नयाँदिल्ली, चैत १८ गते । मध्यपूर्वमा जारी युद्धको प्रभाव ऊर्जा बजारमा स्पष्ट देखिन थालेसँगै भारतले जेट इन्धन र व्यावसायिक एलपिजीको मूल्य बढाएको छ । यद्यपि सरकारले सम्भावित तीव्र मूल्य वृद्धिलाई आंशिक रूपमा सीमित गर्दै उपभोक्तालाई केही राहत दिने प्रयास गरेको जनाएको छ ।
भारतको पेट्रोलियम मन्त्रालयका अनुसार उड्डयन टर्बाइन इन्धन (एटिएफ) को मूल्य राजधानी दिल्लीमा ८.५ प्रतिशतले बढाइएको छ र अन्य प्रमुख सहरमा पनि यस्तै वृद्धि गरिएको छ । एटिएफ हवाई सेवा सञ्चालनको प्रमुख लागत भएकाले यसको मूल्यवृद्धिले हवाई भाडामा समेत प्रभाव पार्न सक्ने बताइएको छ ।
मन्त्रालयले मध्यपूर्व युद्धका कारण विश्व ऊर्जा बजारमा असाधारण अवस्था सिर्जना भएको र विशेष गरी स्ट्रेट अफ होर्मुजमार्फत हुने तेल तथा ग्यास आपूर्ति प्रभावित भएको उल्लेख गरेको छ । यस्तो परिस्थितिमा एटिएफको मूल्य १०० प्रतिशतभन्दा बढीले बढ्ने अनुमान गरिएको थियो । तर सरकारले आन्तरिक हवाई यात्रामा प्रत्यक्ष असर कम गर्न ‘आंशिक र सीमित’ रूपमा करिब २५ प्रतिशत मात्र मूल्य समायोजन गरिएको जनाएको छ ।
यसैबिच अन्तर्राष्ट्रिय उडानतर्फ भने पूर्ण मूल्यवृद्धिको प्रभाव लागु हुने बताइएको छ, जसअनुसार विदेशी गन्तव्यमा उडान गर्ने विमानले बढेको इन्धन लागत पूरै वहन गर्नुपर्नेछ । व्यावसायिक प्रयोजनका लागि प्रयोग हुने तरलीकृत पेट्रोलियम ग्यास (एलपिजी) को मूल्य पनि बढाइएको छ । दिल्ली, कोलकाता, मुम्बई र चेन्नईमा १९ किलोग्रामको ग्यास सिलिन्डरको मूल्य करिब २०० भारतीय रुपियाँले वृद्धि गरिएको छ ।
भारत विश्वको चौथो ठूलो एलएनजी आयातकर्ता र दोस्रो ठूलो एलपिजी खरिदकर्ता हो, जसले मुख्य रूपमा मध्यपूर्वबाट आपूर्ति लिन्छ । यसैले त्यहाँको द्वन्द्वले भारतीय ऊर्जा बजारमा प्रत्यक्ष प्रभाव पारेको देखिन्छ । तर यस पटकको मूल्य समायोजनमा घरेलु प्रयोजनका एलपिजीको मूल्य भने यथावत राखिएको छ, जसले सामान्य उपभोक्तालाई तत्काल थप भार नपर्ने सङ्केत दिएको छ । रासस/एएफपी