• १२ चैत २०८२, बिहिबार

सूर्योदयमा कृषि मेला

blog

सूर्योदय नगरपालिकाको फिक्कलमा आयोजित कृषि मेलामा प्रदर्शन तथा बिक्रीमा राखिएको फूल तथा कृषिजन्य उत्पादन । तस्बिर : प्रेम अधिकारी

प्रेम अधिकारी 

पशुपतिनगर(इलाम) चैत्र १२ गते ।इलामको सूर्योदय नगरपालिका-१०, फिक्कलमा पहिलो पटक कृषि मेला आयोजना गरिएको छ ।

कृषि क्षेत्रलाई प्रबन्धन गरी थप व्यवसायीकरण गर्ने उद्देश्यले बिहीबारदेखि दुई दिने कृषि मेला सुरु भएको हो । मेलामा पुष्प व्यवसाय, कृषिजन्य वस्तु, सागसब्जी तथा पशुहरू प्रदर्शनमा राखिएको सूर्योदय कृषि मेला आयोजक समितिका अध्यक्ष निरबहादुर राईले जानकारी दिनुभयो ।


सूर्योदय कृषि मेला आयोजक समितिको आयोजना तथा सूर्योदय नगरपालिका, सूर्योदय नगरपालिका वडा नं.१० , कृषि ज्ञान केन्द्र , इलाम र फ्लोरिकल्चर एसोसिएसन इलामको सहयोगमा सञ्चालन भएको मेलामा १५ वटा स्टल राखिएको छ । 

कृषि मेलामा बिहीबार पुष्प (फूल) व्यवसाय, कृषि उत्पादका स्टल राखिएको छ भने शुक्रबार ३० भन्दा बढी उन्नत जातका गाई, भेडा, बाख्रा तथा खसीको प्रदर्शन गरिने सूर्योदय नगरपालिका वडा नं. १० का वडाध्यक्ष पेमा उगेन लामाले जानकारी दिनुभयो ।


मेलामा आठ किलोग्राम बढीको एउटै मुला उत्पादन गरी सूर्योदय नगरपालिका वडा नं. १२ का किसान कमल पराजुलीले प्रदर्शनमा राख्नुभएको छ ।


यस्तै सूर्योदय १२ कै किसान रमेश गडतौलाले आठ सय ग्राम बढीको एउटै आलु उत्पादन गरी प्रदर्शनमा राख्नुभएको छ । सूर्योदय नगर क्षेत्रमा रहेका पुष्प(फुल) स्टल मेलामा बढी मात्रामा राखिएको छ ।

सूर्योदय आठ की पुष्प व्यवसायी  मनिता राईले २६ प्रकारका छ लाख बढीको पुष्प प्रदर्शनीमा राख्नुभएको छ । उहाँले दुई सय देखि चार हजार पाँच सय रुपियाँ प्रतिगोटाका पुष्प(फूल) प्रदर्शनी तथा बिक्रीमा राख्नुभएको छ ।

मेला सञ्चालन गर्नका लागि सूर्योदय नगरपालिकाले दुई लाख, वडा नं. १० ले दुई लाख तथा कृषि ज्ञान केन्द्रले समेत आर्थिक सहयोग गरेको वडाध्यक्ष लामाले जानकारी दिनुभयो ।


मेलामा प्रदर्शनी तथा बिक्रीमा राखिएका उत्कृष्ट पुष्प, कृषि उत्पादन तथा पशुलाई पहिलो, दोस्रो र तेस्रो गरी पुरस्कारको व्यवस्था गरिएको छ । वडाध्यक्ष लामाले भन्नुभयो, ‘कृषक र कृषि क्षेत्रलाई व्यवसायिक र प्रतिस्पर्धात्मक बनाउनका लागि हामीले कृषि मेलाको पहिलो पटक आयोजना गरेका हौं, आगामी वर्षदेखि यसलाई थप भव्य बनाउँदै जाने छौं।’

मेलामा दुई हजार बढीले अवलोकन गर्ने आयोजकले जनाएको छ ।