टोपलाल अर्याल
रेसुङ्गा (गुल्मी), चैत ९ गते। डिभिजन वन कार्यालय, गुल्मीले गुजरगानो सङ्कलन तथा ओसारपसार नगर्न आग्रह गरेको छ। पछिल्लो समय डिभिजन वन कार्यालय गुल्मीको कार्यक्षेत्र भित्र पर्ने राष्ट्रिय वन (सामुदायिक वनसमेत), सार्वजनिक क्षेत्र निजी आवादी समेतबाट गुजरगानो प्रजातिको जडीबुटीबिना इजाजत सङ्कलन तथा ओसारपसार गर्ने कार्य बढ्दै गएको छ।
सामुदायिक वनहरूको हकमा त्यस्तो क्षेत्रमा उक्त जडीबुटी सङ्कलन गर्न सामुदायिक वनको कार्ययोजनामा व्यवस्था भएको सुनिश्चितता भए पश्चात मात्र तथा निजी नम्बरी जग्गा समेतबाट गुजरगानो सङ्कलन गर्नका लागि डिभिजन वन कार्यालय गुल्मीबाट नियमानुसार इजाजत चाहिने प्रावधान छ।
कतिपय व्यक्ति, सामुदायिक वन उपभोक्ता समूहहरूले बिना इजाजत सार्वजनिक, सामुदायिक वन, अन्य राष्ट्रिय वन तथा निजी वन र नम्बरी जग्गाबाट इजाजत प्राप्त नगरी गुजरगानो सङ्कलन, घाटगद्दी तथा ओसारपसार गरेको पाइएकोले संलग्नलाई कानुन बमोजिम कारबाहीको प्रक्रिया अगाडि बढाइएको निमित्त डिभिजन वन अधिकृत दयाराम पौडेलले बताउनुभयो ।
बिना इजाजत अवैध रूपमा सङ्कलन गरिएको, तथा वन नियमावली २०७९ को अनुसुची ७ बमोजिमको राजश्व दाखिला नभएको गुजरगानो ओसारपसार गर्न तथा निकासी अनुमतिका लागि सिफारिस नगर्न सबै स्थानीय तहहरूमा पत्राचार गरिएको पौडेलले बताउनुभयो । आवश्यक सहजीकरण गर्न डिभिजन वन कार्यालयले जिल्ला प्रहरी कार्यालय गुल्मीलाई अनुरोध गरेको छ।