• १८ चैत २०८२, बुधबार

खजुरामा पहिलोपटक अन्तर्राष्ट्रिय स्तरको ‘खजुरा गोल्डकप’ हुँदै

blog

प्रतियोगिता बारे जानकारी दिँदै आयोजक ।

लक्ष्मी तिमिल्सेना

जमुनाह, चैत १८ गते । बाँकेको खजुरालाई चिनाउन खेलकुदको क्षेत्रमा मुलुकमै योगदान गरेको खजुरामा अन्तर्राष्ट्रिय टिमसहित खजुरा गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ  ।

न्यु डाँफे स्पोर्ट्स क्लबको आयोजना र खजुरा गाउँपालिकाको संरक्षकत्वमा प्रथम खजुरा गोल्डकप हुने भएको हो । चैत ३० देखि हुने गोल्डकपको तयारी तीव्र पारिएको आयोजक क्लबले जनाएको छ । खजुराले पहिलो पटक आयोजना गर्न लागेका गोल्डकपलाई सफल बनाउन खजुराबासी एकजुट भएका छन् ।

गोल्डकपको तयारी सम्बन्धमा तयारी अन्तिम चरणमा पुगेको आयोजकले जानकारी दिएको छ । खजुरा गोल्डकपमा दुई विदेशीसहित ८ टिमले सहभागिता जनाउने निश्चित भएको क्लबका अध्यक्ष बालाराम खत्रीले बताउनुभयो।

उहाँकाअनुसार गोल्डकपमा संकटा क्लब काठमाडौ, एपीएफ क्लब, चर्च ब्वाईज क्लब, नाइजेरियन जोन क्लब, लखनउ सहारा क्लब भारत, गोर्खा ब्वाइज स्पोर्ट्स क्लब बुटवल, काँक्रेबिहार क्लब सुर्खेत र आयोजक न्यु डाँफे स्पोर्ट्स क्लब खजुराको सहभागिता रहने छ ।

विजेताले ७ लाख र दोस्रोले ४ लाखसहित ट्रफी प्राप्त गर्ने अध्यक्ष खत्रीले बताए । सर्वोकृष्ट खेलाडी र विधागत उत्कृष्ट खेलाडीलाई नगदबाट पुरस्कृत गरिनेछ । क्लबका अध्यक्ष खत्रीले गोल्डकप सम्पन्न गर्न ७३ लाख ५० हजार खर्च हुने अनुमान गरिएको बताए ।

खजुरा गाउँपालिकाबाट १७ लाख, अमेरिका बस्दै आएका खजुरा ‘डी’गाउँका स्थानीय समाजसेवी लिलबहादुर थापाबाट विजेताको पुरस्कार ७ लाख, चित्लाङ एफसीका सञ्चालक अंकित थापाबाट ७ लाख स्रोत सुनिश्चित भएको र बाँकी आयोजकको आन्तरिक स्रोतबाट जुटाइने अध्यक्ष खत्रीले बताउनुभयो। गोल्डकपमा ५० हजार बढी दर्शकले अवलोकन गर्ने आयोजकले अपेक्षा छ ।

पत्रकार सम्मेलनमा बोल्दै खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बिक तुफानले खेलकुदको माध्यमबाट खजुरालाई देश विदेशमा चिनाउन योगदान पुग्ने बताउनुभएको थियो।

खेल पर्यटनलाई स्थानीय सरकारले प्राथमिकतामा राखेको उल्लेख गर्दै उहाँले खजुरा आउने देश विदेशका खेलाडीहरूलाई बर्दियाको ठाकुरद्वार, बाँके निकुञ्ज जस्ता पर्यटकीय स्थलमा घुमाउने प्रबन्ध मिलाइने जानकारी दिनुभयो ।

खेलकुद विकास परिषद्का सदस्यसचिव छवि विष्टले फुटबलप्रेमीको सपना खजुरामा गोल्डकप गर्ने भन्ने रहेको र उक्त सपना छिटै पूरा हुनेमा विश्वस्त रहेको बताउनुभयो।

खजुरा गाउँपालिका शिक्षा तथा युवा खेलकुद शाखा प्रमुख खगेन्द्र मल्लले युवालाई कुलतमा जान नदिन खेलकुदको प्रमुख भूमिका रहने हुँदा गोल्डकपले फुटबलको विकाससँगै युवामा खेलप्रति अभिरुचि जगाउने विश्वास व्यक्त गर्नुभयो। प्रतियोगिता खजुरास्थित मिनी रंगशाला ‘डी’गाउँस्थित फुटबल मैदानमा हुनेछ ।