• ८ चैत २०८२, आइतबार

मुलुकलाई लोकतान्त्रिक निकास दिन प्रधानमन्त्री सफल : सभापति लामिछाने

blog

प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने बालुवाटारमा शिष्टाचार भेट गर्दै । तस्बिर : केशव थापा/प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ, चैत ८ गते । प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज बालुवाटारमा शिष्टाचार भेट गर्नुभएको छ ।

सभापति लामिछानेले प्रधानमन्त्री कार्कीको नेतृत्वमा ऐतिहासिक निर्वाचन सम्पन्न भई देशले शान्तिपूर्ण रूपमा निकास पाएको भन्दै बधाई ज्ञापन गर्नुभयो । 

उहाँले भन्नुभयो, “समयमै निष्पक्ष निर्वाचन सम्पन्न भई मुलुकले सहज र लोकतान्त्रिक निकास पाएको छ । यो सामान्य कुरा होइन । यो सफलताका लागि म सम्माननीय प्रधानमन्त्रीज्यू, यहाँको मन्त्रिपरिषद् र सचिवालय टोलीलाई बधाई र धन्यवाद दिन चाहन्छु ।”

उहाँले अगाडि थप्नुभयो, “यहाँको चट्टानी अडान र दृढताकै कारण मुलुकले निकास पायो । विगतका कुनै पनि निर्वाचनभन्दा शान्तिपूर्ण, निष्पक्ष र गुणस्तरीय निर्वाचन सम्भव भएको छ । सानो टोली र छोटो समयमा विश्वलाई नै चकित पार्ने गरी निर्वाचनमार्फत मुलुकलाई लोकतान्त्रिक निकास र सुरक्षित अवतरण गर्न तपाईँ सफल हुनुभएको छ । यसका लागि तपाईँप्रति हाम्रो उच्च सम्मान छ । तपाईँको यो योगदान मुलुकले सधैँ सम्झिनेछ । हामी पनि सम्झिरहनेछौँ । आगामी दिनमा पनि यहाँको निरन्तर मार्गदर्शन र अभिभावकीय भूमिकाको अपेक्षा राखेका छौँ । तपाईँको अनुभव र मार्गदर्शन देशलाई र हाम्रो सरकारलाई अझै आवश्यक पर्नेछ ।”

प्रधानमन्त्री कार्कीले रास्वपाले निर्वाचनमा पाएको सफलताका लागि बधाई दिँदै एकताबद्ध भएर देशवासीलाई निराश हुने ठाउँ नराखीकन काम गर्न सुझाव दिनुभयो ।

“अहिले देश रोएको छ । तपाईँ युवाहरूसँग देशवासीले ठुलो अपेक्षा गरेका छन् । तपाईँहरूले देशको मुहारमा मुस्कान ल्याउन सक्नुपर्नेछ । चुनौती धेरै छन् तर सम्हालिएर अघि बढ्नु,” प्रधानमन्त्री कार्कीले भन्नुभयो, “इमानका साथ काम गरे अपेक्षित नतिजा अवश्य पाइन्छ । विरोध र आलोचना गर्नेहरूलाई कामबाटै जवाफ दिन सक्नुपर्दो रहेछ ।”

भेटमा उहाँहरूबीच समसामयिक राजनीतिक विषयमा छलफल पनि भएको थियो । सभापति लामिछानेले यो सरकारले गरेका निर्णयमा आफ्नो र पार्टीका तर्फबाट कुनै आपत्ति नरहेको पनि स्पष्ट पार्नुभयो ।

“सरकार भनेको सरकार नै हो । अन्तिम दिनसम्म यसले काम गर्न पाउँछ । यो सरकारले गरेका निर्णयमा हाम्रो कुनै आपत्ति छैन,” उहाँले भन्नुभयो, “अझ यो ऐतिहासिक अभिभारा पूरा गरेको सरकारका प्रति त हाम्रो उच्च सम्मान छ । त्यसैले यो सरकारका कदममा साथ दिन्छौँ र निर्णय पनि हामी शिरोपर गर्छौँ ।”

उहाँले अर्को सरकार नआउन्जेलसम्म गर्न सकिने काम पूर्ण क्षमताका साथ गर्न पनि सुझाव दिनुभयो । 

पोर्चुगलमा नेपाली विद्यार्थीले भोगेका समस्या, मध्यपूर्वमा व्याप्त तनावका बिच नेपाली श्रमिकको सुरक्षा र पेट्रोलियम पदार्थको आपूर्तिका विषयमा पनि चासो राख्दै उहाँले यी विषयमा पनि उचित कदम चाल्न आग्रह गर्नुभयो ।