टोपलाल अर्याल
रेसुङ्गा(गुल्मी), चैत ११ गते । सत्यवती गाउँपालिका–७ जुनियाँको जुनियाँ स्वास्थ्यचौले करिव तीन दशकपछि आफ्नै भवनबाट सेवा प्रवाह सुरु गरेको छ । २०५३ सालमा स्थापना भएको जुनियाँ स्वास्थ्यचौकी तीन वर्ष स्थानीय नारायण शाहीको घरभाडामा लिएर सञ्चालन भयो । स्रोत अभावका कारण तत्कालीन गाविसको पहलमा २०५६ सालदेखि स्वास्थ्यचौकीले चारकोठे कच्ची घरबाट सेवा दिन थाल्यो । करिब तीन दशकसम्म कच्ची घरबाट काम गरेको जुनियाँ स्वास्थ्यचौकीको अहिले आधुनिक भवन निर्माण भएको छ ।
स्थानीय कृष्णप्रसाद आचार्यले स्वास्थ्य चौकीका लागि जग्गा प्रदान गरेपछि आधुनिक स्वास्थ्यचौकी भवन निर्माण गरिएको हो । नवनिर्मित स्वास्थ्यचौकी भवनको सत्यवती गाउँपालिका अध्यक्ष टिकाराम पाण्डेले उद्घाटन गर्नुभयो । कार्यक्रममा बोल्दै पाण्डेले नागरिकको सहज स्वास्थ्य सेवा प्रबाहमा कुनै कमी नहुने बताउँदै जग्गादाता, निर्माण व्यवसायी तथा सरोकारवाला सबैलाई धन्यवाद दिनुभयो । कार्यक्रमकै अवसरमा स्वास्थ्यचौकीलाई जग्गा प्रदान गर्ने जग्गादाता कृष्णप्रसाद आचार्यलाई सम्मान गरिएको सत्यवती गाउँपालिकाका स्वास्थ्य संयोजक हरिप्रसाद भण्डारीले जानकारी दिनुभयो ।
गाउँपालिकाको एक करोड ४२ लाख रुपियाँको लागतमा भवन निर्माण भएको थियो । आधुनिक भवनबाट ओपिडी, प्रशासन, नाम दर्ता, बर्थिङ्ग सेन्टर लगायतको लागि छुट्टाछुट्टै कोठा रहेका छन् । पहिले साँघुरो कोठाबाट सेवा दिन कठिन भएकाले नयाँ भवनबाट सहज भएको जुनियाँ स्वास्थ्यचौकी इन्चार्ज धन कुमारी खत्रीले बताउनुभयो । जुनियाँमा जुनियाँ स्वास्थ्यचौकी र जुनियाँ सामुदायिक स्वास्थ्य इकाइ रहेको छ । स्वास्थ्यचौकीमा चार र सामुदायिक स्वास्थ्य इकाइमा दुई जना स्वास्थ्यकर्मी कार्यरत छन् । दैनिक १५/२० जनाले सेवा लिने स्वास्थ्यचौकीबाट भुपु सैनिक मार्फत एम्बुलेन्स सञ्चालनमा रहेको स्वास्थ्यचौकी इन्चार्ज खत्रीले बताउनुभयो ।
सत्यवती गाउँपालिकाका १४ स्वास्थ्य संस्था छन् । एउटा प्राथमिक स्वास्थ्य केन्द्र, सात स्वास्थ्यचौकी, एउटा आधारभूत स्वास्थ्य केन्द्र र पाँचवटा सामुदायिक स्वास्थ्य केन्द्र रहेका छन् । भार्से स्वास्थ्यचौकी, जुनियाँ स्वास्थ्यचौकी, जोहाङ्ग प्राथमिक स्वास्थ्य केन्द्र, लिम्घा स्वास्थ्यचौकी, ठुलोलुम्पेक स्वास्थ्यचौकी र अस्लेवा स्वास्थ्यचौकीमा बर्थिङ्ग सेन्टर छन् ।
मापदण्डअनुसार तीन सामुदायिक स्वास्थ्य केन्द्र बाहेक सवै स्वास्थ्य संस्थाका आफ्नै भवन छन् । निःशुल्क आँखाको मोतियाबिन्दुको शिविर, स्वास्थ्य बिमा तथा आयुर्वेद औषधालय स्थापना र सञ्चालनको काम गाउँपालिकाले गरिरहेको छ ।