• १२ साउन २०८१, शनिबार

आठ हजार चालक रसिदकै भरमा सवारी कुदाउँदै

blog

कोकिला ढकाल

इलाम, साउन  १२ गते । राजमार्गमा होस अथवा जुनसुकै सडकमा सवारी चलाउन चालक अनुमति पत्र अनिवार्य छ । तर, एक वर्ष यता ८ हजार बढीले चालक अनुमति पत्र पाउन नसक्दा रसिदकै भरमा आफ्नो सवारी चलाउनु परेको छ । 

यातायात कार्यालय इलामबाट चालक अनुमति पत्र लिनका लागि लिइएको परीक्षा उत्तीर्ण भए पनि चालक अनुमतिको प्रमाण– पत्र (लाइसेन्स) नआउँदा कार्यालयले दिएको रसिदकै भरमा सवारी चलाउनु पर्ने बाध्यता बनेको छ । इलाम कार्यालय मार्फत ८ हजार १६७ जना व्यक्तिहरूले नयाँ पाउनु पर्ने र नवीकरण भएर आउनु पर्ने लाइसेन्स पर्खिरहेका छन् । 

सन् २०२३ फेब्रुअरी ५ देखि पछाडि कसैको पनि सवारी चालक अनुमति पत्र नआएको जनाइएको छ । 

कार्यालयले सवारी चालकका लागि अनुमति प्रमाणपत्र दिन अहिले पनि लिखित र अभ्यासको परीक्षा भने गराइ रहेको छ । कार्यालयले आइतबार देखि बुधवार सम्म लिखित परीक्षा गराउने गरेको छ । बिहीबार भने सवारी कुदाउने अभ्यास परीक्षा गर्ने गरेको कार्यालयका सूचना अधिकारी सुवर्ण खड्काले बताउनु भयो  । खड्काका अनुसार दैनिक जसो १० देखि १५ जना परीक्षामा सहभागी हुने गरेको छ । 

इलाम कार्यालयबाट मोटर साइकल, स्कुटर, ट्याम्पो, ट्याक्टर, हल्का सवारी, एक्स्काभेटर र डोजर चालकका लागि चालक अनुमति पत्रको परीक्षा सञ्चालन हुने गरेको  छ । इलाम, पाँचथर, ताप्लेजुङ कार्यक्षेत्र रहेको कार्यालयमा ती बाहेकका जिल्ला र प्रदेशका सवारी नवीकरण समेत हुने गरेको जनाइएको छ । 

यातायात कार्यालयले उठायो दश करोड राजश्व

इलामस्थित यातायात कार्यालयले गएको आर्थिक वर्षमा दश करोड बढी राजश्व सङ्कलन गरेको छ । गएको आर्थिक वर्ष ०८०÷०८१ मा दश करोड ९८ लाख ७४ हजार ३७३ रुपियाँ राजश्व सङ्कलन भएको कार्यालयले जनाएको छ । 

इलाम कार्यालयमा  गएको वर्ष दुई पाङ्ग्रे दश हजार २७ , तीन पाङ्ग्रे ४७ , चार पाङ्ग्रे ४७ र अन्य गरी चार  हजार १९५ सवारी दर्ता भएका छन् । यसबाहेक पटके कर, ब्लु बुक, लाइसेन्स, जाँच पास, रुटपर्मिटलगातयका शीर्षकबाट सो राजश्व सङ्कलन भएको कार्यालयका सूचना अधिकारी सुवर्ण खड्काले बताउनुभयो ।