पोखरा, चैत १० गते । मध्यपूर्वमा जारी तनावका कारण अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित हुँदा पोखरामा दोस्रो मुख्य पर्यटकीय सिजनमा पनि पर्यटकको आगमन घटेको छ। अमेरिका–इजरायल र इरानबिच बढ्दो तनावले मुख्य ट्रान्जिट हब जस्ता दुबई, कतार र साउदी अरेबियामा असर पुर्याउँदा युरोप र अमेरिकाबाट आउने पर्यटकहरू नेपाल पुग्न सकिरहेका छैनन्।
पोखरा भ्रमण वर्षका संयोजक गोपी भट्टराईका अनुसार, “युरोप र अमेरिकाबाट आउने पर्यटक आउन नसक्दा होटल, ट्राभल र ट्रेकिङ बुकिङहरू धमाधम रद्द हुँदै छन्। युद्ध लम्बिँदा व्यवसायीहरू समेत समस्यामा परिरहेका छन्। मध्यपूर्वमा बढेको तनावले नेपालको पर्यटन क्षेत्र प्रभावित भएको छ।”
होटल एशोसिएशन पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले अन्नपूर्ण पदयात्राको दोस्रो ठुलो सिजनमा अपेक्षाकृत पर्यटकको संख्या कम भएको बताउनुभयो। उहाँले भन्नुभयो, “अमेरिकाले अत्यावश्यक काम बाहेक नागरिकलाई विदेश ननिस्कन एड्भाइजरी जारी गरेको कारण अमेरिकी पर्यटक न्यून छन्। युरोपियन पर्यटक पनि अपेक्षाकृत कम सङ्ख्यामा आउँदैछन्। यद्यपि भारतीय र आन्तरिक पर्यटकको आगमन सामान्य छ।”
पर्यटक व्यवसायी नेत्र पौडेलले भन्नुभयो, “इजरायल, अमेरिका र इरानबिचको द्वन्द्वले पोखरामा अग्रिम बुकिङहरू रद्द भइरहेको छ। टे«किङ र होटल बुकिङहरू पनि रद्द हुने क्रम बढेको छ। समग्रमा अपेक्षित सङ्ख्यामा पर्यटक आउन सकेका छैनन्।”
कोरोना महामारीपछिको उकालोमा रहेको नेपालको पर्यटन व्यवसाय फेरि मध्यपूर्वको तनावका कारण प्रभावित हुन पुगेको छ। विशेषज्ञहरूले नेपाललाई धार्मिक र साहसिक पर्यटनको गन्तव्य बनाउन राज्यले विशेष रणनीतिका साथ काम गर्नु अपरिहार्य भएको औँल्याएका छन्।