पुरुषोत्तम सुवेदी
पश्चिम नवलपरासी, चैत १० गते । पश्चिम नवलपरासीको सदरमुकाम परासीमा सरकारी लगानीमा निर्माण गरिएको आधुनिक बसपार्क झण्डै चार वर्षदेखि प्रयोगविहीन बनेको छ। निर्माण सम्पन्न भइसके पनि बसपार्कसम्म पुग्ने उपयुक्त सडक नहुँदा यो संरचना “सेतो हात्ती” जस्तै खाली छ।
बसपार्क सञ्चालनमा नआउँदा सवारी साधनहरू अहिले पनि मुख्य सडकको किनारमा पार्किङ गर्न बाध्य छन्, जसले बजार क्षेत्रमा ट्राफिक जाम र दुर्घटनाको जोखिम बढाएको छ। करिब चार करोड रुपैयाँ लगानीमा निर्माण भएको बसपार्कमा टर्मिनल भवन र व्यावसायिक सटरहरू निर्माण भइसकेका छन्। तर, करोडौँको यो संरचना अहिले घाँसे मैदान र झाडीमा परिणत हुन थालेको छ।
नेपाल यातायात व्यवसायी समितिका अध्यक्ष रिषीराम पौडेलका अनुसार बसपार्कको स्थान चयन र पूर्वाधारमा प्राविधिक कमजोरी रहेको छ। उहाँले भन्नुभयो, “बसपार्कसम्म पुग्ने बाटो साँघुरो र अपायक छ। ठूला बसहरू घुम्न सक्दैनन्। जबसम्म सहज पहुँच मार्ग निर्माण हुँदैन, तबसम्म सवारी साधन बसपार्कभित्र लैजान सम्भव छैन।”
स्थानीय बासिन्दा र नागरिक समाजका प्रतिनिधिहरूले पनि चाँडो बसपार्क सञ्चालन गरी बजार व्यवस्थित बनाउन माग गरेका छन्। नागरिक समाजका पूर्व अध्यक्ष राधेश्याम सिंह सैथवारले “राज्यको करोडौँ रुपैयाँ लगानी भएको आयोजना प्रयोगविहीन हुनु प्रशासन र नगरपालिकाको लाचारीपन देखाउँछ। एकातिर सम्पत्ति खेर गइरहेको छ भने अर्कोतिर जनताले धुलो र जामको सास्ती भोगिरहेका छन्” भनी टिप्पणी गर्नुभयो।
रामग्राम नगरपालिकाका प्रमुख धनपद यादवले बसपार्कलाई छिट्टै सञ्चालनमा ल्याउने पहल भइरहेको दाबी गर्नुभयो। उहाँले मुख्य समस्या पहुँच मार्ग नै भएको बताउँदै आगामी दिनमा संघ, प्रदेश र स्थानीय तहसँगको समन्वयमा मार्ग विस्तार गरी बसपार्क सञ्चालन सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।