यस वर्षको एसइई आगामी चैत १९ गतेदेखि सञ्चालन हुँदै छ । चैतको पहिलो सातामा हुने परीक्षा प्रतिनिधि सभाको निर्वाचनका कारण करिब दुई हप्ता पछाडि हुन लागेको हो । परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभरबाट यस पटक करिब पाँच लाख विद्यार्थी एसइईमा सामेल हुँदै छन् । राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ अनुसार कक्षा १ देखि ८ सम्म आधारभूत तह र कक्षा ९ देखि १२ सम्मलाई माध्यमिक तहका रूपमा परिभाषित गरिएको छ त्यसैले कक्षा १० र १२ को अन्तमा लिइने राष्ट्रिय परीक्षालाई महत्वका साथ हेरिन्छ । उच्च शिक्षामा प्रवेश गर्ने विद्यार्थीका लागि यी परीक्षा झनै महत्वपूर्ण रहेका छन् ।
नेपालमा विसं १९९० देखि कक्षा १० को अन्त्यमा लिइँदै आएको परीक्षा पद्धति र नतिजाप्रति विभिन्न किसिमका आलोचना र आरोप प्रत्यारोप पनि त्यत्तिकै चलिरहेकै छन् । परीक्षा प्रणाली र नतिजाका बारेमा सकारात्मकभन्दा पनि नकारात्मक टीकाटिप्पणी बढी हुने गरेका छन् । नतिजा प्रकाशनका समयमा परीक्षा बोर्डले गर्ने निर्णयको पनि आलोचना हुने गरेको छ । त्यस्ता आलोचना र टिप्पणीले पनि आजसम्म आइपुग्दा नतिजा सन्तोषजनक नहुनु, परीक्षा प्रणालीमा सुधार हुन नसक्नु, शिक्षण सिकाइ प्रभावकारी र गुणस्तरीय हुन नसक्नुका पछाडिका कारण र कमजोरी पत्ता लगाई समाधान गर्नेतर्फ चासो र सरोकार बढ्नु जरुरी छ । नतिजालाई मात्र हेर्ने र आलोचना गर्ने प्रवृत्तिले एसइईको औचित्यमाथि नै प्रश्न उठ्न थालेको छ ।
विगतका नतिजा हेर्ने हो भने सबैभन्दा बढी अङ्ग्रेजी, गणित, विज्ञान र सामाजिक विषयमा विद्यार्थी कमजोर देखिएका छन् । समग्रमा ६० प्रतिशत पनि सफल हुन नसक्नुका पछाडिको कमीकमजोरी खोजी गरेर नतिजा सुधार्नुपर्ने आवश्यकता छ । अपेक्षाकृत नतिजा आउन नसक्नुका पछाडि विद्यार्थी मात्र दोषी नभएर राज्य, अभिभावक, विद्यालय, शिक्षक, विद्यार्थी र समग्र समाजको भूमिका त्यत्तिकै महत्वपूर्ण छ । लगानी अनुरूपको प्रतिफल आउन नसक्नुका पछाडिको कारण हामीले खोज्नै पर्छ । परीक्षाको समयमा विद्यार्थीले अपनाउनु पर्ने सजगता, लगनशीलता र उत्सुकतामा हुने कमीले पनि धेरै विद्यार्थी ‘ननग्रेडेड’ हुनु परेको यथार्थ छ ।
एसइईलाई जटिल र फलामे ढोका भन्नुभन्दा पनि सहज रूपमा लिएर अघि बढ्न विद्यार्थीलाई प्रेरित गर्नु पर्छ । यस कार्यमा शिक्षक, विद्यार्थी, विद्यालय र अभिभावकको भूमिका महत्वपूर्ण हुन्छ । आत्मविश्वास र निरन्तरको अभ्यासले मात्र उत्कृष्टता हासिल गर्न सकिन्छ तर परीक्षाको समयमा मात्र पढ्ने बानीले तनाब बढाउन सक्छ । परीक्षा तयारीका समयमा आफू अनुकूलको समयतालिका बनाएर अध्ययन गर्नाले नतिजा आफ्नो पक्षमा पार्न सफल होइन्छ । अलिक गाह्रो लाग्ने विषयलाई प्राथमिकतामा राखेर तयार गर्नु पर्छ । सजिलो विषयलाई थोरै समय भए पनि फरक नपर्न सक्छ । पढेको कुरा मनन गर्ने र लेख्ने अभ्यास गर्नाले लेखाइमा शुद्धता बढ्छ । आफूले पढेका विषयसँग सम्बन्धित कुरालाई बुँदागत रूपमा कपीमा टिपोट गरेर याद गर्नु पर्छ । आफूले तयार गरेको विषयवस्तुलाई दिगो राख्ने उपाय भनेकै बुँदा टिपोट गर्ने हो, जसले परीक्षामा सहज रूपमा उत्तर लेख्न सघाउँछ ।
कुनै पनि विषयको अध्ययनपश्चात् आफ्नो मूल्याङ्कन आफैँले गर्नु पर्छ । विषयवस्तुसँग सम्बन्धित प्रश्न आफैँ बनाउने र उत्तर लेख्न प्रयास गर्र्नु पर्छ । निरन्तरको अभ्यासले थप परिष्कृत र जिज्ञासु बनाउँछ । सीमित प्रश्न र त्यसका रेडिमेड उत्तर खोज्नेभन्दा पनि पाठ्यपुस्तकका हरेक एकाई पटक पटक राम्रोसँग पढेर विश्लेषणात्मक ढङ्गले लेख्ने प्रयास गर्नु पर्छ । गणितीय समस्यालाई लगातार समाधान गरिरहनु पर्छ, जसले स्मृतिमा रहिरहन सघाउँछ । विद्यार्थीमा गणितीय सीप जति उच्च हुन्छ, त्यति नै बढी अन्य विषयमा पनि राम्रो गर्न सकिन्छ । सैद्धान्तिक विषयको उत्तर लेख्दा पाठ्यपुस्तक र अन्य सन्दर्भ सामग्रीमा भएका कुरा हुबहु सार्नेभन्दा पनि बुझेर मौलिक ढङ्गले प्रश्नहरूको हल गर्नु पर्छ । कतिपय कुरा बुझ्न र स्मरणमा राख्न लामो समय लाग्ने हुनाले त्यस्ता कुरालाई दैनिक रूपमा आफ्नो आँखा पर्ने ठाउँमा ठुलो अक्षरमा लेखेर टाँस्ने गर्दा बारम्बार त्यही कुरा देखिरहने हुनाले स्मरणमा लामो समयसम्म रहिरहन्छ ।
परीक्षा तयारी गर्दा विद्यार्थीले कहिल्यै पनि तनाब लिनु हुँदैन । तनाब र दबाबमा रहँदा परीक्षा बिग्रने डर हुन्छ । तनावमुक्त र स्वतःस्फूर्त हुन आफ्नो स्वास्थ्यलाई पनि ख्याल राख्नु पर्छ । स्वास्थ्य ठिक छ भने मात्र परीक्षामा राम्रो गर्न सकिन्छ । पर्याप्त मात्रामा पानी पिउने, ताजा फलफूल खाने, हल्का शारीरिक व्यायाम गर्नाले पढेका कुरा स्मरण गर्न सहज हुन्छ, जसले आत्मबल पनि बढाउँछ र परीक्षामा राम्रो गर्न सकिन्छ । परीक्षा छ भन्दैमा दिनरात नभनीकन एकोहोरो पढिराख्ने बानीले शरीरको सन्तुलन बिग्रने डर हुन्छ र विभिन्न शारीरिक समस्या देखा पर्न सक्छन् । कम्तीमा छ/सात घण्टा सुत्ने र बिहान सबेरै उठेर अध्ययन थाल्नु पर्छ । बिहानको समयमा अध्ययन गर्दा छिटो सम्झन सकिन्छ ।
परीक्षा तयारीको अर्काे महत्वपूर्ण र प्रभावकारी विधि भनेको समूहमा बसेर छलफल गर्नु हो । प्रश्नउत्तर र छलफल विधिले सिकाइलाई थप प्रभावकारी बनाउन सहयोग गर्छ । विषयवस्तुमा केन्द्रित भई छलफल गर्दा त्यसलाई नयाँ ढङ्गले बुझ्न सजिलो हुन्छ । अझ विशिष्टीकरण तालिका अनुसार प्रश्नहरूको अभ्यास गर्नाले उत्तर लेखन शैलीमा निखार आउँछ । प्रश्नहरू हल गर्दा स्पष्टसँग सङ्केत नम्बर उल्लेख गर्नु पर्छ । सम्भव भएसम्म क्रमैसँग उत्तर लेख्ने गर्नु पर्छ । कुनै पनि प्रश्नको उत्तर लेखिसकेपछि कम्तीमा दुई/चार लाइन खाली छाडेर अर्को प्रश्नको हल गर्दा राम्रो हुन्छ । कहिलेकाहीँ तयार गरेका कुरा पछि सम्झेर त्यो खालि ठाउँमा थप्न सकिन्छ । प्रश्न बारम्बार पढ्नु पर्छ । प्रश्नले के उत्तर मागेको छ, कुरा बुझेर मात्र लेख्न सुरु गर्नु पर्छ । हतारमा उत्तर लेखेर पछि केरमेट गर्नुभन्दा पहिले नै प्रश्नलाई बुझ्नु पर्छ ।
अहिले बजारमा विभिन्न विषयका सोलुसन, गाइड, गेसपेपर, क्याप्सुलका नाममा सन्दर्भ सामग्री छ्यापछ्याप्ती पाइन्छन् । त्यस्ता सामग्री प्रयोग गर्दा सचेत भएर गर्नु पर्छ । दिगो र भरपर्दो भनेकै पाठ्यक्रम र पाठ्यपुस्तक हुन् । परीक्षा हलभित्र प्रवेश गर्दा विषय अनुसार आवश्यक पर्ने सामग्री साथै लिएर जानु पर्छ । परीक्षामा समयको झनै ठुलो महत्व हुन्छ । प्रश्नहरूको अङ्कभार अनुसार समय विभाजन गर्नु पर्छ । छोटा र अति छोटा प्रश्नलाई धेरै समय खर्चिनु हुँदैन । लामो उत्तरात्मक प्रश्नलाई बढी समय खर्चिनुपर्ने हुन्छ । राम्रो तयारी गरेको प्रश्नको आवश्यकताभन्दा बढी लेख्ने तर तयारी कम भएको प्रश्नको उत्तर ज्यादै कम लेख्ने गरेमा सोचे जस्तो नतिजा नआउन सक्छ । यसका लागि अङ्कभार अनुसार उत्तर लेख्नु पर्छ । उत्तरपुस्तिकाको प्रथम पृष्ठमा लेखिएका निर्देशनलाई पालन गरेर उत्तर लेखेमा राम्रै सफलता हासिल हुन सक्छ ।
एसइईलाई अझ मर्यादित र उपलब्धिमूलक बनाउन अभिभावकको पनि उलेख्य भूमिका रहन्छ । आफ्ना नानीबाबुले कस्तो तयारी गर्दै छन् ? कहाँ जान्छन् ? साथीसङ्गत कस्ता छन् ? भन्ने जानकारी लिनु पर्छ । गाह्रो लागेका विषयको अतिरिक्त कक्षा गराएर भए पनि नतिजालाई सुधारको बाटोतर्फ लानु पर्छ । समयमै सजग र सक्रिय भइयो भने सुधार सम्भव छ, नत्र शिक्षाको लगानी बालुवामा पानी जस्तै हुन पुग्छ । विद्यालय व्यवस्थापन समिति, अभिभावक, शिक्षक, विद्यार्थीको संयुक्त प्रयासले मात्र एसइईको नतिजामा सुधार ल्याउन सकिन्छ । कुन पक्षको कति योगदान रह्यो भन्ने कुराको लेखाजोखा पनि हुन सकेमा थप केही सुधारको आशा गर्न सकिन्छ । तसर्थ एसइई विद्यार्थीको मात्र परीक्षा नभएर सरोकारवाला सबैको परीक्षा हो भन्ने ठान्नु पर्छ ।