• १२ चैत २०८२, बिहिबार

सल्यान कपुरकोट गाउँपालिकाको कार्यपालिका बैठक सम्पन्न

blog

प्रतीक इच्छुक शर्मा

सल्यान, चैत १२ गते । कपुरकोट गाउँपालिकाको १८औँ गाउँकार्यपालिकाको अधिवेशन अन्तर्गत दोस्रो बैठक सम्पन्न भएको छ । बैठकले विकास, सुशासन र न्यायसँग सम्बन्धित विभिन्न महत्वपूर्ण प्रस्तावहरू सर्वसम्मत रूपमा पारित गरेको छ ।

गाउँपालिका उपाध्यक्ष तथा योजना तर्जुमा समितिका संयोजक प्रकाश भण्डारीले प्रस्तुत गरेका कपुरकोट बहुमुखी क्याम्पस भवन निर्माण र नारी विकास सामुदायिक भवन निर्माणसम्बन्धी योजना, त्यसको औचित्य तथा गाउँसभाले वहन गर्नुपर्ने कानुनी दायित्वसम्बन्धी विशेष प्रस्ताव बैठकले पारित गरेको छ।

त्यसैगरी, लेखा समिति संयोजक दीपक पुनद्वारा पेश गरिएको बेरुजु समपरीक्षणसम्बन्धी प्रस्ताव पनि सर्वसम्मत पारित भएको छ ।

विधायन समितिका संयोजक मित्रलाल कठायतले प्रस्तावित विभिन्न कानुन तर्जुमा सम्बन्धी विधेयकको मस्यौदा पनि बैठकले पारित गरेको छ । बैठकले नागरिकलाई सेवा प्रवाहमा हुने ढिलासुस्ती अन्त्य गरी सेवा चुस्त, दुरुस्त र प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गरेको छ।

साथै, इनीशा बि.क. बलात्कार तथा हत्या प्रकरणमा संलग्नलाई कडाभन्दा कडा कानुनी कारबाहीको माग गर्दै कार्यपालिका महिला सदस्य तथा अधिकारकर्मीहरूले प्रस्तुत गरेको संकल्प प्रस्ताव पनि पारित गरिएको छ। बैठकले मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेको छ।

बैठकले रोल्पा सिमेन्ट उद्योगले आन्दोलनरत पक्षसँग गरेको सम्झौता कार्यान्वयन नगरेको विषयमा गम्भीर ध्यानाकर्षण गराउँदै उद्योगलाई तत्काल सम्झौता अनुरूप काम सुरु गर्न निर्देशन दिने प्रस्ताव पनि पारित गरेको छ।

गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनले विगत कार्यहरूको समीक्षा गर्दै योजनाको प्रभावकारी छनोट र कार्यान्वयनमा जोड दिनुपर्नेमा ध्यानाकर्षण गराउनुभयो। उहाँले विकास आयोजनाहरू परिणाममुखी बनाउन सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा पनि जोड दिनुभयो।