रामकृष्ण बोहरा
बागलुङ, चैत ११ गते । बागलुङ निर्वाचन क्षेत्र नं. २ का सांसद सोम शर्माको अगुवाइमा बागलुङवासीलाई काठमाडौं उपत्यकाको बिएन्डबी अस्पतालमा उपचारमा छुट दिने व्यवस्था गरिएको छ ।
ललितपुर महानगरपालिकाको ग्वार्कोस्थित बिएन्डबी अस्पताल व्यवस्थापनसँग शर्माले उपचारमा २० प्रतिशत छुट दिने सम्झौता गर्नुभएको हो । शर्माले आफ्नो सामाजिक सञ्जालमा सार्वजनिक गर्नुभएको सम्झौतामा अस्पतालका प्रशासन प्रमुख प्रकाशकुमार भट्टराईले हस्ताक्षर गर्नुभएको छ ।
सम्झौतामा अस्पतालको ओपिडी, आइपिडी र फार्मेसी सेवामा बागलुङवासीलाई २० प्रतिशत छुट दिइने उल्लेख गरिएको छ । त्यसका लागि बागलुङवासीको परिचय खुल्ने कागजात आवश्यक पर्ने छ ।
यो सम्झौताले बागलुङवासीलाई फाइदा पुग्ने भन्दै कतिपयले नवनिर्वाचित सांसद शर्माको प्रशंसा गरेका छन् । कतिपयले बागलुङको सरकारी अस्पताललाई स्तरोन्नति गर्दै सुविधा विस्तार गर्न आग्रह गरेका छन् । गलकोट हटियाका थम्मन थापा ‘सन्देश’ ले सांसद शर्माले स्वास्थ्य क्षेत्रमा नवीन कामको थालनी गरेको भन्दै प्रशंसा गर्नुभएको छ ।
काठमाडौंको महँगो अस्पतालसँग सहुलियतको सम्झौता गर्नु सकारात्मक प्रयास भए पनि यसको वास्तविक प्रभाव कति जनासम्म पुग्छ भन्दै रविन बोहराले सांसद शर्मालाई प्रश्न गर्नुभएको छ । गल्कोटजस्तो क्षेत्रबाट काठमाडौँ गएर उपचार गराउन सक्ने नागरिकको सङ्ख्या सीमित रहेकाले सम्झौताले जनतामा खासै प्रभाव नपार्ने बोहराको भनाइ छ ।
बडिगाड गाउँपालिकाको सिसाखानीका सङ्गम घर्ती मगरले सांसद शर्मालाई विषयहरूको प्राथमिकीकरण गरेर अगाडि बढ्न सुझाव दिँदै गलकोट नगर अस्पताल र बुर्तिबाङ प्रादेशिक अस्पतालको सेवा गुणस्तर वृद्धि गर्न, बडिगाड आधारभूत अस्पतालमा डाइलासिस सेवा सुरु गराउने र अन्य सेवा विस्तारको लागि पहल गर्न आग्रह गर्नुभएको छ ।
घर्तीले तमान खोला र तारा खोलाको आधारभूत अस्पतालमा जनशक्ति र सेवा विस्तार गर्न र बजेट अभावले अलपत्र परेको निसी खोला आधारभूत अस्पताल निर्माण पूरा गरी सेवा सञ्चालनमा ल्याउन सांसद शर्मालाई आग्रह गर्नुभएको छ ।