विनय कर्ण
कल्याणपुर (सप्तरी), चैत ११ गते । सप्तरी प्रहरीले भन्सार छलेर भारतबाट अवैध रुपमा ल्याइएका दुई वटा मोटरसाइकलसहित कपडा बरामद गरेको छ । जिल्लाको राजविराज नगरपालिका वडा २ स्थित राजदेवी चौकबाट प्रहरीको गस्ती टोलीले चेकजाँच गर्ने क्रममा मंगलबार उक्त सामान नियन्त्रणमा लिएको हो ।
बरामद मोटरसाइकल र कपडाको अनुमानित मूल्य तीन लाख २६ हजार रुपियाँ रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार बा ५९ प २४६१ नम्बर र मे २ प ३११० नम्बरका हिरो कम्पनीका १२५ सिसि का ग्ल्यामर मोटरसाइकलमा बोरा लोड गरी ल्याउँदै गरेको अवस्थामा प्रहरी टोलीलाई देखेपछि चालकहरु मोटरसाइकल छाडेर फरार भएका थिए ।
त्यसपछि बेवारिसे अवस्थामा रहेका मोटरसाइकलहरू जाँच गर्दा बोराभित्र विभिन्न प्रकारका कपडाहरू फेला परेको थियो ।
नियन्त्रणमा लिइएको सामान आवश्यक कारबाहीका लागि बुधबार भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।