नागेन्द्रकुमार कर्ण
महोत्तरी, चैत्र १८ गते । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा रहेको प्रादेशिक अस्पताल जलेश्वरले बुधबारदेखि डायलासिस सेवा सुरु गरेको छ ।
अस्पतालले छ थान डायलासिस सेवा आजदेखि सुरु गरेको जनाएको छ ।मधेश प्रदेश सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री जङ्गीलाल राय, मन्त्रालयका सचिव डा. प्रमोदकुमार यादव र अस्पतालका निमित्त कार्यालय प्रमुख डा.रवि श्रीवास्तवले संयुक्त रूपमा डायलासिस युनिटको उद्घाटन गर्नुभएको हो ।
जनशक्ति अभावमा विगत तिन वर्षदेखि थन्किएको डायलासिस मेसिन जनशक्ति र व्यवस्थापन भएसँगै सुरु गरिएको प्रादेशिक अस्पताल जलेश्वरका निमित्त कार्यालय प्रमुख डा. रवि श्रीवास्तवले जानकारी दिनुभयो ।
उहाँले छ थान डायलासिस मेसिनमा पाँच थान चालु अवस्थामा राखिने र एक थान इमरजेन्सीको बेला प्रयोग गरिने बताउनुहुँदै डायलासिस मेसिन सुरु भएसँगै यसक्षेत्रका बासिन्दालाई राहत पुग्ने बताउनुभयो ।
उद्घाटनपश्चात आयोजित कार्यक्रममा बोल्नुहुँदै कार्यालय प्रमुख डा.श्रीवास्तवले आगामी दिनमा आइसियु सेवा, एनआइसियु सेवा तथा डिजिटल सेवाहरू सुरुवात गर्ने गरी गृहकार्य गरिरहेको बताउनुहुँदै अस्पतालका कर्मचारी तथा स्थानीयलाई सहयोगका लागि धन्यवाद दिनुभयो ।
कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री जङ्गीलाल रायले अस्पतालको सेवा विस्तारमा आफूले सदैव सहयोग गर्ने आश्वासन दिनुहुँदै अस्पतालको सञ्चालन समितिको अध्यक्षमा चाँडै नै स्थानीयलाई मनोनित गर्ने बताउनुभयो ।
कार्यक्रममा मन्त्रालयका सचिव डा. प्रमोदकुमार यादवले कर्मचारीलाई इमानदारिताका साथ तोकिएको काम समयमै गर्न निर्देशन दिनुहुँदै बिरामीको उपचारमा विलम्ब नगर्न आग्रह गर्नुभयो ।
जलेश्वर नगरपालिकाका नगर प्रमुख सुरेश साह सोनारले जलेश्वरका बासिन्दालाई जनकपुरदेखि काठमाडौँसम्म डायलासिसका लागि सिफारिसका साथै आफ्नै गाडीबाट लग्ने गरेको बताउनुहुँदै यहाँ सुरुवातसँगै जलेश्वरसहित यस क्षेत्रका बासिन्दालाई राहत पुगेको बताउनुभयो ।
अस्पतालमा डायलासिस सुरु भएसँगै यसक्षेत्रका बासिन्दालाई आर्थिक राहतसँगै समयको समेत बचत हुने देखिएको छ । जिल्लामा एउटा पनि डायलासिस मेसिन नहुदाँ मृगौला बिरामीलाई आर्थिक बोझका साथसाथै हैरानी समेत खेप्नु परिरहेको थियो।
महोत्तरीका मिर्गौला रोगीलाई डाइलासिसका लागि जनकपुरसहित बाहिर जानुपर्ने वाध्यता रहेको थियो ।जसले समयको बर्वादी तथा रकमको खर्च गरी दोहोरो मर्का हुने गरेको जलेश्वर नगरपालिका वडा नं. २ का विष्णु चौधरीले बताउनुभयो ।
उहाँले आफ्नी श्रीमती ४० वर्षीया निलम चौधरीको दुवै मिर्गौलाले काम नगरेको कारण उनलाई हप्तामा दुई दिन डायलासिस गराउनुपर्ने जानकारी दिनुहुँदै जलेश्वर क्षेत्रमा डायलासिस नहुदाँ उनलाई हरेक हप्ताको दुई दिन जनकपुर जानुपर्ने वाध्यता रहेको सुनाउनुभयो ।
उहाँले आफ्नै ठाउँमा डायलासिस सुरु भएपछि समयको बचतसँगै आर्थिक बोझ समेत कम हुने बताउनुुहुँदै यस कार्यका लागि अस्पतालका सम्पूर्ण टिमलाई धन्यवाद दिनुभयो ।
सुरुसुरुमा एक पटक डायलासिस गरे २५ सयदेखि तीन हजार सम्म तिर्नु परेको बताउनुहुँदै विष्णु चौधरीले स्थानीय तह तथा स्वास्थ्य कार्यालयबाट सिफारिसपत्र लिएर जाँदा निःशुल्क डायलासिस हुने गरेको जानकारी दिनुभयो ।
उहाँले तीन वर्षदेखि निरन्तर रूपमा पत्नी निलमलाई जलेश्वरबाट हप्ताको सोमबार र बिहीबार दुई चोटी डाइलासिसका लागि प्रादेशिक अस्पताल जनकपुर लानु परिरहेको बताउनुहुँदै गाडी भाडा, समय तथा अन्य खर्चहरूले हैरानी बनाएको बताउनुभयो ।
पालो लिन तोकिएको दिन बिहानै पुग्नुपर्छ अनि मात्रै पालो पाउने गरेको तथा एकपल्ट कम्तीमा पनि चार घण्टासम्म डायलासिस हुने गरेकोले समय पनि बढी लाग्ने गरेको बताउनुहुँदै अबदेखि सो झन्झट खत्तम हुने बताउनुभयो ।
मिर्गौलाले ९० प्रतिशतसम्म काम गर्ने क्षमता गुमाइसकेको अन्तिम अवस्थामा डायलासिस गर्ने गरिएको चिकित्सकहरू बताउँछन् । नेपाल सरकारले डायलासिस सेवा निःशुल्क गरेको छ ।
प्रादेशिक अस्पताल जलेश्वर महोत्तरीका डायलासिस थेरापिस्ट किसनकुमार रायले डायलायजर (कृत्रिम मिर्गौला) एउटा विशेष फिल्टर रहेको र यसमा मेसिनद्वारा बढी भएको तरल पदार्थ र फोहोर पदार्थलाई बाहिर फाल्ने र विशेष झोलको मद्दतले शुद्ध रगत बनाउने कार्य गरी पुनः सो शुद्ध रगतलाई शरीरमा पठाउने कार्य गर्ने गरिएको जानकारी दिनुभयो ।
डायलासिस गराउने बिरामीले नियमित रूपमा खाना, पानी, औषधी सेवन नगर्ने हो भने थप डायलासिस गराउनुपर्ने जोखिम हुने र यसले कुपोषण हुने, किड्नी फेल हुने र मृत्यु सम्म गराउने जोखिम हुने भएकोले डायलासिस गराउने रोगीले नियमित रूपमा औषधी सेवन गर्न आग्रह डायलासिस थेरापिस्ट रायले गर्नुभयो ।
उहाँले यस क्षेत्रमा पनि डायलासिस गर्ने बिरामीको सङ्ख्या धेरै भएको र अहिले पाँच जना बिरामी सम्पर्कमा रहेको बताउनुहुँदै सुरु भएसँगै बिरामीको चाप बढने दाबी गर्नुभयो ।
मन्त्री रायलाई जलेश्वरका स्थानीय युवाहरूले अस्पताललाई रेफर हुनबाट जोगाउन तथा राजनीतिक रूपमा नभई स्थानीयवासीलाई अस्पतालको अध्यक्षमा नियुक्त गर्न आग्रह गरेका थिए ।
आइसियू सेवा सञ्चालन गर्न माग प्रादेशिक अस्पताल जलेश्वर, महोत्तरीमा डायलासिस सेवा सुचारु भएसँगै आइसियू सेवा समेत सुचारु गर्ने माग बढेको छ ।
स्थानीय युवा जिरेखन पासमानले प्रादेशिक अस्पताल जलेश्वरलाई मधेश सरकारले एक सय शय्याको अस्पतालमा स्तरोन्नति गरे पनि सोही अनुसारको जनशक्ति उपलब्ध गराउन नसक्दा समस्या भएको आफुहरूले देखेको बताउनुहुँदै आइसियू सेवा सुचारु गर्न माग गर्नुभयो ।
प्रादेशिक अस्पताल जलेश्वरमा कोराना कालमै पाँच शय्याको भेन्टिलेटरसहितको आइसियू जडान भए पनि जनशक्ति अभावमा अहिलेसम्म सुचारु हुन सकेको छैन ।
युवा पासमानले भन्नुभयो, ‘डायलायसिस सेवा सुरुसँगै अस्पतालले राम्रो सन्देश दिएको छ, अस्पतालले अब छिट्टै आइसीयु सेवा सुचारु गरेर स्वास्थ्य क्षेत्रमा यसक्षेत्रका जनताहरूलाई राहत दिनुपर्छ ।’
अहिलेसम्म यस अस्पतालमा १५ शय्याका स्थायी दरबन्दी मात्रै रहेको छ भने ५० शय्याको अस्थायी दरबन्दी रहेको छ जसको म्याद हरेक तिन तिन महिनामा थप्नु परिरहेको छ ।