• १० चैत २०८२, मङ्गलबार

स्याङ्जामा क्षयरोगबाट पाँचको मृत्यु

blog

क्षयरोग निवारण दिवसमा कार्यक्रम गरिँदै । तस्बिर :अर्जुन काफ्ले

अर्जुन काफ्ले

स्याङ्जा, चैत १० गते । स्याङ्जामा यस आर्थिक वर्षको अहिलेसम्म क्षयरोगका कारण पाँच जनाको मृत्यु भएको छ ।

यहाँको बिरुवा गाउँपालिका, भीरकोट, चापाकोट, वालिङ र गल्याङ नगरपालिकामा क्षयरोगले एक, एक जनाको मृत्यु भएको प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाले क्षयरोग निवारण दिवस जानकारी दिइएको हो ।

यहाँ अहिले १६० जना क्षयरोगका बिरामीले औषधी सेवन गरेको कार्यालय प्रमुख रामबहादुर नेपालीले जानकारी दिनुभयो । यहाँ सबै भन्दा धरै वालिङ नगरपालिकामा ५० जना र सबैभन्दा कम फेदी खोला गाउँपालिकामा दुई जना क्षयरोगका बिरामी रहेका छन् ।

यस्तै गल्याङ नगरपालिकामा २९, कालीगण्डकी गाउँपालिकामा र चापाकोट नगरपालिकामा १४, १४ जना, भीरकोट नगरपालिकामा १३ जना, पुतलीबजार नगरपालिकामा ११ जना, बिरुवा गाउँपालिकामा १० जना, हरिनास आठ जना, अर्जुनचौपारी गाउँपालिकामा पाँच जना, आँधी खोला गाउँपालिकामा चार जना क्षयरोगको बिरामी रहेका छन् ।

दिगो विकासको लक्ष्य हासिल गर्न सन् २०५० सम्ममा नेपाललाई क्षयरोग मुक्त देश बनाउने उद्देश्यका साथ हरेक पालिकामा स्वास्थ्य परीक्षण, स्वास्थ्य केन्द्रमार्फत क्षयरोगको निःशुल्क औषधी वितरण, स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा डट्स विधिबाट उपचार सहितका कार्यक्रम सञ्चालन भइरहेको नेपालीले बताउनुभयो ।

अहिले ४० प्रतिशत क्षयरोगका बिरामी उपचार भन्दा बाहिर रहेको बताउँदै नेपालीले सबै सहयोगले मात्र नेपाल सरकारको क्षयरोग मुक्त देश बनाउने लक्ष्यले सार्थकता पाउने बताउनुभयो ।