तेहरान, चैत ७ गते । इरानी सेनाले शनिबार संयुक्त अरब इमिरेट्सलाई रणनीतिक स्ट्रेट अफ होर्मुज नजिकैका विवादित टापुमा आफ्नो क्षेत्रबाट आक्रमण गर्न नदिन चेतावनी दिएको छ ।
इरानी सेनाले विज्ञप्ती जारी गर्दै यदि संयुक्त अरब इमिरेट्सको क्षेत्रबाट इरान विरुद्ध कुनै आक्रमण भयो भने, इरानले संयुक्त अरब इमिरेट्समा आक्रमण गर्ने चेतावनी दिएको छ । अबु मुसा र ग्रेटर टुनब टापु, जुन इरानद्वारा नियन्त्रित छन् भने लामो समय देखि दुई देशबिच विवादको विषय बनेका छन् ।
यी टापु होर्मुज जल क्षेत्रको प्रवेशद्वार नजिकै खाडीमा अवस्थित छन्, जसबाट सामान्यतया विश्वको तेलको अधिकाशं भाग निर्यात हुन्छ । हाल चर्किरहेको क्षेत्रीय युद्धले समुद्री यातायात अवरुद्ध भएको छ, जुन फेब्रुअरी-२८ मा इरानमा अमेरिका र इजरायलीको संयुक्त आक्रमणबाट सुरु भई मध्य पूर्वमा फैलिएको छ ।
इरानले खाडी मुलुकलाई अमेरिकी सेनालाई आफ्नो क्षेत्रबाट इरान विरुद्ध आक्रमण गर्न दिएको आरोप लगाउँदै ती देशमा रहेका अमेरिकी निकाय विरुद्ध मिसाइल तथा ड्रोन आक्रमण सुरु गरेको छ । रासस/एएफपी