• ११ चैत २०८२, बुधबार

शपथग्रहणको तयारी पूरा

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, चैत ११ गते । प्रतिनिधि सभा सदस्यको शपथग्रहण र संसद् बैठकका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ । सङ्घीय संसद् सचिवालयका अनुसार सिंहदरबारभित्र बनेको संसद् भवनभित्र बैठकका लागि आवश्यक सम्पूर्ण संरचना निर्माणको काम सकिएको छ । 

प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत फागुन २१ गते मतदान सम्पन्न भएको थियो । प्रत्यक्ष र समानुपातिक प्रणालीतर्फका नतिजासमेत सार्वजनिक गरेर निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्यलाई प्रमाणपत्रसमेत वितरण गरिसकेको छ । प्रतिनिधि सभा सदस्यमध्येका ज्येष्ठ सदस्यका रूपमा नेपाली कांग्रेसका समानुपातिक प्रणालीतर्फबाट निर्वाचित सदस्य अर्जुननरसिंह केसीले बुधबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथग्रहण गर्नुहुने छ । 

ज्येष्ठ सदस्यका रूपमा केसीले शपथग्रहण गरेपछि बिहीबार अन्य २७४ जना सदस्यलाई केसीले नै शपथग्रहण गराउनुहुने छ । केसीले राष्ट्रपति भवन शीतल निवासमा शपथग्रहण गर्नुहुने छ भने अन्य सदस्यलाई संसद् भवनमै शपथग्रहण गराउने कार्यक्रम छ । तर तत्काल संसद् बैठकका लागि निर्माणाधीन संसद् भवनको मुख्य हल निर्माण हुन केही समय लाग्ने भएपछि सोही भवनभित्र बनेको बहुउद्देश्यीय (अन्य कार्यक्रम सञ्चालन गर्ने प्रयोजनका लागि बनेको) हल प्रयोग गर्न लागिएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । 

सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले शपथग्रहण र प्रारम्भिक बैठकका लागि वैकल्पिक हलको व्यवस्था गरिएको जानकारी दिनुभयो । मुख्य हल तयार हुन केही समय लाग्ने भएपछि तत्कालका लागि वैकल्पिक व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो ।