काठमाडौँ, चैत १२ गते । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी न्युन चापीय प्रणालीका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ ।
महाशाखाका अनुसार बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भू–भागका थोरै तथा कोशी प्रदेशको पहाडी र हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपात भइरहेको छ । अहिले कास्की, लमजुङ, गोरखा, तनहुँ, नुवाकोट, सिन्धुपाल्चोक, दोलखा, खोटाङ, संखुवासभा लगायतका जिल्लामा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।
बिहीबार राति देशको हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ । पहाडी तथा तराई भू–भागमा आंशिक बादल लाग्नेछ । कोशी र गण्डकी प्रदेशका पहाडी र हिमाली भू–भाग तथा बाँकी हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।
शुक्रबार देशको हिमाली भू–भागमा अधिकांश बादल, पहाडी भू–भागमा साधारणतया बादल र तराई भू–भागमा आंशिक बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू–भागका थोरै स्थनहरुमा मेघगर्जन चट्याङसहित हावाहुरी, असिना र मध्यम वर्षाको सम्भावना छ ।
शनिबार दिउँसो कोशी, मधेस, बागमती,गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बादल लाग्नेछ । कोशी, मधेस, बागमती प्रदेशका केही स्थानहरुमा तथा बाँकी हिमाली र पहाडी भू–भागको थोरै स्थानहरुमा मेघगर्जन चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ ।