• १९ वैशाख २०८३, शनिबार

नेपालसँग सहकार्य गर्न उत्सुक रहेको गोरको भनाइ

रास्वपा सभापति लामिछाने र अमेरिकी विशेष दूत गोरबिच भेटवार्ता

blog

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसँग भेट गर्नुहुँदै अमेरिकी दक्षिण तथा मध्य एसियाका लागि विशेष दूत सर्जियो गोर। तस्बिरः गोरको एक्सबाट साभार

काठमाडौँ, वैशाख १९ गते । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसँग अमेरिकी दक्षिण तथा मध्य एसियाका लागि विशेष दूत सर्जियो गोरले भेट गर्नुभएको छ । सत्तारुढ दलका सभापति लामिछानेसँग शनिबार भेटवार्ता भएको विशेष दूत गोरले सामाजिक सञ्जाल एक्समार्फत् जानकारी गराउनुभएको हो । 

भेटमा नेपाल र संयुक्त राज्य अमेरिकाबिचको साझेदारीलाई थप सुदृढ बनाउने विषयमा केन्द्रित रहेर छलफल भएको उहाँले उल्लेख गर्नुभएको छ । 

भेटका क्रममा राजदूत गोरले नेपालको नयाँ सरकारसँग परिवर्तनका लागि ठुलो जनादेश रहेको उल्लेख गर्दै सरकारद्वारा घोषित सुधारका योजना आशालाग्दो रहेको विश्वास व्यक्त गर्नुभएको छ । उहाँले आगामी दिनमा नेपालसँग नजिक रहेर सहकार्य गर्न आफू उत्सुक रहेकोसमेत  बताउनुभएको छ । 

सभापति लामिछानेसँगको भेटको तस्बिर राख्दै गोरले लेख्नुभएको छ, ‘नेपालमा नयाँ सरकारसँग परिवर्तनका लागि अतुलनीय जनादेश छ र उनीहरूले घोषणा गरेका सुधार निकै आशलाग्दा छन् । आगामी दिनमा नजिकबाट सहकार्य गर्न हामी उत्सुक छौँ ।’

नेपाल भ्रमणमा आउनुभएका गोरले यसअघि परराष्ट्र मन्त्री शिशिर खनाल र अर्थमन्त्री डा.स्वर्णिम वाग्लेसँग भेट गरिसक्नु भएको छ ।  फागुन २१ गतेको चुनावपछि रास्वपाका वरिष्ठ नेता वालेन्द्र शाह नेतृत्वको सरकार बनेपछि अमेरिकाबाट भएको यो उच्चस्तरीय भ्रमण हो ।