काठमाडौँ, चैत ८ गते । पूर्व प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाद्वारा लिखित पुस्तक विचित्रको लोकतन्त्र गजबको निर्वाचन सार्वजनिक भएको छ । परिपक्व लोकतन्त्रको भित्री संरचना, प्रविधि, पैसा र जनमतबिचको अन्तरसम्बन्धलाई आत्मअनुभूति र विश्लेषणात्मक दृष्टिबाट प्रस्तुत गरिएको यस कृतिले लोकतन्त्रलाई केवल मतपेटिका र परिणामको सीमाभन्दा बाहिर निकाल्दै व्यापक सन्दर्भमा बुझ्ने प्रयास गर्दछ ।
सन् २०२४ को अमेरिकी राष्ट्रपति निर्वाचनको प्रत्यक्ष अवलोकनका आधारमा लेखिएको यस पुस्तकमा इतिहास, विचार, संस्थागत संरचना, राजनीतिक संस्कार र नागरिक चेतनाको समग्र परिप्रेक्ष्य समेटिएको छ ।
यो पुस्तक अवलोकन प्रतिवेदन मात्र होइनस अमेरिकी निर्वाचन प्रणाली, इलेक्टोरल कलेज, दुई दलीय वर्चस्व, चुनावी खर्च, प्रविधिको प्रयोग, मतदाताको मनोविज्ञान, स्विङ्ग स्टेट्सको राजनीति तथा डिजिटल युगका चुनौतीहरूबारे गहन विमर्श हो । साथै, भारत, थाइल्यान्ड, भुटान, युरोप, अस्ट्रेलिया तथा अफ्रिकी मुलुकहरूको अभ्याससँग तुलना गर्दै लोकतन्त्रका शक्ति र विरोधाभास दुवैलाई उजागर गरिएको छ ।
लोकतन्त्रप्रति विश्वास, प्रश्न र पुनर्चिन्तनको सङ्गम बनेको यस कृतिले नेपालजस्ता विकासशील लोकतन्त्रका लागि संस्थागत सुदृढीकरण र निर्वाचन सुधारतर्फ नयाँ दृष्टिकोण प्रदान गर्ने अपेक्षा गरिएको छ । लोकतन्त्रलाई जीवित चेतनाका रूपमा बुझ्न चाहने तथा निर्वाचनलाई आवधिक प्रक्रियाभन्दा फराकिलो आयाममा हेर्न चाहने प्रत्येक पाठकका लागि यो पुस्तक एक महत्त्वपूर्ण विचार–यात्रा हो ।
यस पुस्तकका लेखक थपलियाले आफ्नो कार्यकालमा सङ्घीय संरचना अनुसारका प्रतिनिधि सभा, प्रदेश सभा तथा स्थानीय तहका निर्वाचन सफलतापूर्वक सम्पन्न गराउँदै सार्वजनिक प्रशासनमा उच्चस्तरीय व्यवस्थापकीय क्षमता प्रदर्शन गरेका छन् । प्रशासनिक प्रणालीका सूक्ष्म विश्लेषक, लोकतन्त्रका अनुभवी अभ्यासकर्ता तथा समाज परिवर्तनका चिन्तकका रूपमा परिचित थपलिया नेपाली भाषा–साहित्यका सशक्त सर्जक पनि हुन् । विचित्रको लोकतन्त्रः गजबको निर्वाचन कृति उनको छैटौं प्रकाशन हो । साङ्ग्रिला बुक्सले प्रकाशन गरेको यो पुस्तकको मूल्य ७५० रहेको छ ।