• १२ चैत २०८२, बिहिबार

सल्यानका दुई पालिकाबीच धार्मिक–पर्यटकीय सहकार्य सुरु

blog

प्रतीक इच्छुक शर्मा

सल्यान, चैत १२ गते । शारदा नगरपालिका र छत्रेश्वरी गाउँपालिकाले धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवर्धनका लागि आपसी सहकार्य सुरु गरेका छन्।

दुवै पालिकाले संयुक्त बैठकमार्फत दुई पालिकाले सहकार्य लागि योजना छनौट र कार्यान्वयनका लागि तयार भएका छन्।

शारदा नगरपालिकामा प्रख्यात खैरावाङ भुवनेश्वरी मन्दिर रहेको छ भने छत्रेश्वरी गाउँपालिकामा सतिपीठ क्षेत्र पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिन्छ।शारदा नगरपालिकाका प्रमुख प्रकाश भण्डारीले दुई पालिकाबीच सडक पूर्वाधार विकासमा पनि सहकार्य हुने जानकारी दिनुभयो।

निर्णयअनुसार, छत्रेश्वरी गाउँपालिकाको लान्ति–राणगाउँ–तुसारे–खैरावाङ मन्दिरसम्म सडक निर्माण हुनेछ भने शारदा नगरपालिकाको वडा नं.१३ अमिलोबोटदेखि छत्रेश्वरी-५ नयाँ गाउँसम्मको सडक पनि निर्माण हुने छ।

छत्रेश्वरी गाउँपालिका अध्यक्ष ओझ बहादुर बुढाथोकीले धार्मिक पर्यटन प्रवर्धनका लागि दुवै पालिकाका प्रमुख धार्मिक स्थलमा फोटोसहित जानकारीमूलक होर्डिङ बोर्ड राखिने बताउनुभयो। उहाँका अनुसार विकासलाई समन्वय र सहकार्यबाट अघि बढाइनेछ।

बैठकमा शारदा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम प्रकाश देवकोटा, योजना अधिकृत केशव बहादुर बुढाथोकी, लेखा अधिकृत श्याम सिंह, इन्जिनियर खगेन्द्र मल्ल, छत्रेश्वरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक बुढाथोकी, इन्जिनियर गणेश डाँगी लगायतको उपस्थिति रहेको थियो।

दुवै पालिकाका प्रमुखहरूले सिमा क्षेत्रको विकास र धार्मिक पर्यटन प्रवर्धनका लागि निर्णय छिट्टै कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।