अमरराज नहर्की
तनहुँ, वैशाख १९ गते ।वर्षौंदेखि भूमिहीन रहेका तनहुँका सुकुम्बासी सबै प्रक्रिया पूरा गरेर पनि अन्तिम समयमा लालपुर्जा पाउनबाट वञ्चित भएका छन् ।
राष्ट्रिय भूमि आयोग जिल्ला कार्य समिति तनहुँमा ‘फिल्डबुक’ (जग्गाको विवरण अभिलेख गर्ने पुस्तिका) को अभाव भएपछि लालपुर्जा वितरण कार्य ठप्प भएको हो ।
सबै कानुनी र प्राविधिक प्रक्रिया पूरा गरी ४३ जना भूमिहीनलाई लालपुर्जा वितरण गर्ने अन्तिम तयारी गरिए पनि फिल्डबुक नहुँदा वितरण स्थगित गरिएको आयोगका जिल्ला अध्यक्ष गोविन्द सिलवालले जानकारी दिनुभयो ।
सिलवालले भन्नुभयो, “हामीले ४३ जनालाई पुर्जा दिने गरी सबै काम सकेका थियौँ, तर फिल्डबुक नहुँदा वितरण प्रक्रिया रोक्न बाध्य भयौँ, भूमिहीनको वर्षौंदेखिको सपना प्राविधिक सामग्रीको अभावमा अधुरो बनेको छ ।”
आयोगका सदस्य सचिव एवं नापी कार्यालय तनहुँका प्रमुख विजयकुमार सिंहका अनुसार जिल्लाबाट ३०० वटा फिल्डबुक माग गरिएकोमा केन्द्रबाट जम्मा १०० वटा मात्र पठाइएकाले समस्या उत्पन्न भएको हो ।
सिंहले भन्नुभयो, “फिल्डबुक हामी आफैँले छाप्न मिल्दैन, यो विभागबाटै आउनुपर्छ ।” एक महिनाअघि नै अभाव भएको र सरकारले सवारी चालक अनुमतिपत्र ९स्मार्ट लाइसेन्स० जस्तै फिल्डबुकलाई पनि प्राथमिकतामा राखेर तत्काल छाप्नुपर्ने जिल्ला समितिको माग छ ।
आयोगका विज्ञ सदस्य श्रीराम कार्कीका अनुसार फिल्डबुकमा कित्ता नम्बर, लालपुर्जा पाउनेको पूर्ण विवरण, चारकिल्ला र जग्गाको किसिम जस्ता संवेदनशील विवरण अभिलेख गरिने हुनाले यो बिना पुर्जा जारी गर्न असम्भव हुन्छ ।
यस्तै, महिला सदस्य आशा थापाले उत्साहका साथ पुर्जा कुरिरहेका विपन्न र भूमिहीन महिलाहरू अन्तिम समयमा काम रोकिँदा निराश भएको बताउनुभयो ।
आयोगको तथ्याङ्क अनुसार तनहुँमा १ हजार १०८ भूमिहीन दलित, १ हजार ८७१ भूमिहीन सुकुम्बासी र २३ हजार १६७ अव्यवस्थित बसोवासी रहेका छन् ।