• २ असार २०८२, सोमबार

जैविक विविधताको धनी मकालु वरुण

blog

मुना मासिकको यस अङ्कमा हामी वनस्पति, वन्यजन्तु र चराचुरुङ्गीको विविधताको धनी मकालु वरुण राष्ट्रिय निकुञ्जबारे जानकारी लिने छौँ । सोलुखुम्बु र सङ्खुवासभामा फैलिएको यो राष्ट्रिय निकुञ्ज मकालु हिमालको नामबाट नामकरण गरिएको हो । 

यो निकुञ्जले उच्च पहाडी र हिमाली क्षेत्र ओगटेको छ जसमा विश्वको पाँचौँ अग्लो हिमाल मकालु पनि समेटिएको छ । यो निकुञ्ज घुम्न आउने पर्यटकले मनोरम हिमाली क्षेत्रको दृश्यावलोकन गर्न पाउँछन् । हिमाल आरोहण गर्न वा पदयात्राका लागि आउने पर्यटकले हिमालसँगै निकुञ्ज क्षेत्रका जीवजन्तु अवलोकन गर्न पाउँछन् । 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार यस निकुञ्जको स्थापना विसं २०४९ मा भएको हो । निकुञ्ज समुद्री सतहबाट ४३५ मिटर उचाइदेखि आठ हजार ४६३ मिटर अग्लो मकालु हिमालसम्म फैलिएको छ । जैविक मार्गको हिसाबले यो निकुञ्ज पूर्वमा कञ्चनजङ्घा संरक्षण क्षेत्र र गुराँसको राजधानी तीनजुरे–मिल्के–जलजले क्षेत्रसँग जोडिएको छ । 

अरुण नदी छेउको उष्ण जङ्गलदेखि उच्च हिमालसम्म फैलिएको यो निकुञ्ज विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको संरक्षित क्षेत्र पनि हो । यो निकुञ्ज दुई हजार ३३० वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ । निकुञ्जभित्र चाम्लाङ हिमाल (७,३१९ मिटर) नेपालको चौथो अग्लो हिमाल, बरुन्त्से हिमाल (७,१२९ मिटर), मिरा पिक (६,६५४ मिटर) लगायतका हिमाल रहेका छन् ।

यो निकुञ्जलाई बृहत् सगरमाथा पारिस्थितिकीय प्रणालीको एउटा महìवपूर्ण अङ्ग मानिन्छ । यस निकुञ्जको पश्चिममा सगरमाथा राष्ट्रिय निकुञ्ज र उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बतको चोमोलोङ्मा प्रकृति संरक्षण क्षेत्र पर्दछन् । अति भिरालो भूबनोट तथा पूर्वी हिमालयको भारी मनसुनी वर्षाले गर्दा यो निकुञ्ज असाधारण जैविक विविधता तथा यार्सागुम्बा जस्ता जडीबुटी र वनस्पतिको भण्डारको रूपमा परिचित छ । 

निकुञ्जका अनुसार चार हजार मिटरभन्दा बढी उचाइमा रहेका उच्च पहाडी पाखा वनमा धार्मिक दृष्टिले महìवपूर्ण मानिने सुनपाते, सुगन्धित झारपात तथा जङ्गली फूल पाइन्छन् । माथिल्लो पहाडी जङ्गलमा देवदार, भोजपत्र र लालीगुराँस तथा दुई हजारदेखि चार हजार मिटर उचाइको समशीतोष्ण क्षेत्रमा निगालो, अर्खौलो, फिरफिरे र पूर्वेली चाँप पाइन्छन् ।

जैविक विविधताको धनी यो निकुञ्जमा विश्वका दुर्लभ वनस्पति र छिर्केमिर्के रेन बेब्लर, ओलिफ ग्राउन्ड जस्ता पहिले नदेखिएको प्राणी देख्न पाइन्छ । यस निकुञ्जमा पाइने प्रमुख वन्यजन्तुमा कस्तुरी मृग, हिमाली कालो भालु, हिउँचितुवा, हाब्रेलगायत छन् । त्यसै गरी ४३१ प्रकारका चराचुरुङ्गी पाइन्छन् । 

निकुञ्ज क्षेत्रका स्थानीय बासिन्दालाई आवश्यक पर्ने वन पैदावार उपलब्ध गराउन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्र छुट्याई व्यवस्थापन गरिएको छ । ८३० वर्गकिलोमिटरमा फैलिएको मध्यवर्ती क्षेत्रको स्थापना २०५५ सालमा गरिएको हो ।     

    मुना