• १० चैत २०८२, मङ्गलबार

तनहुँमा क्षयरोगी पत्ता लगाउन चुनौती

blog

अमरराज नहर्की

तनहुँ, चैत १० गते । तनहुँ जिल्लामा क्षयरोगका बिरामी पत्ता लगाउनु मुख्य चुनौती बनेको पाइएको छ ।

लक्षण देखिएका बिरामीहरू परीक्षणका लागि स्वास्थ्य संस्थामा नआउने, समाजको डरले रोग लुकाएर बस्ने र उपचारको दायरामा आएकाहरूले पनि बीचमै औषधी छाड्ने प्रवृत्तिले रोग नियन्त्रणमा समस्या देखिएको हो ।

प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँका प्रमुख आयोजना अमर दवाडीले बिरामीहरू लुकेर बस्नु र औषधी पूर्ण मात्रा सेवन नगर्नु नै ठुलो चुनौती रहेको बताउनुभयो ।

दवाडीका अनुसार जिल्लाको व्यास नगरपालिका, भानु नगरपालिका र म्याग्दे गाउँपालिकामा अन्य पालिकाको तुलनामा बढी सङ्क्रमित छन् । 

यी पालिकालाई क्षयरोग मुक्त बनाउन विशेष खोजपड्ताल तथा परीक्षण अभियान सञ्चालन भइरहेको छ । चालु आर्थिक वर्षको आठ महिनामा जिल्लाभर १८३ जना क्षयरोगका बिरामी फेला परी उपचारको दायरामा आएको सूचना अधिकारी सुदीप कँडेलले जानकारी दिनुभयो ।

गत आर्थिक वर्ष २०८१÷०८२ मा जिल्लामा ३१८ जनामा सङ्क्रमण पुष्टि भएकोमा १३ जनाको मृत्यु भएको उहाँले बताउनुभयो ।

हाल जिल्लाका ११० वटा स्वास्थ्य संस्थाबाट क्षयरोगको निःशुल्क औषधि वितरण भइरहेको र औषधी नियमित सेवन गर्नेहरूमा रोग निको हुने दर ९१ प्रतिशत रहेको कार्यालयले जनाएको छ ।

तीन हप्ता वा सोभन्दा बढी समयसम्म खोकी लाग्ने, खकारमा रगत देखिने, श्वास फेर्न गाह्रो हुने, छाती भारी हुने, अकस्मात् तौल घट्ने र अत्यधिक पसिना आई थकान महसुस भएमा तुरुन्त नजिकैको स्वास्थ्य चौकीमा जँचाउन स्वास्थ्यकर्मीले आग्रह गरेका छन् ।

 विशेष गरी पाँच वर्षमुनिका बालबालिका, रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति, धूम्रपान तथा मद्यपान गर्नेहरूमा यो सङ्क्रमणको जोखिम बढी हुने गर्दछ । 

विश्व क्षयरोग दिवसको अवसरमा कार्यालयद्वारा सोमबार सञ्चारकर्मीसँग अन्तरक्रिया कार्यक्रममा बोल्दै कार्यालय प्रमुख दवाडीले समाजमा व्याप्त भ्रम हटाउन र रोग लुकाउने प्रवृत्ति अन्त्य गर्न पत्रकारहरूको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

नियमित औषधी सेवन गरेमा क्षयरोग पूर्ण रूपमा निको हुने हुँदा सङ्क्रमण देखिएका व्यक्तिलाई धैर्यताका साथ पूर्ण मात्रा औषधी  सेवन गर्न सुझाव दिइएको थियो ।

फोटो क्याप्सन–अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख अमर दवाडी ।तस्बिर–अमरराज नहर्की