• ९ चैत २०८२, सोमबार

मटिहानीका सबै वडामा प्रशासकीय भवन निर्माण

blog

भवनको उद्घाटन गर्नुहुँदै नगरप्रमुख हरिप्रसाद मण्डल, वडाध्यक्ष मदन चौधरी ।

नागेन्द्रकुमार कर्ण

महोत्तरी, चैत ९ गते । मटिहानी नगरपालिकाको वडा ८ मा नवनिर्मित वडाभवनको सोमबार एक समारोहबिच उद्घाटन गरिएको छ । यो भवन निर्माणसँगै नगरपालिकाले नगरभित्र रहेको नौ वटै वडाको प्रशासकीय भवन निर्माण सम्पन्न गरेको जनाएको छ ।

मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डलले वडा ८ को प्रशासकीय भवनको उद्घाटन गर्नुहुँदै नगरमा रहेको नौ वटै वडामा वडावासीहरुको कामलाई प्रभावकारी बनाउन तथा सहजताको लागि आफ्नै भवन निर्माण सम्पन्न गरेको जानकारी दिनुभयो । उहाँले नगरबासीहरुको सहयोगमा भवन निर्माण सम्पन्न गरेको बताउनुहुदै यसले जनताको काम सहज र सजिलो हुने बताउनुभयो ।

उक्त वड़ा कार्यालय भवन निर्माणका लागि कार्यपालिका सदस्य मटिहानीनगरपालिका वडा ८ बस्ने अरुण कुमार नाहरले करिब १६ धुर जग्गा निःशुल्क उपलब्ध गराएको चर्चा गर्नुहुदै सबैको साथ र सहयोगले भवन निर्माण समयमै सम्पन्न गरिएको बताउनुभयो । 

मटिहानी वडा ८ का वडासचिव जीवेन्द्रकुमार कर्णले दुई तल्ले वड़ा कार्यालय भवनको निर्माण नेपाल सरकारको सम्पूरक अनुदान र मटिहानी नगरपालिकाको  ९५ लाख ११ हजार २२७ भ्याट सहितमा निर्माण गरिएको जानकारी दिनुहुँदै निर्माण गरिएको भवनमा पाँच वटा कोठा, एउटा सभा हल, स्टोर रूम, शौचालय, वाथरुम रहेको जानकारी दिनुभयो । 

उहाँले आठ वर्षदेखि दुई कोठे साँघुरो भाडाको भवनबाट सञ्चालन हुदै आएको वडा कार्यालयको आफ्नै फराकिलो तथा सुविधा सम्पन्न सरकारी भवन बनेकोमा खुशी व्यक्त गर्नुहुदै यसले सेवाग्राही तथा सेवा प्रदायक दुबैलाई सहज भई उत्कृष्ट सेवा प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । 

उद्घाटन कार्यक्रममा जग्गादाता अरुण कुमार नाहरलाई नगरप्रमुख हरिप्रसाद मण्डल र वडाध्यक्ष मदन चौधरीले दोसल्लासहित सम्मान गर्नुभएको थियो । कार्यक्रममा उपप्रमुख मन्जु देवी साह, वडाध्यक्ष मदन चौधरी, मटिहानी गाउँविकास समितिका पूर्वअध्यक्ष रामकुमार मण्डल, महोत्तरी उद्योग वाणिज्य संघका उपाध्यक्ष अजय कुमार साह, सचिव विजय कुमार साहलगायतकाहरुले मन्तव्य राख्नुभएको थियो ।