१. राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ तथा संसदीय दलका नेता बालेन्द्र शाहको प्रधानमन्त्रित्वमा नयाँ सरकारको गठन कहिले भएको हो ?
विसं २०८२ चैत १३
– प्रधानमन्त्री नियुक्त : विसं २०८२ चैत १३
– नेपालको संविधान (२०७२) जारी भएपश्चात् पहिलो पटक धारा ७६ (१) अनुसार प्रधानमन्त्री बन्ने उहाँ पहिलो व्यक्तित्व हुनुहुन्छ ।
नयाँ मन्त्रीपरिषद् (चैत १३ मा गठित)

– नेपालको पहिलो प्रधानमन्त्री : भीमसेन थापा
– नेपालको पहिलो महिला प्रधानमन्त्री : सुशीला कार्की
२. वासु शशी साहित्य पुरस्कार, २०८२ कसलाई प्रदान गरियो ?
साहित्यकार वसन्त चौधरी
३. मानवनिर्मित रोबोट ‘अप्टिमस’ सहित मङ्गल ग्रहमा प्रक्षेपण गर्न लागिएको विश्वकै शक्तिशाली रकेट कुन हो ?
स्टारसिप
– स्पेसएक्सले मानवनिर्मित रोबोट ‘अप्टिमस’लाई आफ्नो शक्तिशाली स्टारसिप रकेटमार्फत यसै वर्षको अन्त्यमा मङ्गल ग्रहमा पठाउने जनाएको छ ।
– यो प्रक्षेपण र अवतरण सफल भएमा सन् २०२९ देखि २०३१ सम्ममा मङ्गल ग्रहमा मानिस पठाउने एलन मस्कको योजना रहेको छ ।
४. मानिसको दिमागमा कम्प्युटर चिप राख्न व्यावसायिक स्वीकृति दिने विश्वको पहिलो मुलुक कुन हो ?
चीन (सन् २०२६ मार्च)
– चीन ‘इन्भेसिभ’ ब्रेन–कम्प्युटर इन्टरफेस (बिसिआई) मेडिकल डिभाइसलाई व्यावसायिक बिक्रीको स्वीकृति दिने विश्वकै पहिलो देश बनेको छ ।
– चीनको नेसनल मेडिकल प्रोडक्ट्स एडमिनिस्ट्रेसन (एनएमपिए) ले पक्षघात भएका बिरामीहरूको उपचारका लागि यस्तो डिभाइस व्यावसायिक रूपमा प्रयोग गर्ने अनुमति प्रदान गरेको छ ।
– अनुमति पाउनेमा ‘न्युराकल मेडिकल टेक्नोलोजी’ ले विकास गरेको नियो नामक उपकरण रहेको छ ।
– ब्रेन–कम्प्युटर इन्टरफेस यस्तो प्रविधि हो, जसले मस्तिष्कमा उत्पन्न हुने विद्युतीय सङ्केतलाई वास्तविक समयमा पढेर कम्प्युटर वा मेकानिकल उपकरणहरू नियन्त्रण गर्न सक्छ । यो प्रविधि इन्भेसिभ र नन्–इन्भेसिभ गरी दुई प्रकारको हुन्छ । हाल स्वीकृत भएको नियो उपकरण इन्भेसिभ प्रविधि हो ।
– लामो समयदेखि प्रयोगशालामा सीमित रहेको बिसिआई प्रविधिलाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को उदयले व्यावसायिकतातर्फ अघि बढ्न सहयोग पु¥याएको छ । एआईले मस्तिष्कका हजारौँ न्युरोनबाट निस्कने जटिल सङ्केतहरूलाई तत्कालै विश्लेषण गर्न सम्भव बनाइदिएको छ । यस क्षेत्रमा अहिले विश्वभर कडा प्रतिस्पर्धा रहेको छ ।
५. नोबेल पुरस्कारबाट सम्मानित हुने संयुक्त राष्ट्रसङ्घका महासचिव को हुन् ?
कोफी अन्नान र ड्याग ह्यामरसोल्ड
६. व्यावसायिक रूपमा प्रयोग गरिएको नेपालको पहिलो रोबोट कुन हो ?
परी (पाइला टेक्नोलोजीले बनाएको र नेपाल एसबिआई बैङ्कमा प्रयोगमा ल्याइएको हो ।)
७. दर्जनौँ व्यक्तिको ज्यान जाने गरी कोलम्बियाली वायुसेनाको विमान कहिले दुर्घटनाग्रस्त भएको हो ?
सन् २०२६ मार्च २४
– विमानमा ११४ जना सैनिक जवान र ११ जना चालक दलका सदस्य रहेको जनाइएको छ ।
– सो दुर्घटनामा परी ६६ भन्दा बढी व्यक्तिको ज्यान गएको साथै दर्जनौँ व्यक्ति घाइते हुन पुगेका छन् ।
८. नेपालको समावेशी चरित्रलाई आत्मसात् गर्दै गोरखापत्रले विभिन्न मातृभाषामा समाचार र लेख प्रकाशन गर्ने कार्यको सुरुवात कहिलेदेखि गरेको हो ?
विसं २०६४ असोज १
– यस बहुभाषिक खण्डलाई ‘नयाँ नेपाल’ नामकरण गरिएको छ ।
– सुरुवातमा सीमित भाषाहरूबाट थालिएको यो अभियान अन्तर्गत हाल थपिँदै गएर ४६ वटा विभिन्न मातृभाषामा सामग्री नियमित रूपमा प्रकाशन हुँदै आएका छन् । एउटै पत्रिकाले यति धेरै भाषामा सामग्री प्रकाशन गर्नु विश्व पत्रकारितामै दुर्लभ मानिन्छ ।
९. राष्ट्रिय विकास परिषद्को अध्यक्ष को हुने प्रावधान छ ?
प्रधानमन्त्री
१०. विश्वमा सबैभन्दा बढी प्रजातिका वनस्पति पाइने देश कुन हो ?
ब्राजिल
११. विसं २०८२ फागुन २१ मा सम्पन्न निर्वाचनपश्चात् नवनिर्वाचित सांसदद्वारा कहिले शपथ ग्रहण गरियो ?
विसं २०८२ चैत १२
– प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीद्वारा सपथ लिइएको हो ।
– शपथ ग्रहण लिने प्रतिनिधि सभा सदस्य : २७४
– सिंहदरबारस्थित सङ्घीय संसद्को निर्माणाधीन बहुउद्देश्यीय सभाकक्षमा शपथ ग्रहण समारोह आयोजना भएको हो ।
– प्रतिनिधि सभाका ६६ जना सदस्यले १८ वटा अन्य मातृभाषामा शपथ लिनुभएको थियो ।
– ज्येष्ठ सांसद अर्जुननरसिंह केसीले अघिल्लो दिन चैत ११ गते राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिनुभएको थियो ।
१२. राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको तथ्याङ्क अनुसार हाल नेपालमा कति प्रतिशत क्षय रोगका बिरामी उपचारभन्दा बाहिर रहेको उल्लेख छ ?
४२ प्रतिशत
– राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको तथ्याङ्क अनुसार हाल नेपालमा प्रति एक लाख जनसङ्ख्यामा २२७ जनामा क्षयरोग हुने गरेको छ । क्षयरोगको सबैभन्दा डरलाग्दो पक्ष भनेको यसका ४२ प्रतिशत बिरामी उपचारभन्दा बाहिर हुनु हो ।
– समाजमा छरिएर रहेका बिरामी उपचारको पहुँचमा नआउँदा एकले अर्कोलाई सार्ने र क्षयरोग फैलाउने कार्य बढिरहेको केन्द्रका निर्देशक डा. भुवन पौडेलले बताउनुभयो ।
– नेपालमा सरकार तथा विभिन्न साझेदारी निकायले सन् २०१०, २०१५ र २०१८ मा सर्भिलेन्स सर्भे गरेका थिए तर त्यसयता स्थानीयस्तरसम्म पुगेर सर्भिलेन्स सर्भेसमेत गरिएको छैन ।
– नेपालले सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने र सन् २०५० सम्म देशलाई क्षयरोगमुक्त बनाउने लक्ष्य लिएको छ ।
– सन् २०२५ को तथ्याङ्क अनुसार नेपालमा सबैभन्दा बढी क्षयरोग सङ्क्रमित मधेश प्रदेश (२५ प्रतिशत) मा रहेका छन् ।
– क्षयरोग सङ्क्रमणबाट नेपालमा बर्सेनि १६ हजार जनाको ज्यान जाने गरेको छ ।
१३. मदन पुरस्कार प्राप्त गर्ने पहिलो विदेशी सर्जक को हुन् ?
फादर विलियम बर्क (कृति : सही शब्द, विसं २०५१)
१४. डब्लृडब्लुएफ को आदर्श वाक्य के हो ?
फर नेचर : फर पिपुल : फर इभर
१५. इन्डियन प्रिमियर लिग (आइपिएल) को १९ औँ संस्करण कहिले देखि सुरु भएको हो ?
सन् २०२६ मार्च २८
– सहभागी टोली : १० (ग्रुप ए : चेन्नई सुपर किङ्स, कोलकाता नाइट राइडर्स, राजस्थान रोयल्स, रोयल च्यालेन्जर्स बेङ्लुरु, पन्जाब किङ्स; ग्रुप बी : मुम्बई इन्डियन्स, सनराइजर्स हैदराबाद, गुजरात टाइटन्स, देल्ही क्यापिटल्स र लख्नउ सुपर जायन्ट्स)
– पहिलो खेल : रोयल च्यालेन्जर्स बेङ्लुरु र सनराइजर्स हैदराबाद ।
– आइपिएलको सुरुवात : सन् २००८
– १८ औँ संस्करणको विजेता : रोयल च्यालेन्जर्स बेङ्लुरु (उपविजेता : पन्जाब किङ्स)
१६. जी–२० शिखर सम्मेलन २०२५ कहाँ सम्पन्न भएको हो ?
दक्षिण अफ्रिका
– मिति : सन् २०२५ नोभेम्बर २२–२३
– अफ्रिकामा पहिलो पटक जी–२० सम्मेलन आयोजना भएको थियो ।
– सम्मेलनलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बहिष्कार गरेका थिए ।
– जी–२० शिखर सम्मेलनको घोषणापत्र पारित भएको छ ।
– जलवायु, ऊर्जा, ऋण स्थिरता, खनिज सम्झौतालगायतका विषय घोषणापत्रमा समेटिएका छन् ।
– घोषणापत्रमा युक्रेन, प्रजातान्त्रिक गणतन्त्र कङ्गो, सुडान र ‘कब्जा गरिएको प्यालेस्टाइन क्षेत्र’ मा ‘न्यायपूर्ण’ शान्तिका लागि संयुक्त आह्वान समावेश छन् ।
१७. बिम्स्टेकमा सदस्य नभएका सार्क राष्ट्र कुन कुन हुन् ?
अफगानिस्तान, पाकिस्तान र माल्दिभ्स
(सार्क सदस्य नभएका बिम्स्टेक राष्ट्र थाइल्यान्ड र म्यानमार हुन् ।)
१८. नेपालमा पेट्रोल र डिजेलमा स्वचालित मूल्य प्रणाली कहिलेदेखि लागु गरिएको हो ?
विसं २०७१ असोज १३
१९. ‘इन्स्टिच्युट फर इकोनोमिक्स एन्ड पिस’ द्वारा सार्वजनिक (सन् २०२६ मार्च) प्रतिवेदन अनुसार आतङ्कवादी गतिविधि हुने देशहरूको सूचीको पहिलो स्थानमा रहेको राष्ट्र कुन हो ?
पाकिस्तान
– १६३ देश समेटिएको यस सूचीमा आतङ्कवादबाट सबैभन्दा बढी प्रभावित देशको रूपमा पाकिस्तान रहन पुगेको छ ।
– यस सूचीमा नेपाल ८९ औँ स्थानमा रहेको छ ।
आतङ्कवादी गतिविधिबाट बढी प्रभावित मुलुक

२०. विश्वव्यापी ऊर्जाको मुख्य मार्ग होर्मुज जलडमरुले कुन–कुन खाडी जोड्छ ?
पर्सियन खाडी र ओमानको खाडी
– विश्वको कुल समुद्री तेल व्यापारको करिब २० देखि ३० प्रतिशत हिस्सा यही मार्ग भएर हुने गर्छ ।
– सबैभन्दा साँघुरो भागमा मात्र ३३ किलोमिटर चौडा रहेको यो मार्ग इरान र ओमानको जल क्षेत्रमा पर्छ । संवेदनशील भूगोल र साँघुरो बाटो भएका कारण यो बारम्बार शक्ति राष्ट्रबिचको तनावको तारो बन्ने गरेको छ ।
प्रस्तुतकर्ता : टङ्क केसी