गोरखापत्र अनलाइन
काठमाडौं, चैत १८ गते । प्रतिनिधिसभामा नवनिर्वाचित थारु सांसदहरुले संविधानले सुनिश्चित गरेको अधिकार सम्बोधनका लागि सामूहिक पहल गर्ने प्रतिवद्धता जनाउनुभएको छ । सुनिश्चित भएको अधिकारको कार्यान्वयन गर्ने र बाँकी अधिकार संविधान संशोधनमार्फत सम्बोधनका लागि पहल गर्ने उहाँहरुले विश्वास दिलाउनुभएको छ ।
थारु कल्याण कारिणी सभा (थाकस) संघीय समितिले बुधबार यहाँ आयोजित बधाई एवं शुभकामना कार्यक्रममा उहाँहरुले सो प्रतिवद्धता जनाउनुभएको हो । संविधानको धारा ५६ ले व्यवस्था गरेको थारु समुदायको विशेष क्षेत्र, संरक्षित क्षेत्र, स्वायत्त क्षेत्र निर्माणका लागि कानुन निर्माण गरेर कार्यान्वयन गर्ने उहाँहरुले प्रतिवद्धता जनाउनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा समानुपातिक सांसद सुरेन्द्र चौधरीले थाकस र थरुहट आन्दोलनको उपज आफूहरु सांसद भएको बताउनुभयो । थारु समुदायको सामूहिक संघर्ष नगर्दा अधिकार सुनिश्चित गर्न समस्या हुने भन्दै उहाँले पार्टीभित्र त्यसका लागि गम्भीर दवाव दिने प्रतिवद्धता जनाउनुभयो ।
बन्ने क्रममा रहेको निजामति कर्मचारी ऐनमा थारुका लागि जनसंख्याका आधारमा ६.६ प्रतिशत आरक्षण सुनिश्चित गराउने उहाँले प्रतिवद्धता जनाउनुभयो । संविधान संशोधन भएमा बाँके र वर्दिया जिल्लालाई कर्णालीमा गाभ्ने वहसमा कुनै तुक नरहेको भन्दै उहाँले त्यो प्रस्ताव समेत नजाने दावी गर्नुभयो ।

रास्वपाबाट सुनसरी ३ बाट निर्वाचित सांसद अशोक चौधरीले पहिचानसहितको थारु मुद्दामा सबै थारु सांसद एक भएर लाग्ने प्रतिवद्धता जनाउनुभयो । थाकसले सुझाएको थारु मुद्दालाई बोक्ने आफूहरुको कर्तव्य भएको बताउँदै उहाँले त्यसमा आफूहरु गम्भीर रहेको बताउनुभयो । थाकसले पनि दलीयभन्दा थारु साझा मुद्दामा केन्द्रित हुनुपर्ने उहाँले सुझाव दिनुभयो ।

नेपाली काँग्रेसबाट समानुपातिक सांसद रहनुभएका प्रमिला गच्छदार (मोरङ) ले यो सरकारबाट जनताको ठुलो अपेक्षा रहेकाले रास्वपालाई सो अनुसार काम गर्न सुझाव दिनुभयो । थाकसले उठाएको माग मुद्दामा आफूले गम्भीर भएर संसदमा पहल गर्ने उहाँले बताउनुभयो ।

रास्वपाबाट समानुपातिक सांसद रहनुभएका प्रेमलाल चौधरी (मोरङ) ले थाकस संस्था राजनीतिक दलभन्दा जेठो संस्था भएकाले उसले उठाउने माग मुद्दामा सुनुवाई हुनुपर्ने बताउनुभयो । थारु समुदायको प्रतिनिधित्व सुनिश्चित गर्नमा थाकसले दवावमूलक कार्यक्रम जारी राख्नुपर्ने र त्यसमा आफूहरुले सक्दो सहयोग गर्ने उहाँले प्रतिवद्धता जनाउनुभयो ।

रास्वपाबाट समानुपातिक सांसद रहनुभएकी करिश्मा कठरिया (कैलाली) ले थारु मुद्दा सम्बोधन गराउने अवस्थामा पार्टीभित्र प्रतिपक्षी भएर भूमिका खेल्न तयार रहेको प्रतिवद्धता जनाउनुभयो । थारु समुदायलाई मात्र लाग्ने सिकलसेल रोगको न्यूनीकरणमा समेत आफूले संसद र पार्टीभित्र भुमिका निर्वाह गर्ने उहाँको प्रतिवद्धता छ । थारु क्लष्टर रहेको ठाउँलाई स्वायत्त क्षेत्र निर्माणका लागि आफूले भूमिका खेल्ने उहाँको भनाइ छ ।

रास्वपाबाट बाँके १ बाट प्रत्यक्ष निर्वाचित हुनुभएका सुरेश चौधरीले राज्यले लामो समयदेखि थारु समुदायमाथि विभेद गर्दै आएकाले थारु समुदाय पछि परेको बताउनुभयो । थारु अधिकारका लागि संसदबाट नीति निर्माण गर्ने भूमिकामा आफूले सक्रिय भएर काम गर्ने उहाँले प्रतिवद्धता जनाउनुभयो । जातीय जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व र थारु स्वायत्त क्षेत्र निर्माणमा आफूले दल र संसदमा भूमिका खेल्ने प्रतिवद्धता जनाउनुभयो ।

वर्दिया १ बाट रास्वपाबाट निर्वाचित ठाकुरसिंह थारुले पुरानो संस्था थाकसले उठाएको मुद्दा सम्बोधनमा सरकार गम्भीर हुनुपर्ने बताउनुभयो । थारुको अधिकारमा साझा प्रयास खाँचो रहेको भन्दै उहाँले थाकसले उठाउने हरेक मुद्दामा आफ्नो साथ र सहयोग रहने प्रतिवद्धता जनाउनुभयो ।

सप्तरी ३ बाट निर्वाचित हुनुभएका रास्वपाका सांसद अमरकान्त चौधरीले थारु माग मुद्दामा सबै थारुको सामुहिक प्रयास जरुरी रहेको बताउनुभयो । कतिपय माग मुद्दा सम्बोधन भए पनि पहिचानसहितको अन्य मुद्दा सम्बोधनमा साझा प्रयास गर्ने उहाँले प्रतिवद्धता जनाउनुभयो ।

सप्तरी १ बाट निर्वाचित हुनुभएकी रास्वपाकी नेतृ तथा सांसद पुष्पा चौधरीले थरुहट मुद्दामा आफू गम्भीर रहेकाले सांसदको भूमिकामा रहँदा थाकसले उठाउने सबै मुद्दामा आफूले सहयोग गर्ने बताउनुभयो । थारुको पहिचान, आरक्षण, स्वायत्त क्षेत्र निर्माण तथा थारु भाषालाई सरकारी कामकाजी भाषा बनाउनमा समेत आफूले भूमिका खेल्ने उहाँले प्रतिवद्धता जनाउनुभयो ।

जसपाबाट राष्ट्रियसभा सदस्य रहनुभएकी पूजा चौधरीले राष्ट्रिय सभामा आफू थारुबाट एक्ली सदस्य भए पनि थारुको मुद्दामा आवाज उठाउने प्रतिवद्धता जनाउनुभयो । थारु आरक्षण कोटाका लागि आफूले गम्भीर रुपमा भूमिका खेल्ने प्रतिवद्धता जनाउनुभयो । नेपालको चौथो ठुलो जातीय समुदाय थारु भएकाले जनसंख्याको अनुपातमा ६.६ प्रतिशत आरक्षण सुनिश्चित्ताको विकल्प नरहेको उहाँले बताउनुभयो ।

थारु कल्याणकारिणी सभा (थाकस) का अध्यक्ष प्रेमीलाल चौधरीले राज्यको सबै निकायमा जातीय जनसंख्याको आधारमा प्रतिनिधित्व, संविधानले सुनिश्चित गरेको विशेष क्षेत्र, संरक्षित क्षेत्र निर्माणका लागि कानुन निर्माण, थारु भाषालाई सरकारी कामकाजी भाषा बनाउन तथा थरुहट प्रदेश निर्माणका लागि भूमिका खेल्न सांसदहरुलाई आग्रह गर्नुभयो । थाकसले उठाउने हरेक मुद्दामा सांसदहरुको सहयोगको खाँचो पर्ने उहाँले आग्रह गर्नुभयो ।

थारु आयोगका कार्यबाहक अध्यक्ष सुबोधसिंह थारुले आयोगको तर्फबाट सिफारिस गरिएका प्रतिवेदनमा संसदमा छलफल अझैसम्म नभएकाले सांसदहरुलाई त्यसमा पहल लिन आग्रह गर्नुभयो । आयोगका काम सिफारिस गर्ने मात्र भएको तर त्यसमा सरकारले चासो नलिने हो भने आयोगले गर्ने कामको औचित्य नहुने उहाँको भनाइ छ ।
थाकसका महामन्त्री मिनराज चौधरीले सहजीकरण गर्नुभएको कार्यक्रममा कोषाध्यक्ष चूर्णबहादुर चौधरीले थाकसले उठाउँदै आएको मुद्दालाई अपनत्व बोध गरी दल र सांसदमा उठाउन सांसदहरुसँग आग्रह गर्नुभयो । थाकसको कार्यालयका लागि काठमाडौं उपत्यकामा भवन निर्माणका लागि अभियान सञ्चालन गरिएको बताउँदै उहाँले त्यसमा पनि सबैको हातेमालो रहेको बताउनुभयो । कार्यक्रममा अधिवक्ता बुद्धसेन चौधरीले समेत धारणा राख्नुभएको थियो ।

बालेन्द्र साह नेतृत्वको अहिलेको सरकारमा एक जना थारु मन्त्री रहनुभएको छ । गीता चौधरीलाई कृषि तथा पशुपन्छी विकास, वन तथा वातावरण मन्त्रीको जिम्मेवारी दिइएको छ । त्यसैगरी २७५ सदस्यीय प्रतिनिधिसभामा १२ जना थारु सांसद र राष्ट्रियसभामा एक जना थारु सांसदको प्रतिनिधित्व रहेको छ । सो मध्ये ९ जना रास्वपाबाट, एक जना नेपाली काँग्रेस, एक जना नेकपा (एमाले) र एक जना नेपाली कम्युनिष्ट पार्टीबाट सांसद रहनुभएको छ ।