• ११ चैत २०८२, बुधबार

बाँके जिल्ला बर्डफ्लु सङ्क्रमणको उच्च जोखिममा

blog

भारतबाट अवैध रुपमा ल्याइएका प्रहरीले बरामद गरेका कुखुरा । तस्बिर : सिराज खान

सिराज खान

नेपालगन्ज, चैत ११ गते ।नेपाल भारत सीमानाको नजिक रहेका भारत उत्तरप्रदेशका विभिन्न ठाउँ र नेपालका समेत केही ठाउँमा बर्डफ्लु देखिएपछि बाँके जिल्ला पनि बर्डफ्लुको उच्च जोखिममा रहेको छ ।

जमुनाहा नाका भएर भारतबाट भित्रिने अवैध कुखुरा र चल्लाका कारण बाँकेमा पनि बर्डफ्लु फैलिने सम्भावना अत्याधिक बढेकोले यो जिल्ला सो सङ्क्रमणको उच्च जोखिममा परेको हो ।

भारतबाट लुकिछिपी हुँदै आएको पन्छिजन्य पदार्थको अवैध आयातले गर्दा बाँकेमा जोखिम अत्याधिक बढेको जनाउँदै स्थानीय अगुवाहरूले जिल्लाको सम्पूर्ण नाकामा कडाइ गर्न माग गरेका छन् ।

नागरिक सरोकार समिति बाँकेका संयोजक कृष्ण प्रसाद श्रेष्ठले नाकामा कडाइ गरिएन र जिल्लामा सचेतना अपनाइएन भने बर्डफ्लु भित्रिन बेर नलाग्ने बताउनुभयो ।

उहाँले भारतका धेरै ठाउमा बर्डफ्लु देखिएको र नेपालकै केही स्थानमा समेत बर्डफ्लु देखिएकोले यहाँपनि फैलिन सक्ने हुँदा सम्बन्धित निकायले विशेष ध्यान दिनु आवश्यक रहेको बताउनुभयो ।

बाँकेका किसान र व्यवसायीले पनि सीमानामा यस्तै छुट रहने हो भने बर्डफ्लु भित्रिन सक्ने र त्यसबाट एकातिर मानवजीवन सङ्कटमा पर्ने र अर्कोतिर आफ्नो व्यवसाय सखाप हुने चिन्ता व्यक्त गरेका छन् ।

जिल्लाकै सबैभन्दा ठुलो कुखुरा फार्म रजा ग्रुपका सञ्चालक मुख्तार राईले बर्डफ्लु भित्रिन नदिन पनि भारतबाट आउने कुखुरालाई रोक्न आवश्यक तथा अपरिहार्य भैसकेको बताउनुभयो ।

उहाँले बर्डफ्लु भित्रियो भने मानवजीवनलाई समस्या पर्नुका साथै करौडोको लगानीमा खोलिएको कुखुरा पालन व्यवसाय पनि सखाप हुने आशङ्का व्यक्त गर्नुभयो ।

सोही प्रकारले अर्का कुखुरापालक व्यवसायी कादरी पोल्ट्री फार्मका सञ्चालक मुनिजर खानले बर्डफ्लु भित्रिनबाट रोक्ने हो भने भारतबाट हुँदै आएको कुखुराको अवैध आयातलाई रोक्नै पर्ने बताउनुभयो ।

उता, प्रहरी प्रशासनले भने नाकामा कडाइ गरिएको जनाउँदै दिनरात खटिएर सुरक्षाकर्मीले कुखुरा लगायत सबै अवैध आयातलाई रोक्ने काम गरिरहेको दावी छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले मुख्य नाकामा रहेका सुरक्षाकर्मी र क्वारेन्टाइनलाई कुखुरा र गुणस्तरहीन माछाको आयात रोक्न कडा निर्देशन दिइएको बताउनुभयो ।

उहाँले बर्डफ्लु भित्रिने आशङ्का अहिले बढेकोले झन कडाइ गर्न नाकामा तैनाथ सबै सुरक्षाकर्मीलाई निर्देशन दिएको जानकारी दिनुभयो ।