• १२ साउन २०८१, शनिबार

जनस्वास्थ्यमा ऐतिहासिक कदम

blog

वि.सं १९४४ वैशाख महिनामा शिलान्यास गरी भवन निर्माण भइसकेपछि वि.सं १९४७ साउन १२ गते ‘श्री पृथ्वी–वीर हस्पिटल’ को विधिवत् उद्घाटन गरियो । १५ शप्याबाट सुरु भएको उक्त अस्पताल शैया, वार्ड र एकाइहरू थप गर्दै अहिले देशकै ठुलो अस्पताल वीर अस्पतालका रूपमा परिचित छ ।

विरशमशेरको जन्म वि.सं १९०९ मङ्सिर २७ गते धीरशमशेरका जेठा छोराका रूपमा भयो । उनी जन्मेकै दिन उनकी आमाको मृत्यु सुत्केरी जटिलताका कारण भयो । त्यसपछि उनको स्याहारसुसार तत्कालीन प्रधानमन्त्री जङ्गबहदुर राणाको थापाथलीस्थित दरबारमा भयो । उनको पढाइ ब्रिटिस भारतस्थित कलकत्ताको अङ्ग्रेजी कलेजमा भयो । तत्कालीन श्री ३ महाराज तथा प्रधानमन्त्री रणोद्वीप सिंहको हत्या गरी वि.सं १९४२ कात्तिक १५ गते ३४ वर्षीय वीरशमशेर प्रधानमन्त्री तथा श्री ३ महाराज बने । 

वीरशमशेर प्रधानमन्त्री बनेपछि उनको नेतृत्वमा नेपालको स्वास्थ्य क्षेत्रमा युग परिवर्तन गर्ने ऐतिहासिक निर्णयहरू भए । त्यसमध्ये विसं १९४७ साउन १२ गते उद्घाटन भएको वीर अस्पतालका बारेमा मात्रै धेरै चर्चा हुने गरेको छ । वीर अस्पतालबाहेक पनि उनले जनस्वास्थ्यका क्षेत्रमा धेरै महìव राख्ने अन्य ऐतिहासिक कार्य गरेका छन् । यहाँ तिनै कार्यहरूका बारेमा सङ्क्षिप्त चर्चा गरिएको छ । 

पश्चिमा चिकित्सा पद्धतिको संस्थागत विकास

परम्परागत चिकित्सा पद्धति रहेको नेपालमा पश्चिमा आधुनिक चिकित्सा पद्धतिको जग बसाउने श्रेय वीरशमशेरलाई छ । वि.सं १९४४ वैशाख महिनामा शिलान्यास गरी भवन निर्माण भइसकेपछि वि.सं १९४७ साउन १२ गते ‘श्री पृथ्वी–वीर हस्पिटल’ को विधिवत् उद्घाटन गरियो । १५ शप्याबाट सुरु भएको उक्त अस्पताल शøया, वार्ड र एकाइहरू थप गर्दै अहिले देशकै ठुलो अस्पताल वीर अस्पतालका रूपमा परिचित छ । यो अस्पताल सँगसँगै वि.सं १९४७ साउनमा नै ‘आफ्ना रैती दुनियाँको एक पैसा खर्च नभई औषधी गर्न पाउन्या’ गरी ‘देशभरका छोटा बडा सबैको रक्षा हवस् भन्ना निमित्त’ ‘बेथा हेरी बेथा अनुसारको औषधी दिन्या, बिरामीहरूको हिफाजात पुगोस् भन्ना निमित्त डाक्टर हरदम राखि दिई’ तराईका रङ्गेली, जलेश्वर, हनुमाननगर, तौलिहवा, नेपालगन्ज र वीरगन्जमा पृथ्वी–वीर अस्पतालहरू स्थापना गरिएको थियो (गोपीनाथ शर्मा, नेपालमा शिक्षाको इतिहास, भाग १, २०६८, पृ ७३–७४) । त्यस बेला यी अस्पतालमा सबै उपचार निःशुल्क हुन्थ्यो । चिकित्सकलगायत स्वास्थ्यकर्मी भारतबाट ल्याएर सेवा दिइएको थियो । वीरशमशेरले देशभर रणनीतिक महìवका स्थानहरूमा अस्पताल स्थापना गरे, जसले स्वास्थ्य सेवामा जनताको पहुँच बढ्यो । अस्पतालहरूको खर्च व्यववस्थापनका लागि गुठी खडा गरी गुठीका नाममा ‘नयाँ मुलुक’ लगायत तराईका विभिन्न स्थानमा हजारौँ बिगाह जमिन छुट्याए ।

स्वास्थ्य जनशक्तिको व्यवस्था 

देशका विभिन्न स्थानमा अस्पताल, डिस्पेन्सरीहरू स्थापना गरिसकेपछि आवश्यक प्राविधिक जनशक्ति उत्पादनको योजनासहित वीरशमशेरले काम गरेका थिए । विसं १९५७ असारमा काठमाडौँको सुन्धारा नजिकै पहिलो पटक आधुनिक चिकित्साको विद्यालय खोलियो (गोपी २०६८ः७४) । सो विद्यालयमा चिकित्सासम्बन्धी सिप सिक्न पल्टन (सेना) बाट १० जवानलाई पल्टनीया खान्गीमा कौषी तोषाखानाबाट वर्षको २४ देखि ४८ रुपियाँसम्म थप दिइने गरी पठाइएको थियो । तिनीहरूलाई पढाउन डा. रामकृष्ण मुखर्जी (बङ्गाली चिकित्सक) लाई खटाइएको थियो । उनैले विसं १९६६ मा ‘येनाटमी’ भन्ने शरीर रचनासम्बन्धी पुस्तक नेपाली भाषामा लेखेर प्रकाशन गरे (डा.राजेश गौतम, आवृत्ति : १९९५ः ११) । परम्परागत चिकित्सा प्रणालीलाई पनि जनशक्ति अभाव नहोस् भनी ‘वैद्यखाना पाठशाला’ खोली त्यहाँ पढाउने शिक्षकको व्यवस्था गरे । यसरी उत्पादित जनशक्तिलाई अस्पताल र औषधालयहरूमा काम गर्न पठाइन्थ्यो । अपुग जनशक्ति भारतका कलकत्ता र अन्य सहरबाट ल्याइन्थ्यो । 

वीरधारा र ढलको व्यवस्था 

धेरै सङ्ककणक रोगहरू पानी र सरसफाइ सम्बन्धित छन् भन्ने वीरशमशेरले बुझेको देखिन्छ । उनले आफू प्रधानमन्त्री भएको दुई वर्षभित्र खानेपानीको प्रबन्ध गर्न चाहेका थिए । उनले विसं १९४४ तिर काठमाडौँस्थित बेलाइती आवासीय दूतमार्फत ब्रिटिस–भारतसँग काठमाडौँ उपत्यकामा खानेपानी वितरण योजनाबारे प्राविधिक जनशक्तिको माग गरेका थिए । सोहीबमोजिम विसं १९४४ मा काठमाडौँका लागि उत्तरतर्फ रहेको शिवपुरीबाट बुढानीलकण्ठ हुँदै पिउनेपानी ‘वीरधारा’ ल्याउने योजना तर्जुमा गरी सोको शिलान्यास पनि गरे । विसं १९४७ मा वीरधाराको कार्य पूरा भयो र विसं १९४८ साउनमा काठमाडौँ उपत्यकामा कलधाराबाट पिउनेपानी आउने व्यवस्था भई यसको विधिवत् उद्घाटन भयो (पुरुषोत्तम ः २०७६ः३३८) । 

वीरशमशेरले आफ्नो दरबारमा छ वटा धारा र अन्य विभिन्न स्थानमा तीन सय वटा धारा जडान गराए । ती धारमा तामाको पातामा ‘वीर धारा सन् १८९०’ लेखेर टाँसिएको छ । ती धारामा चौबिसै घण्टा पानी आउँथ्यो । 

विसं १९४५ मा वीरशमशेरकै पालामा भक्तपुर (भादगाउँ) मा समेत महादेव खोलाबाट पाइपमा पानी ल्याई वितरण गरियो । त्यस्तै भिक्षाखोरी (अमलेखगन्ज) देखि सिमरासम्म ठाउँ ठाउँमा कलधारा राखिएका थिए । यात्रीहरूले सफा चिसो पानी पिउन पाउँथे । कलधारा सँगसँगै काठमाडौँ र भक्तपुरमा ढलको समेत व्यवस्था गरियो । वीरशमशेरको यो कार्यलाई बेलाइती अखबार र प्रतिनिधिहरूले समेत ‘ठुलो उपलब्धि’ भनेर प्रशंसा गरेका थिए । ब्रिटिस मेडिकल जर्नल (१८९५ डिसेम्बर) ले काठमाडौँमा ‘यो खानेपानी पिउन थालेपछि हैजा कम भएको’ छापेको थियो । यसरी वीरशमशेरले खानेपानी र सरसफाइका सवालमा नयाँ प्रविधि भिœयाएर ऐतिहासिक काम गरेका थिए । यो कामलाई व्यवस्थित गर्न ‘पानी गोश्वारा’ भन्ने अड्डा खडा गरी त्यहाँ प्राविधिक र अन्य कर्मचारीहरूको दरबन्दी सिर्जना गरेका थिए । उनले सहर सफा राख्न, सडक चौडा बनाउन ‘सफाइ आन्दोलन’ समेत चलाएका थिए । 

हैजा र कुष्ठरोगीका लागि छुट्टै अस्पताल

त्यस बेला नेपालको जनस्वास्थ्यको प्रमुख रोग हैजा, झाडापखाला, औलो, गलगाँड, हात्तीपाइले, कुष्ठरोग (महारोग), भिरिङ्गी (यौनरोग) आदि थिए । हैजाको महामारीबाट प्रत्येक वर्ष दरबारियादेखि सर्वसाधारण रैती सबै एकै पटक प्रभावित बन्थे र सयौँ मानिसको अकालमा मृत्यु हुन्थ्यो । यही तथ्य बुझेर विसं १९४७ तिर ‘हैजा अस्पताल’ का नाममा काठमाडौँ त्रिपुरेश्वरमा हैजाका बिरामीका लागि उपचार केन्द्र खोलियो । यसलाई पछि वीर अस्पतालकै एकाइका रूपमा राखियो । त्यसबेला प्रत्येक वर्ष चैत–वैशाखदेखि कात्तिक–मङ्सिरसम्म महामारीकै रूपमा देखिने पानीजन्य सरुवा रोग हैजाको उपचार केन्द्र खोलिनु ऐतिहासिक कार्य थियो । 

त्यस्तै महारोग भनेर चिनिने कुष्ठरोग लागेका व्यक्तिलाई असाध्यै हेयका दृष्टिले हेरिन्थ्यो र घरमा नराखी टाढा एकान्तमा राखिन्थ्यो । यो रोग लागेकाहरू दीर्घ रूपमा रोगी र अपाङ्गत हुन्थे । यो ठुलो जनस्वास्थ्य समस्याका रूपमा थियो । यो समस्या बुझेर वीरले त्रिपुरेश्वर र पछि खोकनामा कुष्ठरोगीका लागि छुट्टै अस्पताल बनाउन लगाए । 

अर्को जनस्वास्थ्य समस्याका रूपमा रहेको थियो बिफर । बिफरको महामारीलाई रोक्न खोप मात्र एउटा उपाय थियो तर धेरै जनताले खोप लगाउन चासो दिएका थिएनन् । सबैले खोप लगाउन् भनेर वीरशमशेरले ‘बिफरको खोप लगाउन अनिवार्य’ गराए । खोप र खोप लगाउने जनशक्तिको पनि सहज व्यवस्था गरे । 

अन्य सुधार

वीरशमशेरले परम्परागत आयुर्वेद चिकित्सा प्रणालीको विकास र बिरामीलाई चाहिने औषधीको अभाव हुन नदिन अनि औषधी उत्पादनमा सहज वातावरण बनाउन थापाथली दरबारमा रहेको ‘वैद्यखाना’ लाई सुधार गरी सहज स्थानमा सारे । कर्मचारी र सुरक्षाकर्मीहरू थपे । 

अत्यधिक मूल्य वृद्धिले जनजीविकालाई सताइरहेका बखत बजार मूल्य नियन्त्रणका लागि वीरशमशेरले पाँच सदस्यीय एक समिति गठन गरे जसले अन्न कुहाएर रक्सी बनाउन नपाउने गरी प्रतिबन्ध लगाउन सुझाव दिएको थियो । यसले अनिकाल र भोकमरी हटाउन सघाउ पुग्थ्यो । 

सती प्रथा जस्तो कुप्रथा अन्त्यका लागि कानुनी र व्यावहारिक कदम चालेर महिलाको अमानवीय मृत्यु रोक्ने, महिला स्वास्थ्यलाई प्रत्यक्ष सकारात्मक प्रभाव पार्ने कदम चालेका वीरशमशेरले दास प्रथा अन्त्य गर्ने प्रयासस्वरूप केही कमाराकमारीलाई मुक्त गरेको पनि स्मरणीय छ । वीरशमशेरले जम्मा १५ वर्ष आठ महिना शासन गरे तर उनले समाज सुधारका विभिन्न कार्य गरे । जनस्वास्थ्य क्षेत्रमा त उनैले जग राखेर ऐतिहासिक योगदान दिए ।

Author

डा. झलक शर्मा गौतम