• १९ चैत २०८२, बिहिबार

प्रकृतिलाई खुसी बनाउन मगर समुदायको भूमे पूजा

blog

रघुगङ्गा गाउँपालिका १ बाँदुकमा भूमे पूजा गर्न भेला भएका स्थानीयहरु । तस्बिरः ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य 

म्याग्दी, चैत १८ गते । प्रकृतिलाई खुसी बनाई प्राकृतिक विपत्तिबाट जोगिने विश्वासका साथ म्याग्दीका मगर समुदाय परम्परागत भूमे पूजामा जुटेका छन् ।

रघुगङ्गा गाउँपालिका –१ बेग, बाँदुक र अन्नपूर्ण गाउँपालिकाको १ दोबामा चैतको उजेली मंगलबार धुमधामका साथ भूमे पूजा गर्नुका साथै सांस्कृतिक कार्यक्रम गरेका छन् । 

भूमे पूजाको अवसरमा मगरसमुदायले मौलिक संस्कृति पुख्र्यौली नाचगान गर्दा वस्तीहरु उत्सवमय बन्ने गरेका छन् । भूमे पूजामा मौलिक पुख्र्यौली नाचसँगै नौमती पञ्चेबाजामा नाचगान गरेर उत्सव मनाउने भएकाले यतिबेला मगर समुदायको बसोबास रहेका बस्तीहरु उत्सवमय बन्न थालेका छन् ।

विभिन्न पेसा, व्यावसाय र रोजगारीका कारण गाउँ छाडेहरु पनि भूमे पूजा गर्न गाउँ फर्किएका छन् ।  खेती किसानी गर्ने परम्परागत पेसा अंगालेका मगर समुदाय वन, जङ्गल छेउछाउ बसोबास गर्ने भएकाले प्रकृतिलाई खुसी बनाएर कुनै प्राकृतिक प्रकोप र विपत्ति नहोस् भन्ने उद्देश्यले भूमे पूजा गर्ने परम्परागत प्रचलन रहेको रघुगंगा गाउँपालिका १ बाँदुकका बेगबहादुर पुर्जाले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘‘भूमेपूजा मगर समुदायको पुख्र्यौली संस्कृति हो । बाउबाजेको पालादेखि मानेको संस्कृति हामीले पनि धानेका छौं । पुरानो मौलिक संस्कृतिलाई पुस्तान्तरण गरी जिवन्त बनाउने हाम्रो प्रयास छ ।’’

मगर समुदाय बसोबास गर्ने वस्तीहरुमा भूमे पूजालाई धुमधाम सँग मनाउने प्रचलन रहेको उहाँले बताउनुभयो । बर्खा लाग्नु अघि बाढी, पहिरो, असिनालगायत प्राकृतिक प्रकोप नहोस् भन्ने कामनासहित प्रकृति पूजाको रुपमा भूमे अर्थात् भूमिको पूजा गर्ने चलन रहेको उहाँको भनाइ छ । 

रघुगङ्गा गाउँपालिकाको वडा नम्बर ७ चिमखोला गाउँको शिरमा रहेको ऐतिहासिक मन्डली थान र सेवाङमा रहेको भूमे थानमा गाउँलेहरुले चैतको अन्तिम हप्ता मनोकामना पूरा हुने विश्वासका साथ पूजा गर्ने प्रचलन छ ।  

भूमे पूजामा साँढ, मण्डली बजैको थानलाई पाठीको बलि दिने गरिन्छ । मन्डली थानमा आएका भक्तजनले कुखुराको भाले, परेवा, नरिवल लगायत चढाएर पूजा गर्ने प्रचलन छ । भूमे देवतालाई खुसी बनाउन कोदोको छ्याङ खाएर रमाइलो गर्नुका साथै पुख्र्यौली नाच देखाउने प्रचलन अहिले पनि मगर समुदायमा जिवन्त रहेको नेपाल मगर संघ म्याग्दीका अध्यक्ष खम थापाले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘‘मगर समुदाय भित्र वर्षौ देखि प्रचलनमा रहेका विभिन्न मौलिक संस्कृति र धार्मिक मान्यताहरु रहेका छन् । पाका पुस्ताबाट नयाँ पुस्तामा संस्कृतिको पुस्तान्तरण भएमा मात्र हाम्रो पहिचान जोगिने थियो ।’’ 

नेपाल मगर संघ म्याग्दीका अध्यक्ष थापाका अनुसार भूमेथानमा मौलिक संस्कृतिअनुसार पूजा गरेपछि लोपोन्मुख अवस्थामा रहेको पुख्र्यौली सेदो गीत, भैच मायाले लगायत गीतमा नाचगान गर्दै गाउँ फर्किदा ज्येष्ठ नागरिक र अगुवालाई काँधमा बोकेर सम्मान गर्ने प्रचलन छ । 

मगर समुदायको बाक्लो बसोबास रहेको रघुगङ्गा–४ दग्नाम र दर्मिजामा भने जेठको उजेली मंगलबार भूमे पूजा गरिन्छ भने वडा नं ६ पाखापानीमा वैशाखमा गर्ने चलन छ ।