत्रीय अस्पतालमा छ सुविधा सम्पन्न जलन युनिट
गण्डकी प्रदेशको सबैभन्दा ठुलो अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अहिले पनि सुविधा सम्पन्न जलन युनिट सञ्चालनमा छ । तीन दशकअघि नै स्थापना भएको जलन युनिटमा बिहीबार पनि तीन बिरामी उपचाररत छन् । सात शय्यामा रहेको यो युनिटलाई केही जनशक्ति थप र क्षमता विस्तार गर्ने हो भने तत्काल जलनको उपचारमा समस्या नहुने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका सूचना अधिकारी सुशील अर्याल बताउनुहुन्छ ।

जलन युनिटका प्लास्टिक सर्जन डा पियूष गिरी वर्षमा एक सय ५० जति जलनका बिरामीको यहाँ उपचार भइरहेको सुनाउनुहुन्छ । सामान्य जलनलाई अन्तरङ्ग विभागमा उपचारपछि पठाइने गरेको छ भने गम्भीर जलन भएकाहरुलाई भर्ना गरी उपचार गर्ने गरिएको छ ।

जलन युनिटमा दुई क्याबिन र पाँच सामान्य बेड छन् । “बयस्कमा २० प्रतिशत र बालबालिकामा १० प्रतिशत छाला जलेकोलाई मेयर बर्न भनिन्छ,” डा गिरी भन्नुहुन्छ, “हामीकहाँ जलन उपचारका लागि अत्याधुनिक उपकरण र आवश्यक सबै खालका जनशक्ति छन् । आक्कलझुक्कलबाहेक बेड नपाउने अवस्था पनि छैन ।” युनिटको क्षमता विस्तार र विज्ञ जनशक्ति स्थायी आपूर्ति भए सेवा अझ सहज हुने देखिन्छ ।