• १२ चैत २०८२, बिहिबार

नवनिर्वाचित सांसदहरूको शपथग्रहण समाराेह (प्रत्यक्ष प्रसारण)

blog

गोरखापत्र अनलाइन 

काठमाडौँ, चैत १२ गते । प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यहरूको पद तथा गोपनीयताको शपथग्रहण समारोह अहिले सिंहदरबारमा सुर भएकाे छ । 

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य  ७८ वर्षीय ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले नवनिर्वाचित २७४ जना सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराउन लाग्नुभएको हो ।

सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय सभाकक्षमा बिहीबार दिउँसो २ बजेपछि शपथग्रहण कार्यक्रम सुरु भएको छ । ज्येष्ठ सदस्य केसीले बुधबार नै राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पद तथा गोपनीयताको शपथ लिइसक्नुभएको छ ।

५४ सांसदले मातृभाषामा शपथ लिने

सङ्घीय संसद् सचिवालयका अनुसार यस पटक ठुलो सङ्ख्यामा सांसदहरूले आफ्नो मातृभाषामा शपथ लिँदैछन् । बुधबार साँझसम्म ५४ जना सदस्यले मातृभाषामा शपथ लिने जानकारी गराएको प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयो । 

जसमा मैथिली, भोजपुरी, नेपाल भाषा, बज्जिका, रानाथारू, थारू लगायतका भाषाहरू रहेका छन् । सचिवालयले शपथको बेहोरा अनुवाद गरी तीन दिनअघि नै बुझाउन सूचित गरे पनि अन्तिम समयसम्म विवरण आउने क्रम जारी रहेको थियो ।

शपथग्रहणका लागि सचिवालयले सम्पूर्ण प्राविधिक तथा व्यवस्थापकीय तयारी पूरा गरेको छ । 

प्रवक्ता गिरीका अनुसार सांसदहरूलाई समारोह सुरु हुनुभन्दा दुई घण्टा अगावै उपस्थित हुन आग्रह गरिएको छ ।

सांसदहरूले निर्वाचन भएको प्रमाणपत्रको प्रतिलिपि, नागरिकताको प्रतिलिपि र दुई प्रति फोटो बुझाउनुपर्नेछ ।

शपथपछि सांसदहरूलाई संसद्को प्रतीक चिह्न (लोगो), संविधान, नियमावली र सेवा सुविधासम्बन्धी सामग्री उपलब्ध गराइनेछ ।

कानुनी व्यवस्था र प्रक्रिया

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम कुनै पनि सदस्यले सदन वा समितिको बैठकमा भाग लिनुअघि शपथ लिनु अनिवार्य छ । आजको मुख्य समारोहमा शपथ लिन छुटेका सदस्यहरूलाई पछि ज्येष्ठ सदस्यले उनीहरूको अनुकूलता अनुसार शपथ गराउने व्यवस्था मिलाइएको सचिवालयले जनाएको छ ।

नयाँ भवन र नयाँ दलको उपस्थिति

यस पटकको संसद्‍मा नयाँ दलहरूको सशक्त उपस्थिति देखिएको छ । प्राप्त विवरण अनुसार संसद्‍मा:

  • राष्ट्रिय स्वतन्त्र पार्टी: १८२ सिट
  • नेपाली कांग्रेस: ३८ सिट
  • नेकपा (एमाले): २५ सिट
  • नेकपा: १७ सिट
  • श्रम संस्कृति पार्टी: ७ सिट
  • राष्ट्रिय प्रजातन्त्र पार्टी: ५ सिट
  • स्वतन्त्र: १ सिट

निर्माणाधीन नयाँ संसद् भवनमा यस पटक प्रत्येक सांसदका लागि छुट्टाछुट्टै 'चेम्बर'को व्यवस्था गरिएको छ । आजको शपथ ग्रहणसँगै नयाँ कार्यकालको औपचारिक सुरुवात हुनेछ ।