• ११ चैत २०८२, बुधबार

आर्थिक जोखिमबाट जोगिन बिमा आवश्यक

blog

बिमा बारेमा जानकारी गराउँदै नेपाल बिमा प्राधिकरण लुम्बिनी प्रदेशका सहायक निर्देशक शिवराज बिसी । तस्बिरः लीलाधर वली

लीलाधर वली 

घोराही, चैत ११ गते । आर्थिक जोखिमबाट बच्नका लागि बिमा हरेक मानिसका लागि आवश्यक रहेका नेपाल बिमा प्राधिकरण लुम्बिनी प्रदेश प्रमुख जमुना अर्यालले बताउनुभएको छ । 

बिमासम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले नेपाल बिमा प्राधिकरणले बुधबार दाङको घोराही उपमहानगरपालिका–२, रामपुरस्थित गङ्गा माध्यमिक विद्यालयमा आयोजना गरिएको विद्यार्थीसँग अन्तर्क्रिया कार्यक्रममा प्रमुख अर्यालले बिमा सबै नागरिकका लागि आवश्यक भएको बताउनुभएको हो ।  

बिमा जीवनको आर्थिक जोखिम न्यूनीकरणका लागि भरपर्दो माध्यम भएको भन्दै उहाँले जीवन तथा सम्पत्तिमा हुने क्षति र हानी–नोक्सानीबाट आर्थिक सुरक्षा प्रदान गर्ने बताउनुभयो । उहाँले बिमा कम्पनीको नियमन गर्ने निकायको रूपमा प्राधिकरणले काम गरिरहेको बताउँदै बिमा गर्दा आवश्यक प्रक्रिया र शर्तबारे सचेत हुन आग्रह गर्नुभएको थियो । 

उहाँले जीवन बिमासँगै पशुपक्षी, कृषि तथा जीवन बिमा गर्न सकिने विद्यार्थीलाई जानकारी दिनुभएको थियो । प्राधिकरणले बिमा कम्पनीको निरीक्षणसँगै शिक्षक र विद्यार्थीमार्फत सचेतनामूलक कार्यक्रम समेत गर्दैआएको बताउनुभयो ।  

कार्यक्रममा नेपाल बिमा प्राधिकरण, लुम्बिनी प्रदेशका सहायक निर्देशक शिवराज बिसीले बिमाको महत्त्व, फाइदा तथा प्राधिकरणको भूमिकाबारे जानकारी गराउनुभयो । उहाँले नेपालमा बिमाको वर्तमान अवस्था र विस्तारका सम्भावनाबारे विद्यार्थीलाई जानकारी गराउँदै बिमा कार्यक्रममा सहभागी बन्न शिक्षक विद्यार्थीलाई आग्रह गर्नुभयो । 

गङ्गा माध्यमिक विद्यालयकी प्रधानाध्यापक गङ्गा गौतमले बिमासम्बन्धी अन्तर्क्रिया कार्यक्रमले शिक्षकसँगै विद्यार्थीलाई सचेत बनाउने काम गरेको बताउनुभयो । नेपाल पत्रकार महासङ्घ दाङका अध्यक्ष सन्तोष सुवेदीले जोखिमको समयमा आर्थिक सहायताका लागि बिमा आवश्यक रहे पनि बिमा गर्दा नागरिक सचेत बन्नुपर्ने बताउनुभयो ।