प्रवीण कुमार शर्मा
रौतहट, चैत १२ गते । रौतहटमा बिहिवार भएको सवारी दुर्घटनामा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको मोतिहारी पडरी गाउका शेख सोनुको छोरा शेख सादिक रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
राजपुर नगरपालिका–१ पिपरा भगवानपुर टोलस्थित भित्री सडक खण्डमा अमेरी मस्जिदबाट कबरी स्थान तर्फ जाँदै गरेको ना. ६ त ५४४० नं.को ट्रयाक्टर आफैँ अनियन्त्रि भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक बिष्णु प्रदिप बस्यालले जानकारी दिनुभयो ।
मृतक बालक शेख सादिक राजपुर नगरपालिका–१ पिपरा भगवानपुर टोलमा मामा शेख ममताज मुस्तफाको घरमा बस्दै आएका थिए । बिहिबार दिउँसो पौने तीन बजेको समयमा शेख वजिलको घरमा खेली रहेको अवस्थामा ट्रयाक्टर दुर्घटना हुँदा शेख सादिकको टाउकोमा चोट लागेको थियो ।टाउकोमा चोट लागेर घाइते भएका शेख सादिकलाइ उपचारको लागि प्रादेशिक अस्पताल गौर रौतहटमा ल्याउँदा डाक्टरले मृत घोषणा गरेको प्रवक्ता बस्यालले जानकारी दिनुभयो ।
शव अस्पतालमा रहेको र ठक्कर दिने ट्याक्टर प्रहरी नियन्त्रणमा रहेको छ । ट्याक्टर चालक फरार रहेको कारण खोजि कार्य जारी रहेको तथा घटना सम्बन्धमा थप अनुसन्धान भइ रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।