• २९ चैत २०८२, आइतबार

गहिरिँदै छ जन्मथलोको तिर्सना

blog

राजेश चाम्लिङ राई 

काठमाडौँ, चैत २९ गते ।  “तपाईंको पहाड घर कता हो ?” केही दिनअघि सामाजिक सञ्जालमा निकै चर्चित यो वाक्यांशले बसाइँसराइको गम्भीर असर भोगिरहेको नेपाली समाजको ‘अर्थ सामाजिक’ चित्रण गर्दछ । शनिबार भक्तपुरको सल्लाघारीमा यही वाक्यांशलाई चित्रण गर्ने भिड देखियो । त्यहाँ खोटाङ, पर्सा र नवलपुरका सामाजिक संस्थाले छुट्टाछुट्टै आयोजना गरेका वनभोज कार्यक्रममा सयौँ मानिस सहभागी थिए । विभिन्न सिलसिलामा काठमाडौँ  बसिरहेका खोटाङेको साझा सामाजिक संस्था खोटाङ सेवा समाजले आयोजना गरेको कार्यक्रममा सयौँ खोटाङे भेला भएका थिए ।  र, यसै गरी सोधिरहेका थिए– तपाईंको पहाड घर कहाँ हो ?  

आफ्नो पुख्र्यौली थलो छाडेर देशका विभिन्न क्षेत्रमा विशिष्ट स्थान बनाउन सफल खोटाङे आपसमा चिनजान गरेर जन्मथलोको सम्झना गरिरहेका थिए । बर्सौंअघि पुख्र्यौली थलो छाडिसकेकाहरू पुनः एक ठाउँ बनाउने माध्यम बनेको यो कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यलयमा कानुन सचिव रहनुभएका पुष्कर सापकोटा, पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल, सशस्त्र प्रहरीका पूर्वमहानिरीक्षक सनतकुमार बस्नेत, प्राध्यापक डा. विष्णु राई, चर्चित कलाकार दिपाश्री निरौला, धीरज राई, पूर्वसचिव सागर राईलगायत दर्जनौँ विशिष्ट व्यक्ति सहभागी भएको समाजका महासचिव राजु एन राईले जानकारी दिनुभयो ।  देशका प्रमुख राजनीतिक दलका जिल्लाका प्रमुख नेतासमेत सहभागी कार्यक्रममा नवनिर्वाचित सांसद आरेन राईले खोटाङमा जन्मिएर विभिन्न क्षेत्रमा विशिष्टता हासिल गर्ने खोटाङेलाई जन्मथलोले सम्झिरहेको बताउनुभयो । “तपाईं हामी जहाँ भए पनि हाम्रो मूल खोटाङसँग जोडिएको छ,” आरेनले भन्नुभयो, “कसैले पनि आफ्नो जन्मथलो बिर्सन हुँदैन । त्यसैले खोटाङको विकासका लागि हामी सबैले हातेमालो गर्नु पर्छ ।”  

आरेनले विभिन्न अवसरको खोजी गर्दै सहर छिर्नेको सङ्ख्या वृद्धि भइरहेको उल्लेख खोटाङेले जिल्ला बिर्सन नहुने बताउनुभयो । उहाँले भन्नुभए जस्तै देशमा अवसरको खोजी गर्दै आन्तरिक बसाइँसराइ गर्नेको सङ्ख्या दिनहुँ बढिरहेको छ । सरकारले २०७८ सालमा गरेको जनगणनाका अनुसार देशभर आन्तरिक बसाइँसराइको प्रतिशत २९.२ प्रतिशत छ । अर्थात् देशका कुल जनसङ्ख्यामध्ये प्रत्येक १० जनामा तीन जनाले आन्तरिक बसाइँसराइ गरिरहेका छन् । यसमध्ये पनि ६० प्रतिशत काठमाडौँभित्र र २९ प्रतिशत तराईमा देशका विभिन्न स्थानबाट मानिस बसाइँ सरिरहेका छन् । 

विविध कारण पुख्र्यौली थाततलो छाडे पनि मानिस त्यहाँका सम्झना चटक्कै बिर्सन सक्दैनन् । यस्तै कम्तीमा वर्षको एक पटक जन्मथलोको प्यास मेटाउने माध्यम बन्ने गर्छन् जिल्ला जिल्लाबाट सहर छिरेकाहरूको साझा संस्था । सम्भवतः देशका ७७ वटै जिल्लाका मानिसले काठमाडौँमा यस्ता सङ्गठन बनाएका छन् । यस्ता संस्थानमा दशकौँअघि जन्मथलो छाडेका वा अस्थायी रूपमा छाड्नेहरू पनि सहभागी हुन्छन् । शनिबार मात्र तीन वटा जिल्लाका यस्ता सङ्गठन सल्लाघारीमा देखिनुले यसैको सङ्केत गर्छ । मानिस किन यसरी जन्मथलोसँग जोडिरहन चाहन्छन् ? नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव डा. धनप्रसाद सुवेदी भन्नुहुन्छ, “मूल कुरा त पहिचानको हो । पहिचान भनेको भूगोल, इतिहास, संस्कृति सबै चिज हो । जस्तो हाम्रो सुवेदीहरूको पुख्र्यौली थलो बझाङको सुवेधा भन्ने स्थान हो भन्ने सुन्दा मलाई त्यहाँ जाऊँ जाऊँ लाग्छ ।” साहित्यकारसमेत रहेका डा. सुवेदीले अमेरिकामा हेपाइ खाएपछि नेपाल फर्किएका आफन्तको उदाहरण दिँदै कतिपय अवस्थामा नयाँ ठाउँका मानिससँग ‘एडजस्ट’ हुन नसक्दा वा त्यहाँ उनले चाहे जस्तो आत्मस्वाभिमान कायम गर्न नसक्दा पनि मानिसहरू पुख्र्यौली थलोलाई सम्झिने बताउनुभयो । सम्भव यस्तै यस्तै कारण हुन सक्छ । प्रधानमन्त्री कार्यलयका सचिव सापकोटाले पनि केही वर्षअघि आफ्नो जन्मथलो सिम्पानीमा घडेरी किन्नुभएको छ ।  २०४६ सालमै सपरिवार तराई बसाइँ सरेका उहाँको परिवारले अब फेरि पुख्र्यौली ठाउँमा घर बनाउने सोच बनाउनुभएको छ । “मानिस जहाँसुकै पुगे पनि जतिसुकै विशिष्ट स्थान प्राप्त गरे पनि आफ्नो जन्मथलो बिर्सन सक्दैन,” सापकोटाले भन्नुभयो, त्यसैले जननी जन्मभूमि स्वर्गदापी गरियसी भनिन्छ । त्यो स्मरण गर्दा आफ्नो कार्यक्षेत्रमा नयाँ ऊर्जासमेत मिल्छ त्यसैले यस्ता जमघट अर्थपूर्ण हुन्छ ।” 

खोटाङ सेवा समाजका अध्यक्ष तथा फिल्म निर्माता नवल खड्का यस्तै जन्मथलो छाडेर विभिन्न क्षेत्रमा विशिष्ट स्थान बनाएका तथा हाल विभिन्न क्षेत्रमा क्रियाशील खोटाङेहरूलाई एक सूत्रमा बाँध्न यस्तो कार्यक्रम आयोजना गरिएको बताउनुहुन्छ । यस्ता कार्यक्रमले खोटाङेका लागि मात्र नभई सम्पूर्ण नेपालीलाई आफ्नो जन्मथलोसँग आबद्ध भइरहन प्रेरित गर्ने उहाँको धारणा छ ।