• ११ चैत २०८२, बुधबार

जङ्गली भान्टामा टमाटरको कलमी

blog

स्थलगत रुपमा टमाटरको कलमी गराउने कार्यमा सहभागी किसान । तस्बिर : सुजल श्रेष्ठ

सुजल श्रेष्ठ

प्यूठान, चैत ११ गते । जिल्लामा व्यावसायिक रुपमा टमाटर खेती गर्ने किसानले अहिले नयाँ प्रविधि प्रयोग गरेर टमाटर खेती गर्ने तर्फ अग्रसर भएका छन ।

लामो समयदेखि टमाटर खेतीमा सङ्लग्न किसानले अहिले जङ्गली भान्टामा टमाटरको बेर्ना कलमी गराएर खेती गर्न लागेका हुन्।

राष्ट्रिय कृषि आधुनिकीकारण परियोजना प्यूठानका प्रमुख चुमानसिंह गिरीले जिल्लामा पहिलो पटक नयाँ प्रविधिको प्रयोग गरिएको बताउनुभयो ।

“टमाटर खेती गर्दा किसानले वर्षेनी धेरै रोग किराको समस्या बेहोर्नुपरेको छ,” उहाँले भन्नुभयो,“उक्त समस्या समाधान गर्ने विकल्प खोज्दै गर्दा यो नयाँ प्रविधि अपनाउन थालिएको हो ।”

विशेष गरेर बिरुवा ओइलाउने समस्या देखिएको र उपचारबाट समेत समाधान नभएपछि नयाँ विकल्प खोजिएको उहाँले जानकारी दिनुभयो । कार्यालय प्रमुख गिरीका अनुसार कलमी बिरुवाबाट लागत कम लाग्ने, उत्पादनमा समेत वृद्धि हुने गर्छ ।

यसका लागि जिल्लाका २० जना व्यावसायिक किसानलाई स्थलगत रुपमा तालिम दिइएको छ । चितवनका किसानसँग समन्वय गरेर जङ्गली भान्टाको बीउ ल्याएर बेना तयार गरि कलमी बनाइएको उहाँको भनाइ छ ।

गिरीका अनुसार नेपालमा यो प्रविधि नयाँ हो। इजरायल लगायत देशमा सफलतापूर्वक परीक्षण भएपनि नेपालमा नयाँ प्रविधिको रुपमा प्रयोग गर्न थालिएको गिरीले बताउनुभयो ।

“नेपालमै यो नयाँ प्रविधि हो, नेपाली किसानले पहिलो पटक यो प्रविधिको प्रयोग गर्दै हुनुहुन्छ,” उहाँले भन्नुभयो,“यसबाट किसानलाई धेरे लाभ हुनेछ ।”