• ३० चैत २०८२, सोमबार

नयाँ बर्षमा कपुरकोटमा काफल उत्सव

blog

शंकर केसी

सल्यान, चैत २९ गते । सल्यानमा तीन दिने काफल मेला तथा वृहत मौलिक सांस्कृतिक उत्साव सञ्चालन हुने भएको छ । नयाँ बर्ष २०८३ को अवसर पारेर कपुरकोट बजारमा चैत ३० देखि वैशाख २ गतेसम्म कार्यक्रम राखिएको आयोजक सल्यान मिडिया हाउस सञ्चालकले जनाएका छन् । 

कार्यक्रममा विभिन्न मौलिक तथा लोप हुने अवस्थामा पुगेका लोक, कला संस्कृतिको प्रदर्शन गरिने सल्यान मिडिया हाउसका अध्यक्ष चुडामणि पिएमले जानकारी दिनुभयो । साथै लोक दोहोरी गायक बद्री पंगेनी, गायक कमल विसी एवं विभिन्न स्थानिय कलाकारहरुले पनि सांस्कृतिक प्रस्तुति राख्ने आयोजकले जनाएको छ । कार्यक्रममा प्रस्तुत हुने मौलिक सोरठी, पैसरी, टप्पा नाच एवं नौमती बाजालाई प्रोत्साहन गरिने बताइएको छ ।

कपुरकोट क्षेत्रमा पाइने काफल तथा यस क्षेत्रको पहिचानलाई विस्तार गर्न एवं आन्तरिक र वाह्य पर्यटन प्रवर्द्धनका लागि समेत कार्यक्रम आयोजना गरिएको अध्यक्ष पिएमले बताउनुभयो । विशेष गरेर गर्मीयामको समयमा शितल, शान्त र प्राकृति दृष्टिकोणले समेत महत्वपूर्ण कपुरकोट क्षेत्रमा सल्यानका विभिन्न छिमेकी जिल्ला दाङ, बाँके, बर्दिया लगायतका जिल्लाबाट मानिसलार्इ आकर्षित गर्न काफल मेलाले टेवा पुग्ने आयोजकको अपेक्षा छ। 

यस कार्यक्रमको माध्यामबाट मौलिक संस्कृति प्रवर्द्धनमा कपुरकोट गाउँपालिकाले पनि सहयोग गरेको छ । सांस्कृतिक उत्सव सोमबार दिउँसो साढे १२ बजेपछि कपुरकोट-३ स्थित कृषि हाटबजारस्थलमा उद्घाटन गर्ने तयारी छ ।