नेत्र शाही
जुम्ला, चैत ८ गते । जुम्लामा ७० वर्षीया ज्येष्ठ नागरिक महिलाको रहस्यमय रूपमा मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार, कनकासुन्दरी गाउँपालिका–४ साहुँबाडा निवासी महेश्वरा सुनार गम्भीर घाइते अवस्थामा भेटिइन् र उपचारका लागि अस्पताल लैजाने क्रममा निधन भयो।
प्रहरीका अनुसार उनलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा बिहान ८ः१० बजे ल्याइएको थियो भने ९ः४५ बजे मृत घोषणा गरिएको हो। प्रहरी निरीक्षक निर्देश बरालका अनुसार महिलाको टाउको र आँखामा चोटपटक लागेको थियो।
उहाँका आफन्त धिरबहादुर वडले टाउकोमा धारिलो हतियारले प्रहार गरी घरमै राखेको अवस्थामा छिमेकीले घटना थाहा पाएका थिए। टाउकोको घाउसँगै आँखामा समेत चोट देखिएको थियो। घटना चैत ७ गते घटेको प्रहरीले जनाएको छ।
प्रमुख जिल्ला अधिकारी दिपक पौडेलका अनुसार, घटनाको थप अनुसन्धानका लागि प्रहरी निरीक्षक लोकेन्द्र अधिकारीको नेतृत्वमा टिम घटनास्थलमा गएको छ। उनीहरूले सत्य तथ्य पत्ता लगाएर दोषीलाई कारबाही गर्ने प्रक्रिया अगाडि बढाउने बताएका छन्।